अठारौँ नाडा अटो शोमा २०० स्टल, ५० ब्रान्डका सवारीसाधन

काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो मेला ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को १८औँ संस्करण आयोजना गर्ने भएको छ ।

नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको मेला आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ ।

आयोजकका अनुसार यस वर्षको अटो शोमा साना तथा ठूला गरी २०० वटा स्टल रहनेछन् । प्रदर्शनीमा २२ वटा ब्रान्डका यात्रुवाहक कार, १६ वटा ब्रान्डका हलुका व्यावसायिक सवारीसाधन र १२ वटा ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुनेछन् । त्यस्तै, आठवटा नेपाली उत्पादकसहित ६९ वटा सवारीसाधनका पार्टपुर्जा तथा अन्य सम्बन्धित व्यवसायीले आफ्ना उत्पादन र सेवा प्रदर्शनीमा राख्नेछन् । स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिताले अटो शो थप आकर्षक हुने आयोजकको विश्वास छ ।

देशभरका अटोमोबाइल व्यवसायीमा मेलालाई लिएर उत्साह बढेसँगै स्टलका लागि मागसमेत उच्च रहेको नाडाले जनाएको छ । प्रदर्शनी स्थलमा उपलब्ध स्थान सीमित भएकाले इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन भने कठिनाइ भइरहेको आयोजकको भनाइ छ ।

नाडाका अनुसार अटो शो अटोमोबाइल, आयल तथा पार्टपुर्जा व्यवसायीका लागि आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गर्ने, ग्राहकसँग प्रत्यक्ष सम्पर्क बढाउने र व्यवसाय प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यम बन्नेछ ।

पछिल्लो समय सुस्ताएको नेपाली अटोमोबाइल बजारलाई पुनः चलायमान बनाउन अटो शोले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ । नयाँ प्रविधि, विभिन्न ब्रान्डका सवारीसाधन तथा स्वदेशी उत्पादन एउटै स्थानमा प्रदर्शन हुने भएकाले उपभोक्ता तथा व्यवसायी दुवैका लागि मेला उपयोगी हुने नाडाको भनाइ छ ।