काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका धवलशम्शेर राणा र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नयाँ राजनीतिक दल गठन गर्ने अन्तिम तयारीमा पुगेका छन् । लामो समयदेखि नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा रहेका उनीहरूले साउन २८ गते औपचारिक रूपमा ‘जय नेपाल पार्टी’ घोषणा गर्दै निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिने तयारी गरेका छन् ।
राणा र प्रसाईंबीच केही महिनाअघि नै नयाँ पार्टी गठन गर्ने सहमति भएको थियो । त्यसयता संगठन निर्माण, पार्टीको नाम, नेतृत्व संरचना तथा भावी कार्यदिशाबारे छलफल हुँदै आएको थियो । अहिले ती सबै तयारी लगभग पूरा भएको र घोषणा मितिसमेत तय भइसकेको राणाले बताएका छन् ।
उनका अनुसार नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राख्ने निर्णय गरिएको छ । पार्टी घोषणा कार्यक्रमकै दिन निर्वाचन आयोगमा आवश्यक कागजातसहित दर्ताका लागि निवेदन पेश गर्ने तयारी गरिएको छ । पार्टीको संगठनात्मक संरचना, नीति तथा कार्यक्रमलगायत विषय सार्वजनिक कार्यक्रममार्फत विस्तृत रूपमा प्रस्तुत गरिने जनाइएको छ ।
राप्रपाका पूर्वमहामन्त्रीसमेत रहेका राणाले गत जेठ १७ गते पार्टी परित्याग गरेको घोषणा गरेका थिए । उनले पार्टीको वर्तमान कार्यदिशा र नेतृत्वप्रति असन्तुष्टि जनाउँदै अलग हुने निर्णय लिएका थिए । राणासँगै राप्रपाका १८५ जना नेता तथा कार्यकर्ताले पनि पार्टी छोडेको घोषणा गरेका थिए । त्यसपछि उनी नयाँ राजनीतिक विकल्प निर्माणमा सक्रिय हुँदै आएका छन् ।
यस्तै, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गर्दै आएका दुर्गा प्रसाईं पनि नयाँ दल गठनको अभियानमा राणासँग जोडिएका हुन् । दुवै नेताबीच गत जेठ २२ गते नयाँ राजनीतिक दल स्थापना गर्ने सहमति भएको थियो । त्यसयता निरन्तर छलफल र आन्तरिक तयारीपछि पार्टी घोषणा गर्ने निष्कर्षमा पुगेको जनाइएको छ । पार्टी नेतृत्वबारे पनि सहमति भइसकेको राणाले जानकारी दिएका छन् । सहमतिअनुसार जय नेपाल पार्टीको अध्यक्ष धवलशम्शेर राणा रहनेछन् भने दुर्गा प्रसाईंले सर्वोच्च नेताको भूमिका निर्वाह गर्नेछन् ।
दुवै नेताले आगामी दिनमा पार्टीलाई देशव्यापी रूपमा विस्तार गर्दै वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य लिएको बताएका छन् । राणाका अनुसार पार्टी घोषणाको दिन संगठन विस्तारको प्रारम्भिक योजना, केन्द्रीय नेतृत्व, राजनीतिक उद्देश्य तथा आगामी रणनीतिसमेत सार्वजनिक गरिनेछ । देशको समसामयिक राजनीतिक अवस्था, सुशासन, राष्ट्रिय स्वाभिमान, आर्थिक सुधार तथा नागरिकका आधारभूत अपेक्षालाई केन्द्रमा राखेर पार्टीले आफ्नो एजेन्डा अघि बढाउने तयारी गरेको उनीहरूको भनाइ छ ।
नयाँ दलको घोषणा भएपछि निर्वाचन आयोगमा कानुनी प्रक्रिया पूरा गरी औपचारिक मान्यता प्राप्त गर्ने काम अघि बढाइनेछ । त्यसपछि देशभर संगठन विस्तार, सदस्यता अभियान र जनसम्पर्क कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको राणाले बताएका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































