निजी क्षेत्रको अपिल अर्थतन्त्र अप्ठ्यारोमा छ, धार्मिक एवं साम्प्रदायिक सद्भाव कायम राखौँ

काठमाडौँ । सुनसरी, सिरहा र धनुषालगायतको जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि धार्मिक एवं साम्प्रदायक सद्भाव कायम राख्न अपिल गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले बिहीबार छुट्टाछुट्टै विज्ञप्ति प्रकाशन गरेर आन्दोलन, हिंसा वा मूठभेडबाट समस्याको समाधान नहुने भएकाले संयम अपनाउन आग्रह गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सदियौँदेखि बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहँदै आएको छ । तराई–मधेश क्षेत्र विशेष गरी विभिन्न जातजाति, भाषाभाषी र समुदायहरूबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र हो । कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मूठभेडले कसैको पनि हित गर्दैन ।’

नेपाल उद्योग परिसंघ (सीएनआई)ले पनि सुनसरी, सिरहा र धनुषालगायतको जिल्लामा उत्पन्न परिस्थिति समाधानका लागि सबै पक्षलाई अनुरोध गरेको छ । ‘सदियौँदेखि नेपाल धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भाव कायम राख्दै आएको मुलुक हो । हाम्रो यो विशिष्टपनलाई कायम राख्दै सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्न परिसंघ सबैमा हार्दिक अपिल गर्दछ’, सीएनआईले भनेको छ । अहिले भइरहेका घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्‍याउने वैद्यले बताएका छन्।

‘सामाजिक सद्भाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वशर्त हो । तसर्थ, जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान केवल शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्र सम्भव हुने महासंघको दृढ विश्वास रहेको छ’, वैद्यले भनेका छन् । उनले तराईका क्षेत्रमा देखा परेको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गरिदिन राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरुहरू, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूलाई आह्वान गरेका छन् । सीएनआईले पनि कुनै पनि समस्या, असन्तुष्टि वा विवाद वार्ताका माध्यमबाट समाधान भएको उदाहरण स्मरण गर्दै आन्दोलन, हिंसा वा मूठभेडबाट समस्याको समाधान नहुने भएकाले संयमता अपनाई आपसी सद्भाव कायम राखी शान्ति सुव्यवस्था, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ। रोजगारी सिर्जना गर्दै समग्र अर्थतन्त्रलाई अगाडि बढाउन अतिआवश्यक रहेको अवस्थामा यस्ता घटनाले सबैलाई निराश बनाउँछ । आन्दोलनका क्रममा जनधनको क्षतिसहित सार्वजनिक एवं निजी सम्पत्तिमाथि तोडफोड, बजार, पसल बन्द गराउने तथा लुटपाटको घटनाले अत्यन्त दुखित एवं चिन्तित बनाएको हुँदा आम नागरिक तथा उद्योग व्यवसायलाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन समेत परिसंघ नेपाल सरकार तथा सरोकारवाला सबै समक्ष अनुरोध गर्दछ ।’ सामाजिक, धार्मिक एवं साम्प्रदायिक सहिष्णुतालाई कायम राख्दै सद्भाव कायम गर्न समाजका अन्य संघ संस्थाहरुसँगको सहकार्यमा सद्भाव र्‍यालीलगायतका शान्ति स्थापना गर्न सहयोग गर्ने गतिविधि गर्न परिसंघका सबै प्रदेश तथा जिल्ला संघ एवं निजी क्षेत्रका अन्य संघ संस्थाहरुलाई पनि परिसंघले आग्रह गरेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।