काठमाडौं । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चर्किएको छ । ग्यास लिन उपभोक्ताले घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था छ भने कतिपयले लामो समय लाइन बसेर पनि खाली सिलिन्डर बोकेर घर फर्किनुपरेको गुनासो गरेका छन् ।
बजारमा पर्याप्त ग्यास नपाउँदा केही परिवार दाउरा बालेर खाना पकाउन बाध्य भएका छन् । तर, नेपाल आयल निगमले भने पछिल्लो समय एलपी ग्यासको आयात नियमित मात्र नभई अघिल्लो वर्षको तुलनामा बढिरहेको जनाएको छ । निगमका अनुसार पछिल्लो २२ दिनमा मात्रै ३९ हजार ७७४ मेट्रिकटन एलपी ग्यास आयात भएको छ । यही आधारमा चालु आर्थिक वर्षको साउन महिनामा करिब ५५ हजार मेट्रिकटन ग्यास आयात हुने अनुमान गरिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ४४ हजार ३१८ मेट्रिकटन ग्यास आयात भएको थियो । यस हिसाबले अहिले ग्यासको आयात करिब १५ प्रतिशतले बढेको देखिन्छ । नेपाल एलपी ग्यास उद्योग संघले पनि भारतका विभिन्न शोधनशाला तथा रिफाइनरीबाट सहज रूपमा ग्यास आयात भइरहेको जनाएको छ । आयात बढिरहँदा पनि उपभोक्ताले बजारमा ग्यास नपाउनुको कारण भने आपूर्ति व्यवस्थापन, उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर सञ्चय गर्नु, व्यवसायीले लुकाएर राख्नु तथा कतिपय स्थानमा बढी मूल्यमा बिक्री गर्नु रहेको सरकारी निकायको प्रारम्भिक अनुगमनबाट देखिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यास अभावको गुनासो बढेपछि बजार अनुगमनलाई तीव्र बनाएको छ । विभागका प्रवक्ता अनिल किरातीका अनुसार नियमित अनुगमन भइरहे पनि पछिल्लो समय ग्यासको अभावसम्बन्धी गुनासो बढेपछि विशेष निगरानी बढाइएको हो । उनका अनुसार अनुगमनका क्रममा केही व्यवसायीले ग्यास लुकाएर राखेको भेटिए पनि अधिकांश अवस्थामा उपभोक्ताले एकैपटक पूरा सिलिन्डर भर्न खोज्दा बजारमा अभाव देखिएको पाइएको छ ।
‘बजार अनुगमन त पहिलादेखिकै नियमित हो, अझ ग्यास अभाव भएको भन्ने गुनासो आएपछि झनै अनुगमनलाई तीव्रता दिएका छौँ,’ किरातीले भने, ‘बजार अनुगमनमा केहीले लुकाएर बेच्ने गरेको पाइयो तर अधिकांश चाहिँ एकैपटक फूल ग्यासमा वितरण गर्ने हुँदा अभाव भएको पाइयो ।’ विभागमा कतिपय स्थानमा ग्यास लुकाएर राख्ने र बढी मूल्यमा बिक्री गर्ने गरेको उजुरीसमेत आउने गरेको छ । त्यस्ता उजुरीका आधारमा अनुगमन गरी दोषी पाइएकालाई कारबाही गरिरहेको विभागले जनाएको छ ।
किरातीका अनुसार नियमित रूपमा ग्यास आयात भइरहे पनि वितरण प्रणालीमा असन्तुलन हुँदा उपभोक्ताले अभावको सामना गर्नुपरेको हो । विशेषगरी उपभोक्ताले ग्यास अभाव हुने आशंकामा आवश्यकताभन्दा बढी सिलिन्डर राख्दा वास्तविक आवश्यकता भएका उपभोक्तालाई समस्या भइरहेको उनको भनाइ छ । ‘अनावश्यक ग्यासको भण्डार गर्दा एक परिवारमा दुई वटामात्र सिलिन्डर भएर एउटा ग्यास सकेपछि अर्को भर्नेहरूलाई समस्या भएको छ,’ उनले भने ।
सरकारी अनुगमनका क्रममा होटल तथा रेस्टुरेन्टमा भने ग्यासको तुलनात्मक रूपमा कम अभाव देखिएको पाइएको छ । विभागका अनुसार केही होटल तथा रेस्टुरेन्टमा ३० वटासम्म सिलिन्डर भेटिएका छन् । ती व्यवसायले ग्यास पसलबाट नियमित रूपमा खरिद गर्ने भएकाले उनीहरूलाई नियमित ग्राहकका रूपमा प्राथमिकताका साथ ग्यास उपलब्ध गराउने गरिएको पाइएको विभागको भनाइ छ । नेपालमा हाल करिब १ करोड ५५ लाख एलपी ग्यास सिलिन्डर रहेको तथ्यांक विभागसँग छ । त्यसमध्ये करिब ५५ लाख सिलिन्डर विभिन्न ग्यास डिपोमा रहेको बताइएको छ । यति ठूलो संख्यामा सिलिन्डर उपलब्ध हुँदाहुँदै पनि वितरण प्रणालीमा देखिएको असन्तुलनका कारण उपभोक्ताले अभाव झेल्नुपरेको सरकारी अधिकारीहरूको भनाइ छ ।
नेपाल एलपी ग्यास उद्योग संघले पनि अहिले देखिएको अभावलाई मुख्यतः उपभोक्ताको असामान्य सञ्चय र बजारमा सिर्जना भएको कृत्रिम अभावसँग जोडेको छ । संघले साउन २४ गते जारी गरेको विज्ञप्तिमा ग्यास अभाव हुने आशंकामा उपभोक्ताले अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने तथा आवश्यकताभन्दा बढी खरिद गर्ने प्रवृत्तिले बजारमा कृत्रिम अभाव सिर्जना भएको उल्लेख गरेको थियो । त्यसको प्रत्यक्ष असर वास्तविक रूपमा ग्यास आवश्यक पर्ने उपभोक्तामा परेको संघको भनाइ छ ।
ग्यास लुकाएर राख्ने र बढी मूल्यमा बिक्री गर्ने प्रवृत्तिका घटना देशका विभिन्न ठाउँमा समेत भेटिएका छन् । साउन २४ गते बाँकेको नेपालगन्जमा गरिएको बजार अनुगमनका क्रममा एक किराना पसलमा १३ वटा एलपी ग्यास सिलिन्डर लुकाएर राखिएको भेटिएको थियो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा खटिएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्करदयाल बद्रीप्रसाद प्रोभिजन स्टोरमा लुकाएर राखिएका १३ वटा सिलिन्डर बरामद गरेको थियो । त्यसपछि पसल सञ्चालकलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको थियो ।
गुरुङका अनुसार ग्यास लुकाएर राखेको सूचना पाएपछि अनुगमन टोली पसलमा पुगेको थियो । अनुगमन गर्दा सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएपछि कारबाही गरिएको उनले बताए ।
यस्तै, भक्तपुरमा भने उपभोक्ताबाट अस्वाभाविक रूपमा बढी रकम असुली गरी ग्यास बिक्री गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकस्थित त्वयना किराना पसलका सञ्चालक तुलसीराम त्वयनाले प्रतिसिलिन्डर ७ हजार रुपैयाँसम्म लिएर एलपी ग्यास बिक्री गरेको सूचना पाएपछि प्रहरीले अनुगमन गरेको थियो । प्रहरीले पसलबाट तीन थान ग्यास सिलिन्डर बरामद गर्नुका साथै पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
यस्ता घटनाले बजारमा ग्यासको वास्तविक अभावभन्दा पनि वितरण प्रणालीमा देखिएको समस्या, सञ्चय गर्ने प्रवृत्ति र केही व्यवसायीको गैरजिम्मेवार व्यवहारले समस्या थप जटिल बनाएको देखिन्छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि विभिन्न व्यवसायीलाई कृत्रिम अभाव सिर्जना नगर्न निर्देशन दिएको छ । साउन २३ गते ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित न्यू शर्मा स्टोरलाई ग्यासको कृत्रिम अभाव हुने काम नगर्न तथा नगराउन निर्देशन दिइएको थियो ।
त्यसैगरी ललितपुर महानगरपालिका–११ स्थित गजलक्ष्मी आरके स्टोरलाई पनि ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न निर्देशन दिइएको विभागले जनाएको छ । गोकर्णेश्वरस्थित न्यू कञ्चनजंघा किचेन सेन्टरलाई समेत ग्यास लुकाउने वा कालोबजारी नगरी सहज र सर्वसुलभ रूपमा उपभोक्तालाई उपलब्ध गराउन निर्देशन दिइएको छ । सरकार र ग्यास उद्योगीहरूले उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरिरहेका छन् । उनीहरूका अनुसार उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद गरेर घरमा थुपार्दा बजारमा आपूर्ति बढे पनि तत्कालका लागि अभाव देखिने गरेको छ ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यास आयात तथा रिफिलिङ नियमित रूपमा भइरहेको भन्दै उपभोक्ताले अतिरिक्त सिलिन्डर खरिद नगर्न आग्रह गरेका छन् । उनका अनुसार उद्योगबाट सिलिन्डर रिफिलिङ गरेर निरन्तर बजारमा पठाउने काम भइरहेको छ । त्यसैले उपभोक्ताले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको समस्या छिट्टै समाधान हुने अवस्था रहेको उनको भनाइ छ ।
‘ग्यास उद्योगबाट सिलिन्डर रिफिलिङ गरी निरन्तर बजारीकरण भइरहेकाले आवश्यकताभन्दा बढी ग्यास खरिद नगर्न आग्रह गर्दछौँ,’ चन्दले भने, ‘उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगर्ने हो भने अहिले देखिएको ग्यास अभावको समस्या तत्कालै समाधान हुने देखिन्छ ।’ ग्यास उद्योगीहरूका अनुसार आगामी दिनमा पनि आयातमा ठूलो समस्या देखिने अवस्था छैन । भारतबाट ग्यासको आपूर्ति नियमित रहेको र नेपालमा पनि उद्योगहरूले निरन्तर रिफिलिङ गरिरहेका कारण उपभोक्ताले आत्तिनुपर्ने अवस्था नरहेको उनीहरूको दाबी छ ।
तर बजारमा देखिएको लामो लाइन र उपभोक्ताको दैनिक समस्या समाधान गर्न भने वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने देखिएको छ । ग्यास आयातको तथ्यांक सकारात्मक भए पनि उपभोक्ताको हातसम्म समयमै सिलिन्डर नपुग्ने हो भने आयात बढेको तथ्यांकले मात्रै बजारको समस्या समाधान गर्न सक्दैन ।
त्यसैले सरकारले आयातको अवस्थासँगै डिपोदेखि विक्रेतासम्मको वितरण प्रणाली, व्यवसायीको मौज्दात, होटल तथा रेस्टुरेन्टलाई हुने आपूर्ति र घरायसी उपभोक्ताको वास्तविक मागबीच सन्तुलन कायम गर्नुपर्ने देखिएको छ । साथै ग्यास लुकाएर राख्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा अत्यधिक मूल्यमा बिक्री गर्ने व्यवसायीमाथि प्रभावकारी कारबाही गर्न सके बजारमा देखिएको असहज अवस्था छिट्टै नियन्त्रणमा आउने अपेक्षा गरिएको छ । अहिलेको अवस्थामा उपभोक्ताले पनि हल्लाका आधारमा अतिरिक्त सिलिन्डर सञ्चय नगरी आफ्नो वास्तविक आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्नुपर्ने देखिन्छ । आयात नियमित रहेको र अघिल्लो वर्षको तुलनामा समेत ग्यासको आयात बढिरहेको अवस्थामा अनावश्यक सञ्चय रोकिए आपूर्ति व्यवस्थामा देखिएको दबाब घट्ने र बजार क्रमशः सामान्य अवस्थामा फर्किने उद्योगी तथा सरकारी अधिकारीहरूको विश्वास छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































