मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने, नयाँ डिजिटल रेमिट्यान्स सेवा सुरु

काठमाडौं । भारतमा रहेका नेपालीहरूले अब मोबाइलको एक क्लिकमै नेपालमा पैसा पठाउन सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त सामसारा रेमिट र पशुपति पे इन्डिया बीचको रणनीतिक साझेदारीमार्फत यो सेवा सञ्चालनमा आएको हो ।

नयाँ व्यवस्थाअनुसार भारतमा रहेका लाखौँ नेपालीहरूले ‘पशुपति पे’ मोबाइल एप डाउनलोड गरी अनलाइन केवाईसी (ग्राहक पहिचान प्रक्रिया) पूरा गरेपछि घर, कार्यस्थल वा भारतको जुनसुकै स्थानबाट नेपालमा रकम पठाउन सक्नेछन्। यस सेवाका लागि अब एजेन्ट वा भौतिक सेवा केन्द्रमा पुग्नुपर्ने आवश्यकता नहुने बताइएको छ ।

यसअघि धेरै सेवाग्राहीहरूलाई रेमिट्यान्स पठाउन एजेन्ट वा सेवा केन्द्रमा जानुपर्ने बाध्यता थियो। तर नयाँ डिजिटल प्रणालीमार्फत सम्पूर्ण प्रक्रिया मोबाइलमै पूरा गर्न सकिने भएकाले समय र लागत दुवै बचत हुने र सेवा अझ सुरक्षित तथा सहज हुने कम्पनीले जनाएको छ ।

सामसारा रेमिटका डीजीएम राजीव पोखरेलका अनुसार भारतको जुनसुकै स्थानबाट २४ सै घण्टा नेपालका बैंक खातामा तथा डिजिटल वालेटहरूमा सिधै रकम पठाउन सकिनेछ। उनका अनुसार सेवा पूर्ण रूपमा वैधानिक, सुरक्षित र नियमनअनुसार सञ्चालन हुनेछ।

कम्पनीले यो सेवा परम्परागत माध्यमभन्दा कम लागतमा उपलब्ध हुने र सेवा शुल्क (कमिसन) पनि प्रतिस्पर्धी तथा तुलनात्मक रूपमा कम हुने जनाएको छ। नयाँ प्रयोगकर्ताका लागि पहिलो कारोबार निःशुल्क गर्ने व्यवस्था पनि गरिएको छ ।

भारतमा करिब ३० देखि ३५ लाख नेपाली रहेको अनुमान गरिए पनि हाल १० देखि १५ प्रतिशतले मात्र औपचारिक माध्यम प्रयोग गरेर पैसा पठाउने गरेको अवस्थामा यो डिजिटल सेवाले अवैध हुन्डी कारोबार निरुत्साहित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सामसारा रेमिटले हाल विश्वका २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले नेपालभरका बैंक तथा वित्तीय संस्था तथा प्रमुख डिजिटल वालेटमार्फत झन्डै दुई दशकदेखि सेवा प्रदान गर्दै आएको जनाएको छ ।