काठमाडौं । कोसी प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने चर्चा चलिरहेका बेला नेकपा (एमाले)भित्रको आन्तरिक छलफलपछि मुख्यमन्त्री हिक्मत कार्कीले नै सरकारको नेतृत्वलाई निरन्तरता दिने सहमति बनेको छ ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा बुधबार भएको उच्चस्तरीय छलफलले तत्काल नेतृत्व परिवर्तन नगर्ने निष्कर्ष निकालेको हो । छलफलमा मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, प्रदेश सचिव राजकुमार भण्डारीलगायत सहभागी थिए ।
बैठकमा कोसी प्रदेश सरकारलाई वर्तमान स्वरूपमै अघि बढाउने सहमति भए पनि भविष्यमा पार्टी नेतृत्वले आवश्यक ठानेको अवस्थामा मुख्यमन्त्रीसहित सबै मन्त्रीहरूले निर्देशनअनुसार पद छाड्नुपर्ने सर्त राखिएको छ । बैठकपछि प्रदेश अध्यक्ष घनश्याम खतिवडाले अहिलेको प्राथमिकता गठबन्धनलाई मजबुत बनाउँदै सरकारलाई निरन्तरता दिनु रहेको बताए ।
उनका अनुसार पार्टी अध्यक्षले उपयुक्त समय ठानेर नेतृत्व परिवर्तन गर्न निर्देशन दिएमा मुख्यमन्त्रीदेखि मन्त्रीसम्म सबैले त्यसको पालना गर्ने सहमति भएको छ । तत्कालका लागि भने हिक्मत कार्कीकै नेतृत्वमा सरकार सञ्चालन हुने निष्कर्षमा पार्टी पुगेको उनले स्पष्ट पारे । पछिल्ला केही दिनदेखि कोसी प्रदेशको नेतृत्व परिवर्तनको विषय एमालेभित्र निकै चर्चामा थियो । अध्यक्ष ओलीले हिक्मत कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारी गरेको चर्चा चलेपछि प्रदेश राजनीतिमा तरंग पैदा भएको थियो ।
त्यसका लागि पार्टीभित्र आवश्यक वातावरण बनाउन विभिन्न तहमा छलफल र परामर्शसमेत भएका थिए । स्रोतका अनुसार पार्टी नेतृत्वबाट मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन आग्रह गरिएको थियो । त्यसका लागि पार्टी सचिव शेरधन राईलाई समन्वयको जिम्मेवारीसमेत दिइएको बताइएको थियो । तर कार्कीले तत्काल राजीनामा दिन अस्वीकार गर्दै आफू नेतृत्व परिवर्तनको पक्षमा नरहेको स्पष्ट अडान राखेका थिए ।यसबीच तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउनुपर्ने भन्दै केही नेताहरूले हस्ताक्षर अभियानसमेत चलाएका थिए ।
तर पर्याप्त समर्थन जुट्न नसकेपछि नेतृत्व परिवर्तनको प्रयास कमजोर बन्दै गएको बताइएको छ । अर्कोतर्फ मुख्यमन्त्री कार्की पक्षका नेताहरूले वर्तमान सरकारलाई निरन्तरता दिनुपर्ने अडान कायम राखेपछि पार्टी नेतृत्व पनि तत्काल निर्णय परिवर्तन गर्न बाध्य भएको स्रोतहरूको दाबी छ ।
विवाद थप चर्किन नदिन अध्यक्ष ओलीले कोसी प्रदेशका प्रमुख नेताहरूलाई काठमाडौं बोलाएर प्रत्यक्ष छलफल गरेका थिए । सोही छलफलबाट तत्काल नेतृत्व परिवर्तन नगर्ने र प्रदेश सरकारलाई निरन्तरता दिने सहमति जुटेको हो ।
यद्यपि भविष्यमा राजनीतिक परिस्थिति, गठबन्धनको अवस्था वा पार्टीको रणनीतिक आवश्यकताअनुसार नेतृत्व परिवर्तन हुन सक्ने संकेत भने खुला राखिएको छ । एमालेभित्र देखिएको यो सहमतिसँगै कोसी प्रदेश सरकार तत्कालका लागि स्थिर बनेको छ । नेतृत्व परिवर्तनको बहस केही समयका लागि रोकिएको भए पनि पार्टीको आन्तरिक शक्ति सन्तुलन र भावी राजनीतिक समीकरणले आगामी दिनमा नयाँ मोड लिन सक्ने सम्भावना भने यथावत् रहेको नेताहरूको बुझाइ छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































