काठमाडौं । सुनसरी र सिरहामा भएका छुट्टाछुट्टै घटनाको छानबिन गर्न गठित दुई समितिले दुवै घटनामा बाहिरी घुसपैठ नभएको निष्कर्ष निकालेका छन् ।
घटनाका क्रममा मृत्यु भएका चार युवाको ज्यान नेपाली सुरक्षाकर्मीले चलाएको गोलीबाटै गएको ठहर गर्दै समितिले गोली चलाउने सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्न सिफारिस गरेको छ । गृह मन्त्रालयले गठन गरेका दुई छुट्टाछुट्टै छानबिन समितिले मंगलबार प्रतिवेदन बुझाउँदै घटनाका कारण, सुरक्षा परिचालन, गोली चलेको अवस्था तथा त्यसमा संलग्न सुरक्षाकर्मी र प्रशासनिक अधिकारीहरूको भूमिकाबारे निष्कर्षसहित सुझाव दिएका हुन् ।
१० साउनमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जबाट सुरु भएको विवाद क्रमशः अन्य क्षेत्रमा समेत फैलिएको थियो । घटनापछि स्थानीय तहमा धार्मिक तथा सामाजिक तनाव बढेको थियो । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा गोली चलेपछि तीन स्थानीय युवाको मृत्यु भएको थियो । घटना लगत्तै आन्दोलन वा तनावमा बाहिरी समूहको घुसपैठ भएको हुनसक्ने तथा सुरक्षाकर्मीबाहेक अन्य व्यक्तिबाट समेत गोली चलेको हुनसक्ने दाबीहरू सार्वजनिक भएका थिए । तर, छानबिनका क्रममा त्यस्तो प्रमाण फेला नपरेको समितिले जनाएको छ ।
समितिका अनुसार सुनसरीको कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरी जम्मा २० राउन्ड गोली चलाएको पाइएको छ । यही क्रममा चलेका गोली लागेर तीन जनाको मृत्यु भएको निष्कर्ष प्रतिवेदनमा उल्लेख छ । कप्तानगञ्ज घटनामा सुरुमा सुरक्षाकर्मीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । घटनामा घाइते भएका जयप्रकाश मेहता र रवीन्द्र मेहताको उपचारका क्रममा पछि मृत्यु भएको थियो । यससँगै कप्तानगञ्ज घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको थियो । १० साउन राति करिब १० बजे चर्को आवाजमा डिजे बजाएको विषयलाई लिएर स्थानीयबीच विवाद सुरु भएको थियो । विवाद बढ्दै जाँदा दुई पक्षबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन स्थानीय सुरक्षाकर्मी पुगेका थिए । झडपका क्रममा घरेलु हतियार प्रयोग भएको र सुरक्षाकर्मीमाथि समेत आक्रमणको अवस्था सिर्जना भएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
स्थिति नियन्त्रणमा नआएपछि नेपाल प्रहरीले गोली चलाएको थियो । तनाव थप बढेपछि सशस्त्र प्रहरीको टोलीसमेत घटनास्थलमा पुगेको थियो । सशस्त्र प्रहरीले पनि गोली चलाएको समितिको निष्कर्ष छ । सुरक्षाकर्मीले चलाएको गोलीकै कारण तीन जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । घटना नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक राकेश राई तथा प्रहरी चौकी कप्तानगञ्जका प्रहरी सहायक निरीक्षक प्रकाशकुमार श्रेष्ठ फिल्डमा खटिएका थिए । समितिले घटनाका बेला जिल्ला प्रहरी प्रमुखदेखि फिल्डमा परिचालित सुरक्षाकर्मी, प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित अधिकारीहरूको भूमिकासमेत अध्ययन गरेको छ ।
त्यसैगरी सिरहामा भएको घटनाको छानबिन गरेको समितिले पनि गोली लागेर एक युवकको मृत्यु भएको निष्कर्ष निकालेको छ । सिरहाको गोलबजारमा भएको घटनाका क्रममा प्रहरीले चलाएको गोली लागेर गणेश यादवको मृत्यु भएको समितिले जनाएको छ । घटनास्थलमा जम्मा नौ राउन्ड गोली चलेको पाइएको प्रतिवेदनमा उल्लेख छ । तीमध्ये सात राउन्ड डमी र दुई राउन्ड पेस्तोलबाट चलेको समितिको निष्कर्ष छ । पेस्तोलबाट चलेको एउटा गोली लागेर गणेश यादवको मृत्यु भएको र अर्को गोली लागेर अर्का एक व्यक्ति घाइते भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सिरहा घटनामा प्रहरी जवानलाई समेत गोली लागेको दाबी गरिएको थियो । तर, छानबिन समितिले मेडिकल परीक्षण तथा उपलब्ध प्रमाणका आधारमा प्रहरी जवानलाई गोली लागेको पुष्टि नभएको जनाएको छ । समितिका एक सदस्यका अनुसार ती प्रहरी जवानलाई गोली नभई छर्रा लागेको हुनसक्ने देखिएको छ । ‘मेडिकल्ली गोली लागेको भन्ने पुष्टि हुँदैन । छर्रासम्म लागेको हुनसक्छ,’ समितिका एक सदस्यले भने । गोलबजारमा भिड नियन्त्रणका लागि प्रहरी निरीक्षक सुदन केसीसमेत परिचालन भएका थिए । सोही क्रममा गोली चलेको थियो । घटनामा सुरक्षाकर्मीको परिचालन, गोली चलाउने अवस्था र कमान्ड तहमा भएका निर्णयबारे समितिले अध्ययन गरेको थियो ।
सुनसरीको कप्तानगञ्ज घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा समिति गठन गरिएको थियो । त्यस्तै सिरहा घटनाको छानबिनका लागि गृह मन्त्रालयका अर्का सहसचिव पुष्पराज शाहीको नेतृत्वमा छुट्टै समिति गठन गरिएको थियो । दुवै समितिले मंगलबार नै गृह मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन् । गृह मन्त्रालयकी सहप्रवक्ता रमा आचार्यले समितिले प्रतिवेदन बुझाइसकेको र अध्ययनपछि आवश्यक प्रक्रिया अघि बढाइने बताएकी छन् । उनका अनुसार प्रतिवेदनमा उल्लेख गरिएका निष्कर्ष तथा सुझाव अध्ययन गरेर सम्बन्धित विषयमा निर्णय लिइनेछ ।
दुवै समितिले घटनाका क्रममा गोली चलाउने सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्न सिफारिस गरेका छन् । समितिका एक सदस्यका अनुसार कुन घटनामा कसले गोली चलाएको हो भन्ने विषयमा प्रतिवेदनमा भूमिका पहिचान गरिएको छ । ‘दुई फरक घटनामा जसले गोली चलाएको छ, उनीहरूलाई आवश्यक कारबाही गर्नुपर्ने सुझाव दिएका छौं,’ समितिका एक सदस्यले भने । यद्यपि प्रतिवेदनमा गोली चलाउने सुरक्षाकर्मीलाई कस्तो प्रकृतिको कारबाही गर्ने भन्ने कुरा स्पष्ट रूपमा उल्लेख गरिएको छैन । ‘आवश्यक कारबाही’ गर्नुपर्ने सुझाव मात्रै दिइएको बताइएको छ । प्रतिवेदनले घटनामा सुरक्षाकर्मीको कमान्ड तथा परिचालनको अवस्थासमेत विश्लेषण गरेको छ ।
घटनाका बेला जिल्ला प्रहरी प्रमुखको भूमिका, फिल्ड कमान्डरको निर्णय, सुरक्षाकर्मी परिचालनको अवस्था तथा प्रमुख जिल्ला अधिकारीको भूमिकालगायत विषयलाई समेत प्रतिवेदनमा समेटिएको छ । घटनाको प्रकृति र सुरक्षा निकायले अपनाएको बल प्रयोगको अवस्थालाई समेत समितिले विश्लेषण गरेको बताइएको छ । समितिले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायका लागि विभिन्न सुधारात्मक सुझावसमेत दिएको छ । भिड नियन्त्रणमा जाने सुरक्षाकर्मीलाई गैरघातक हतियारसहित परिचालन गर्नुपर्ने सुझाव प्रतिवेदनमा छ । भिड नियन्त्रणका क्रममा घातक हतियार प्रयोग गर्नुपर्ने अवस्था कम गर्न रबरको गोलीलगायत गैरघातक साधनको प्रयोग बढाउनुपर्ने समितिको सुझाव छ ।
त्यस्तै, हतियार बोकेर भिड नियन्त्रणमा खटिने सुरक्षाकर्मीले बडीवर्न क्यामेरा अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने सुझाव दिइएको छ । भिड नियन्त्रणका क्रममा भएका गतिविधिको प्रमाण सुरक्षित राख्न सुरक्षाकर्मीले भिडियो तथा फोटो खिच्ने व्यवस्था गर्नुपर्ने समितिको सुझाव छ । सुरक्षाकर्मीको बल प्रयोगसम्बन्धी निर्णय र त्यसको परिणामलाई भविष्यमा निष्पक्ष रूपमा मूल्यांकन गर्न यस्ता दृश्य प्रमाण महत्वपूर्ण हुने समितिको निष्कर्ष छ । बडीवर्न क्यामेराको प्रयोगले फिल्डमा सुरक्षाकर्मी र प्रदर्शनकारी दुवै पक्षको गतिविधि अभिलेख गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । समितिले भिड नियन्त्रणका लागि सुरक्षाकर्मीलाई थप तालिम दिनुपर्नेमा पनि जोड दिएको छ । बदलिँदो सामाजिक तथा धार्मिक संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा निकायलाई भिड व्यवस्थापन, वार्ता, तनाव न्यूनीकरण र गैरघातक बल प्रयोगसम्बन्धी तालिम आवश्यक रहेको सुझाव दिइएको छ ।
त्यस्तै, भिड नियन्त्रणमा प्रयोग हुने स्रोतसाधन पर्याप्त बनाउनुपर्ने, सुरक्षा निकायलाई आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने तथा घटनापछि वैज्ञानिक अनुसन्धानका लागि विधिविज्ञान प्रयोगशालाको क्षमता थप विस्तार गर्नुपर्ने सुझावसमेत समितिले दिएको छ । सामाजिक, धार्मिक र सुरक्षा संवेदनशीलतालाई एकैसाथ विश्लेषण गरेर आगामी दिनमा यस्ता विवाद नियन्त्रणका लागि पूर्वतयारी गर्नुपर्ने समितिको निष्कर्ष छ । स्थानीयस्तरमा विवाद उत्पन्न हुँदा त्यसलाई प्रारम्भिक चरणमै समाधान गर्ने संयन्त्र बलियो बनाउनुपर्ने तथा संवेदनशील क्षेत्रमा सुरक्षा निकाय र स्थानीय प्रशासनबीच समन्वय प्रभावकारी बनाउनुपर्ने विषय पनि प्रतिवेदनमा समेटिएको बताइएको छ ।
सुनसरी र सिरहाका घटनामा बाहिरी घुसपैठ भएको दाबी पुष्टि नभएको निष्कर्षले घटनाको अनुसन्धानलाई नयाँ आधार दिएको छ । चार युवाको मृत्यु भने नेपाली सुरक्षाकर्मीले चलाएको गोलीबाट भएको समितिको निष्कर्ष छ । अब गृह मन्त्रालयले प्रतिवेदन अध्ययन गरेपछि गोली चलाउने सुरक्षाकर्मी तथा घटनामा जिम्मेवार देखिएका अन्य अधिकारीमाथि कस्तो कारबाही अघि बढाउने भन्ने टुंगो लाग्नेछ । दुवै घटनाको छानबिनले तत्कालीन अवस्थाको सुरक्षा परिचालन, बल प्रयोग र कमान्ड तहको जिम्मेवारीबारे समेत प्रश्न उठाएको छ । समितिले दिएको सुझाव कार्यान्वयन भए भिड नियन्त्रणका क्रममा घातक बल प्रयोग घटाउने, घटनाको प्रमाण सुरक्षित राख्ने तथा सुरक्षाकर्मीको जवाफदेहिता बढाउने अपेक्षा गरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।




































