एमालेभित्र चर्कियो मतभेदः विष्णु र शंकरमाथि ओलीको कटाक्ष

काठमाडौं । नेकपा एमालेभित्र आन्तरिक विवाद थप गहिरिँदै गएको संकेत देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले पार्टी विभाजनसम्मको अवस्था आउन सक्ने भन्दै शीर्ष नेताहरूमाथि गम्भीर आरोप लगाएका छन्।

बागमती प्रदेशका केही नेताहरूसँग भक्तपुरको गुन्डुमा भएको अनौपचारिक भेटघाटमा ओलीले यस्तो विश्लेषण प्रस्तुत गरेका हुन् । शनिबार बागमती प्रदेशस्तरीय ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन’ सम्बन्धी सुझाव संकलन कार्यक्रम सम्पन्न भएपछि केही नेताहरूलाई गुन्डु बोलाइएको थियो । उक्त कार्यक्रममा सहभागी भएका नेताहरूका अनुसार अध्यक्ष ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल माथि पार्टी फुटाउने योजना बनाएको आरोप लगाएका थिए ।

गुन्डु पुगेका एक नेताका अनुसार अध्यक्ष ओलीले स्पष्ट रूपमा भने, “विपक्षी शक्तिको योजनाअनुसार पार्टीभित्र केही नेताहरू सक्रिय छन्, जसले एमालेलाई विभाजनतर्फ लैजान खोजिरहेका छन् ।” उनले विशेष गरी विष्णु पौडेल र शंकर पोखरेलको नाम लिएर उनीहरूले नेतृत्व गरिरहेको गतिविधि पार्टीहितविपरीत रहेको बताएका थिए ।

यसअघि भएको सुझाव संकलन कार्यक्रममा उपाध्यक्ष पौडेलले पार्टी पुनर्गठनको पक्षमा खुलेर धारणा राखेका थिए । उनले एमालेलाई जोगाउन पुनर्गठन आवश्यक रहेको बताउँदै “पार्टीलाई सुदृढ बनाउन संरचनागत सुधार अपरिहार्य छ” भन्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा सहभागी अधिकांश नेताहरूले पनि पुनर्गठनको पक्षमा मत राखेका थिए । स्रोतका अनुसार बागमती प्रदेशका करिब ९० प्रतिशतभन्दा बढी नेताहरूले पार्टी पुनर्गठनलाई समर्थन गरेका थिए। यसले अध्यक्ष ओलीको धारणा र अन्य नेताहरूको सोचबीच स्पष्ट विभाजन देखिएको छ । कार्यक्रममा पूर्वमन्त्री गोकुल बाँस्कोटा ले समेत “अब केपी ओली र एमालेमध्ये एक रोज्नुपर्ने अवस्था आएको छ” भन्ने अभिव्यक्ति दिएको बताइएको छ ।

यस्तो धारणा सुनेपछि ओलीले असन्तुष्टि व्यक्त गर्दै पुनर्गठनको एजेन्डा उठाउनेहरू नै पार्टी छोड्न खोजिरहेको आरोप लगाएका थिए। उनले भने, “पुनर्गठनको नाममा पार्टी फुटाउने खेल भइरहेको छ, केही मान्छेहरू फुटेर जान पनि सक्छन् ।” गुन्डु बैठकमा उपस्थित काभ्रे एमालेका सचिव राजकुमार सापकोटा र बागमती प्रदेश सचिवालय सदस्य इन्द्र लामाले अध्यक्ष ओलीसँग प्रत्यक्ष प्रश्नसमेत गरेका थिए। उनीहरूले “पुनर्गठनको पक्षमा बोल्नेहरू पार्टीविरोधी हुन् त ?” भन्दै स्पष्ट धारणा मागेका थिए । जवाफमा ओलीले पुनर्गठनको नाममा अघि बढ्नेहरूलाई पार्टी छोड्न खोजेको समूहका रूपमा चित्रित गरेका थिए । भेटका क्रममा अध्यक्ष ओलीले उपाध्यक्ष पौडेलप्रति विशेष आक्रोश व्यक्त गरेका थिए। उनले विगतका घटनाहरू उल्लेख गर्दै “मलाई पक्राउ गर्दा एउटा स्टाटससमेत लेखेनन्” भन्दै असन्तुष्टि जनाएका थिए। उनले आफूले धेरैपटक आग्रह गर्दा पनि पौडेलले सार्वजनिक रूपमा समर्थन नजनाएको गुनासो गरेका थिए ।

त्यस्तै महासचिव शंकर पोखरेलप्रति पनि ओलीले कठोर टिप्पणी गरेका थिए । “शंकर लोभी हुन्, विष्णु पापी हुन्,” भन्ने जस्ता अभिव्यक्ति प्रयोग गर्दै उनले दुवै नेतामाथि पार्टीलाई संकटमा पार्ने प्रयास गरेको आरोप लगाए। यस्तो अभिव्यक्तिले पार्टीभित्रको तनाव झनै चर्किएको संकेत गरेको छ । यता, अध्यक्ष ओलीको भनाइप्रति महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका छन्। उनले “जनभावनाविपरीत अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन” भन्दै अप्रत्यक्ष रूपमा ओलीको आलोचना गरेका छन् । उनले पार्टी सुदृढीकरणका लागि जनसम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । सुझाव संकलन कार्यक्रममा सहभागी अन्य नेताहरूका अनुसार पुनर्गठनको पक्षमा देखिएको बहुमतले नेतृत्वलाई दबाब दिएको छ। कार्यक्रममा उपाध्यक्ष रामबहादुर थापा र नेता महेश बस्नेत बाहेक अधिकांश पदाधिकारीहरू पुनर्गठनकै पक्षमा उभिएको बताइएको छ ।

तर अर्कोतर्फ, केही नेताहरूले भने ओलीको नेतृत्वबिना एमालेको भविष्य कल्पना गर्न नसकिने धारणा राखेका छन्। दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ, धादिङका अर्जुन श्रेष्ठ, प्रदेश उपाध्यक्ष दावा दोर्जे लामा, सचिव बालकृष्ण देउजा लगायतका नेताहरूले ओली नेतृत्वलाई निरन्तरता दिनुपर्ने बताएका छन् । मकवानपुरका नेता रामेश्वर राना र धादिङकी राधिका शाक्यले पनि यही धारणा राखेका थिए । चितवनका अध्यक्ष कमल पाठकले भने मध्यमार्गी धारणा प्रस्तुत गर्दै पार्टीभित्र संवादमार्फत समाधान खोज्नुपर्ने बताएका थिए। उनले पुनर्गठन र नेतृत्व दुवैलाई सन्तुलनमा राखेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए। यसैबीच, गुन्डु बैठकबारे प्रतिक्रिया दिँदै एक शीर्ष नेताले “पुनर्गठनको पक्षमा बहुमत देखिएपछि हतारमा बैठक बोलाइएको थियो” बताएका छन् ।

उनका अनुसार उक्त भेटमा केही अभिव्यक्तिहरू “अत्यन्त आपत्तिजनक” समेत थिए । समग्रमा एमालेभित्र अहिले दुई धार स्पष्ट देखिएका छन्—एक पक्ष पुनर्गठनमार्फत पार्टीलाई नयाँ ढाँचामा लैजान चाहन्छ भने अर्को पक्ष वर्तमान नेतृत्वलाई कायम राख्दै अघि बढ्नुपर्नेमा जोड दिइरहेको छ। अध्यक्ष ओलीले व्यक्त गरेको विभाजनको संकेतले आगामी दिनमा पार्टीभित्रको राजनीति झनै पेचिलो बन्ने देखिएको छ । पार्टीभित्रको यो विवादले केवल संगठनात्मक संरचनामात्र नभई आगामी राजनीतिक रणनीतिमा समेत गम्भीर प्रभाव पार्ने विश्लेषण गरिएको छ। यदि सहमति नजुटेमा एमालेभित्र वास्तविक विभाजनको सम्भावना नकार्न नसकिने अवस्था सिर्जना भएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।