काठमाडौं । रसुवामा गएको भोटेकोसी बाढीमा नेपालले भोगेको क्षतिप्रति दुःख व्यक्त गर्दै चीनले यो विपत्तिमा नेपालको साथमा रहेको सन्देश पठाएको छ ।
प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका चिनियाँ राजदूत झाङ माओमिङले सन्देश सुनाए हुन् । चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको सन्देश सुनाउँदै उनले विपत्तिमा नेपालको साथमा रहेको बताए ।
‘बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ । बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,’ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत माओमिङले भने, ‘यो दुःखमा नेपाल एक्लै छैन । चीन नेपाल र नेपाली जनताको साथमा छ ।’
यससँगै राजदूत माओमिङले विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने बताए । अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरेका छन् । त्यस्तै, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको तीन करोड ६ लाख रुपैयाँ बराबर (दुई लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरेका छन् । राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । उनले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए ।
आइतबार मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्यांकेट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा ओरालेको राजदूत माओमिङले बताए । थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ ।
रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्री डा. वाग्लेलाई अवगत गराएका छन् । त्यस्तै, जलविद्युत कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि शनिबार नै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए । नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको उनले जानकारी दिएका छन् ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।


































