काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा महिलालाई सम्मान गर्ने उद्देश्यले ‘श्रावण र शृङ्गार’ कार्यक्रम आयोजना गरेको छ ।
श्रावण २३ र २४ गते शनिबार तथा आइतबार आयोजना गरिएको कार्यक्रममा इसेवा प्रयोगकर्ता, सामाजिक सञ्जालमार्फत सहभागी तथा विभिन्न क्षेत्र र पृष्ठभूमिका महिलाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीले साथी–सङ्गीसँग श्रावण महिना तथा तीजको सांस्कृतिक उत्साह साटासाट गर्दै रमाइलो गर्ने अवसर पाएका थिए ।
श्रावण महिना र तीजको परम्पराबाट प्रेरित कार्यक्रममा सहभागीका लागि सौन्दर्यकर्मीबाट मेहेन्दी लगाउने, तत्काल तस्बिर खिच्ने फोटो कक्षमा तस्बिर खिचाउने तथा विभिन्न खेलमा सहभागी भएर आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिएको थियो । यसले सबै उमेर समूहका सहभागीलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक अनुभव प्रदान गरेको इसेवाले जनाएको छ ।
कम्पनीका अनुसार ‘श्रावण र शृङ्गार’ कार्यक्रम इसेवाले महिनाभर सञ्चालन गरेको ‘उनी नै सकारात्मक प्रेरणा हुन्’ भन्ने अभियानअन्तर्गत आयोजना गरिएको हो। अभियानले आफू मात्र नभई अरू महिलाको आत्मविश्वास बढाउन, लक्ष्य हासिल गर्न प्रोत्साहित गर्न तथा अरूको जीवनमा सकारात्मक प्रभाव पार्न प्रेरणा दिने महिलाको सम्मान गर्ने उद्देश्य राखेको छ ।
इसेवाले महिलाको योगदान र भूमिकालाई दैनिक जीवनमा कदर तथा सम्मान गर्ने प्रतिबद्धताअनुसार कार्यक्रम आयोजना गरिएको जनाएको छ । सांस्कृतिक परम्परा, मनोरञ्जन र सामुदायिक सहभागितालाई एकै ठाउँमा ल्याउँदै कार्यक्रमले श्रावण तथा तीजको अवसरलाई थप विशेष बनाएको कम्पनीको भनाइ छ।



































