काठमाडौं । भारतीय प्रहरीको फरार सूचीमा रहेका एक भारतीय नागरिक विराटनगरको एक होटलमा मृत फेला परेका छन् । घटनासँग जोडिएका चार भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
मृत भेटिएका व्यक्ति भारतको बिहार राज्यस्थित सहरसा निवासी २४ वर्षीय प्रिन्स आनन्द (यादव) रहेको प्रहरीले जनाएको छ । यादव भारतीय प्रहरीको खोजी सूचीमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटुवालले जानकारी दिए । प्रहरीका अनुसार यादव विराटनगर महानगरपालिका–१० मा रहेको शुभ होटलमा बस्दै आएका थिए। होटलमा बसिरहेका बेला शनिबार राति बिरामी परेका थिए । उपचारका लागि न्युरो अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। प्रहरीले यादवको मृत्युबारे अनुसन्धान थालेको जनाएको छ ।
भारतको पटना, बिहारस्थित ज्ञान विन्दु (जिएस एकेडेमी) र खान सर एकेडेमी इन्स्टिच्युटबीच विवाद भएको थियो। दुई संस्थाबीच विवाद हुँदा ज्ञान विन्दुका सञ्चालक र विद्यार्थीहरूले खान सर एकेडेमीमा ढुंगामुढा गरेका थिए । सोही घटनालाई लिएर खान सरले रोशन आनन्द र उनका भाइ प्रिन्स आनन्दविरुद्ध जाहेरी दिएका थिए।
त्यसपछि रोशन आनन्दका भाइ प्रिन्स आनन्द साथीहरूसँग घुम्नका लागि नेपाल आएको प्रहरीले जनाएको छ । उनी गत २०८३ जेठ २० गते विराटनगरस्थित बसपार्क अगाडि रहेको मेट्रोसिटी होटलमा बसेका थिए । त्यसको दुई दिनपछि उनीहरू विराटनगरकै शुभ होटलको कोठा नम्बर १०२ मा सरेर बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको एसपी कटुवालले जानकारी दिए ।
होटलमा बस्ने क्रममा प्रिन्स आनन्द अचानक बिरामी परेपछि नै अस्पतालको गार्ड र उनका साथीहरूले उनलाई न्युरो अस्पताल पुर्याएका थिए । उनलाई अस्पताल पुर्याउने साथीहरूमा भारतको सहर्सा बस्ने २५ वर्षीय अंकितकुमार यादव, सुपौल बस्ने २७ वर्षीय रोशन यादव, २१ वर्षीय लल्टु यादव र ३० वर्षीय जयराम यादव थिए । अस्पताल पुर्याएर उपचार सुरु गरिएकै क्रममा राति ११ः१० बजेको समयमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले सोधपुछका लागि उनका साथीहरूलाई नियन्त्रणमा लिएको छ ।
उक्त घटना हुँदा प्रिन्स आनन्दका नाता पर्ने भाइ, सप्तरी जिल्लाको हनुमान नगर ना.पा. १४ बस्ने ३० वर्षीय तीर्थकुमार यादव पनि उनीहरूसँगै रहेको र उनले नै प्रिन्सलाई अस्पताल पुर्याउन सहयोग गरेको खुलेको एसपी कटुवालले बताए । उनको मृत्युको कारण बारे प्रहरीले केही खुलाएको छैन ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।































