काठमाडौं । प्रधानमन्त्रीले सुनसरीको देवानगञ्ज, सिराहालगायत विभिन्न स्थानमा हालै भएका घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाप्रति सरकार पूर्ण रूपमा गम्भीर, संवेदनशील र जिम्मेवार रहेको बताएका छन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले शान्ति, सामाजिक सद्भाव र कानुनी शासन कायम गर्नु सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्दै सहिष्णुता, भाइचारा र सामाजिक एकतामाथि प्रहार गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी दिएका छन् । प्रधानमन्त्रीले कुनै एक स्थानमा भएको दुःखद घटनालाई आधार बनाएर सम्पूर्ण समुदायलाई दोषी ठहर गर्नु वा त्यसको प्रतिशोधका नाममा देशका अन्य भागमा अशान्ति फैलाउने प्रयास कुनै पनि दृष्टिकोणबाट न्यायोचित र स्वीकार्य हुन नसक्ने बताए । उनले यस्तो प्रवृत्तिले समाजमा अविश्वास, द्वेष र हिंसालाई बढावा दिने भएकाले सबै नागरिकलाई संयमता अपनाउन आग्रह गरे ।
उनले सुनसरीको देवानगञ्ज, सिराहालगायत स्थानमा भएका घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति नेपाल सरकारका तर्फबाट गहिरो समवेदना प्रकट गरे । साथै घटनामा घाइते भएका सबै नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको जानकारी दिए । प्रधानमन्त्रीका अनुसार घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकाय घटनास्थलमा परिचालित भएका छन् ।
सुरक्षाकर्मीले थप अप्रिय घटना हुन नदिन, स्थानीय अवस्था नियन्त्रणमा लिन र शान्ति सुरक्षा कायम गर्न निरन्तर प्रयास गरिरहेको उनले बताए । सरकारले स्थानीय प्रशासनसँग समन्वय गरी प्रभावित क्षेत्रमा सुरक्षाको अवस्था मजबुत बनाएको र नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन आवश्यक सबै कदम चालिएको उनको भनाइ थियो ।
उनले घटनाको सत्यतथ्य बाहिर ल्याउन र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको जानकारी दिए । छानबिन निष्पक्ष, स्वतन्त्र र पारदर्शी ढंगले अघि बढाइने भन्दै घटनामा संलग्न जोसुकै भए पनि कानुनको दायरामा ल्याइने सरकारको प्रतिबद्धता दोहोर्याए । प्रधानमन्त्रीले सरकारको उद्देश्य केवल तत्कालको अवस्था नियन्त्रण गर्नु मात्र नभई दीर्घकालीन रूपमा समुदायबीच विश्वासको वातावरण पुनःस्थापित गर्नु रहेको बताए । स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, धार्मिक अगुवा, विभिन्न समुदायका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद भइरहेको उल्लेख गर्दै उनले संवादमार्फत समस्या समाधान गर्ने प्रयासलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
उनका अनुसार परिस्थितिलाई सामान्य बनाउन केन्द्रस्तरमा सर्वदलीय बैठक बोलाएर विस्तृत छलफल गरिएको छ । साथै स्थानीय अवस्थाको प्रत्यक्ष अनुगमन गर्न, पीडित परिवारसँग भेटघाट गर्न र शान्ति सुरक्षाको अवस्थालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं प्रभावित क्षेत्रमा पुगिसकेका छन् । देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठकसमेत बसेको जानकारी दिँदै प्रधानमन्त्रीले परिस्थितिअनुसार आवश्यक निर्णयहरू कार्यान्वयनमा ल्याइएको बताए । सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको र सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक रणनीति अपनाइएको उनको भनाइ थियो ।
प्रधानमन्त्रीले सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममार्फत फैलाइने अपुष्ट सूचना, अफवाह, घृणाजन्य अभिव्यक्ति तथा समुदायबीच वैमनस्य बढाउने सामग्रीप्रति विशेष सचेत रहन सबै नागरिकलाई आग्रह गरे । यस्ता गतिविधिले सामाजिक सद्भावमा गम्भीर असर पार्ने भएकाले आधिकारिक निकायबाट जारी भएका तथ्य र सूचनालाई मात्र विश्वास गर्न उनले अनुरोध गरे । उनले प्रत्येक नागरिकको जिउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र देशमा शान्ति कायम गर्नु राज्यको सर्वोच्च दायित्व भएको उल्लेख गर्दै सरकारले आफ्नो जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पारे । आगामी दिनमा पनि सुरक्षा संयन्त्रलाई थप प्रभावकारी रूपमा परिचालन गरिने र नागरिकको सुरक्षाका लागि सबै संयन्त्र चौबीसै घण्टा सक्रिय रहने उनले बताए ।
प्रधानमन्त्रीले स्पष्ट शब्दमा भने, “शान्ति सुरक्षा भंग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबलाउने कुनै पनि गतिविधिप्रति सरकार पूर्ण रूपमा सचेत छ र त्यस्ता गतिविधिमाथि कडा कदम चालिनेछ ।“ उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा पालना गर्ने मौलिक अधिकार दिएको स्मरण गराउँदै त्यसको संरक्षण गर्नु सरकारको संवैधानिक दायित्व भएको बताए। धार्मिक स्वतन्त्रताको सम्मान गर्दै सबै समुदायबीच समान व्यवहार कायम राख्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
प्रधानमन्त्रीले धर्मको मूल उद्देश्य समाजलाई जोड्नु, प्रेम र सद्भाव फैलाउनु रहेको उल्लेख गरे । संसारका कुनै पनि धर्मले हिंसा, घृणा वा विभाजनको शिक्षा नदिने भन्दै उनले सबै धर्मको साझा आधार करुणा, दया, प्रेम र शान्ति भएको बताए । त्यसैले कुनै एक घटनालाई लिएर सम्पूर्ण समुदायलाई दोष दिने, प्रतिशोधको भावना फैलाउने वा धार्मिक तथा सामाजिक द्वन्द्व सिर्जना गर्ने प्रयास स्वीकार्य नहुने उनले स्पष्ट पारे । सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले नेपाली समाजको इतिहास सम्झँदै कठिनभन्दा कठिन परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेककै बलमा देशले चुनौती पार गरेको उल्लेख गरे । अहिले पनि सबै नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्दै शान्ति, सद्भाव र राष्ट्रिय एकतालाई मजबुत बनाउन सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संस्था, सञ्चार माध्यम तथा आम नागरिकलाई संयमता अपनाउन, कानुनको सम्मान गर्न र सामाजिक एकता जोगाउन आह्वान गर्दै सरकारले कानुनी शासन, सामाजिक सद्भाव र नागरिक सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































