भाटभटेनीको नयाँ सेवा : अब राति पनि किनमेल गर्न सक्ने

काठमाडौँ । भाटभटेनी सुपरमार्केटले आगामी भदौ १ गतेदेखि रातिको समयमा समेत ग्राहकलाई सेवा दिने तयारी गरेको छ ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाका पाटन र भक्तपुरको राधेराधेस्थित भाटभटेनी स्टोरबाट २४ घण्टा सेवा सञ्चालन गर्ने तयारी गरिएको हो ।

भाटभटेनी सुपरस्टोरका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार हाल रातिको समयमा स्टोर खोलेर सामान व्यवस्थापनको काम भइरहेको छ । सामान मिलाउने, स्टक व्यवस्थापन गर्ने, मूल्य ट्याग राख्ने तथा सरसफाइलगायतका काम ग्राहकको आवागमनसँगै गर्नुपर्दा असहज हुने भएकाले रातिको समयमा यस्ता काम गर्न थालिएको उनले बताए ।

“अहिले सामान मिलाउन रातिको समयमा भाटभटेनी खुलेको छ। भदौ १ गतेदेखि भने रातिकै समयमा ग्राहकले किनमेल गर्न सक्ने गरी खुला गर्ने तयारी छ,” पौडेलले भने । रातिको समयमा स्टोर सञ्चालन गर्नुको उद्देश्य ग्राहकलाई थप सहज सेवा दिनुका साथै सामान ढुवानी र सहरी ट्राफिक व्यवस्थापनमा समेत सहजीकरण गर्नु रहेको कम्पनीले जनाएको छ । पौडेलका अनुसार हाल काठमाडौँमा भाटभटेनीका सामान ओसारपसारका लागि दैनिक करिब चार सय पटकसम्म सवारीसाधन आवतजावत गर्ने गरेका छन् । रातिको समयमा ढुवानी गर्दा करिब २० वटा सवारीसाधनबाट सामान व्यवस्थापन गर्न सकिने भएकाले सडकको चापसमेत कम हुने अपेक्षा गरिएको छ ।

सामान बिक्रीका लागि रातिको सेवा पहिलो चरणमा पाटन र भक्तपुरको राधेराधे स्टोरबाट सुरु हुनेछ । त्यसपछि कलंकी, बौद्ध, टंगाल, कोटेश्वरलगायत काठमाडौँ उपत्यकाका अन्य स्टोरमा पनि रातिको सेवा विस्तार गर्ने योजना रहेको पौडेलले बताए । रात्रिकालीन सिफ्टमा काम गर्ने कर्मचारीलाई नियमित तलबमा २५ प्रतिशत अतिरिक्त भत्ता दिने व्यवस्था गरिएको छ। उनीहरूका लागि रातिको समयमा चिया तथा खाजालगायतका थप सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

हाल भाटभटेनीका स्टोर बिहान ७ः३० बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुँदै आएका छन् । नयाँ व्यवस्था लागू भएपछि पहिलो चरणमा दुई स्टोरबाट रातभर ग्राहकले सामान खरिद गर्न सक्नेछन् । भाटभटेनीका देशभर २७ वटा आउटलेट सञ्चालनमा छन् । गत वर्षको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका एक दर्जनभन्दा बढी स्टोरमा आगजनी भएको थियो। तीमध्ये अधिकांश स्टोर पुनः सञ्चालनमा आइसकेका छन् । रातिको समयमा स्टोर सञ्चालनसँगै सामान ढुवानी, स्टक व्यवस्थापन र सरसफाइजस्ता कामसमेत सोही समयमा गर्ने योजनाले ग्राहकको किनमेल अनुभव सहज हुने तथा दिनको समयमा स्टोरमा हुने व्यवस्थापनसम्बन्धी गतिविधि कम हुने कम्पनीको अपेक्षा छ ।