जलविद्युत् सुरुङमा फसेकाहरूको उद्धार कसरी हुँदैछ ?

काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ, पावरहाउस तथा क्याम्प क्षेत्रमा फसेका कर्मचारी, कामदार, प्राविधिक तथा अन्य व्यक्तिको उद्धार प्रयास अझै जारी छ ।

बाढी आएको पाँच दिन बितिसक्दा पनि ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन रहेपछि उनीहरूको सकुशल उद्धार हुने सम्भावनाप्रति चिन्ता बढेको छ । यद्यपि सुरुङका केही भागमा पानीको बहाव कायम रहनु, सुरुङको मुख खुला रहनु तथा केही स्थानमा हावा प्रवेश गर्ने सम्भावना रहेकाले उद्धार टोलीले अझै आशा नछाडेको जनाएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अनुसार भोटेकोसी बाढीबाट रसुवा क्षेत्रका ११ वटा जलविद्युत् आयोजना प्रभावित भएका छन् । ती आयोजनामा कार्यरत ठूलो संख्याका कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन् ।

आयोजनाहरूको पावरहाउस, आवासीय क्षेत्र, निर्माणस्थल र पहुँचमार्गमा बाढीले ठूलो क्षति पुर्‍याएपछि सुरुङभित्र रहेका व्यक्तिसम्म पुग्न उद्धार टोलीलाई कठिन भइरहेको छ ।

बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, आयोजनाका प्राविधिक तथा स्थानीयको संयुक्त टोलीले विभिन्न स्थानमा उद्धार तथा खोजी कार्य गरिरहेको छ । कतिपय आयोजनामा सुरुङको अवरोध हटाउने, ड्रिलिङ गर्ने, प्वाल बनाउने र आवश्यक परे ब्लास्टिङमार्फत बाटो खोल्ने प्रयास भइरहेको छ । उद्धारका क्रममा आधुनिक उपकरण तथा तालिमप्राप्त खोज तथा उद्धार टोलीको समेत प्रयोग गरिएको छ । भोटेकोसी बाढीबाट सबैभन्दा गम्भीर रूपमा प्रभावित आयोजनामध्ये माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजना पनि हो । २१६ मेगावाट क्षमताको उक्त आयोजना कोरियाली कम्पनीको नेतृत्वमा निर्माण भइरहेको छ । आयोजनामा ठूलो संख्यामा नेपाली तथा विदेशी कामदार र प्राविधिक कार्यरत थिए । आयोजनामा कार्यरतमध्ये ५७६ जना अझै सम्पर्कबाहिर रहेको बताइएको छ । आयोजनाको क्याम्प तथा अन्य संरचनामा समेत बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

त्यस्तै, त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र तथा आयोजना क्षेत्रमा कार्यरत कर्मचारी, परामर्शदाता, ठेकेदार र कामदार गरी करिब २०१ जना सम्पर्कविहीन छन् । आयोजनाकी कम्पनी सचिव तथा प्रशासन प्रमुख लीला अर्यालका अनुसार प्राप्त आधिकारिक विवरणअनुसार आयोजनाका २१ कर्मचारी, कर्मचारीका परिवारका सात सदस्य, परामर्शदाता कम्पनी चेस्कोका १२ जना, लट–१ ठेकेदारतर्फका चार चिनियाँ र दुई नेपाली नागरिक सम्पर्कमा छैनन् । त्यसैगरी काठमाडौं विश्वविद्यालयबाट इन्टर्नमा गएका तीन विद्यार्थी, ठेकेदार पक्षका १५१ कामदार र एक सुरक्षा गार्डसमेत सम्पर्कविहीन रहेको आयोजनाले जनाएको छ । घटनालगत्तै नेपाली सेनाको १६ सदस्यीय टोली आयोजनास्थलमा पुगेको थियो । आयोजनाका प्रबन्ध निर्देशक आनन्द ढुंगेल तथा सिनियर इन्जिनियर रवीन्द्र सिम्खडासहित प्राविधिक टोली पनि उद्धार कार्यमा संलग्न छ ।

त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि सुरुङको फ्रन्ट फेसबाट चारवटा प्वाल ड्रिलिङ गरिएको छ । ती प्वालमार्फत सुरुङभित्रको अवस्था बुझ्ने तथा सम्भावित रूपमा फसेकासम्म पुग्ने प्रयास गरिएको छ । प्राप्त प्रगतिका आधारमा अब फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरेर खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा पनि ठूलो संख्यामा मानिसहरू सुरुङभित्र फसेको आशंका गरिएको छ । ६० मेगावाट क्षमताको उक्त आयोजनामा ४२ जना फसेको बताइएको छ । उनीहरूको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सांसद श्रीराम न्यौपानेसहितको टोलीले समेत आयोजनाको सुरुङसम्म पुग्ने बाटो खोल्न निरन्तर काम गरिरहेको छ । न्यौपानेका अनुसार आइतबार दिउँसो ३ः१५ बजे सुरुङ भेटिएको थियो । सुरुङभित्र फसेका मानिससम्म पुग्न नेपाली सेनाका इन्जिनियरहरूले सम्भावित सबै उपाय प्रयोग गरिरहेका छन् । आवश्यक परे ब्लास्टिङ गरेर अवरोध हटाउने तयारीसमेत गरिएको छ ।

उद्धारस्थलमा नेपाली सेनाका ६६ जना जनशक्ति परिचालन गरिएको छ । तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोली लिएर सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी करिब ९० जनाको संयुक्त टोली घटनास्थलमा खटिएको छ । टोलीले सुरुङको संरचना, पानीको अवस्था र भित्रसम्म पुग्ने सम्भावित मार्ग पहिचान गर्दै उद्धार अघि बढाइरहेको छ । यसअघि उद्धार टोली दिउँसो करिब २ बजे सुरुङको मुख्य भाग अर्थात् ‘क्राउन हेड’ सम्म पुगेको थियो । त्यहाँ करिब २×३ फिटको प्वाल बनाइएको थियो । उक्त प्वालबाट डोरीको सहायताले उद्धार टोली तल झरेर सुरुङभित्र रहेका मानिसलाई बोलाउने प्रयास गरेको थियो । तर भित्रबाट तत्काल कुनै प्रतिक्रिया नआएपछि उद्धार कार्यलाई थप तीव्र बनाइएको छ । ठूला उपकरण प्रयोग गरेर प्वाल फराकिलो बनाउने, थप ड्रिलिङ गर्ने र आवश्यक ठाउँमा ब्लास्टिङ गर्ने काम एकसाथ अघि बढाइएको छ । सुरुङभित्रको अवस्था यकिन गर्न उद्धार टोलीले सम्भावित सबै विकल्प प्रयोग गरिरहेको छ । सुरुङभित्र पानीको बहाव रहेकाले काम थप चुनौतीपूर्ण बनेको छ ।

रसुवागढी जलविद्युत् आयोजना पनि बाढीबाट गम्भीर रूपमा प्रभावित भएको छ । १११ मेगावाट क्षमताको उक्त आयोजनामा ९३ जना कार्यरत थिए । आयोजनाका ४९ तथा ठेकेदारतर्फका ४२ जना गरी ठूलो संख्यामा कामदार प्रभावित भएका छन् । ठेकेदारतर्फका चारजनाको जीवितै उद्धार गरिएको र दुईजनाको शव फेला परेको आयोजनाका कम्पनी सचिव नरनाथ न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार आयोजनाको पावरहाउसमा अझै कम्तीमा १४ जना रहेको अनुमान गरिएको छ । पावरहाउस क्षेत्रमा बाढीले पुर्‍याएको क्षति र सुरुङमा जमेको पानी तथा माटोका कारण उद्धार टोलीलाई भित्र प्रवेश गर्न कठिन भइरहेको छ । सम्भावित जीवित व्यक्तिसम्म पुग्न अवरोध हटाउने काम प्राथमिकतामा राखिएको छ । २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ४२ जना अझै सम्पर्कविहीन छन् । आयोजनामा कुल ६० जना कार्यरत रहेकामा १८ जनालाई सकुशल उद्धार गरिएको थियो । बाँकी ४२ जना सम्पर्कविहीन रहेको प्रवद्र्धक मल्टी इनर्जीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताएका छन् ।

आचार्यका अनुसार सम्पर्कविहीनमध्ये आठजना प्राविधिक इन्जिनियर, पाँचजना सहयोगी, एक सुरक्षा गार्ड तथा सुरुङभित्र काम गरिरहेका अन्य कामदार छन् । उद्धारका लागि नेपाली सेनाको टोली परिचालन भइसकेको छ । ‘आज सुरुङ खोल्ने तयारीमा सेना छ । ४२ जना मिसिङ हुनुहुन्छ । सुरुङमा पानी गइरहेको हुँदा हामी आशामै छौँ,’ आचार्यले भनेका छन् । सुरुङको मुख खुला रहेको र भित्र पानीको बहाव कायम रहेकाले त्यहाँ अक्सिजनको सम्भावना हुन सक्ने उद्धार टोलीको अनुमान छ । यही कारण सुरुङभित्र रहेका व्यक्तिहरू जीवितै हुन सक्ने आशा गरिएको छ । पानीको बहावका कारण जोखिम भने उच्च छ । उद्धार टोलीले सुरुङको अवस्था नबिगारी सम्भव भएसम्म सुरक्षित रूपमा भित्र पुग्ने प्रयास गरिरहेको छ । बाढीले लाङटाङ खोला जलविद्युत् आयोजनाको पावरहाउस तथा क्याम्प क्षेत्र पूर्ण रूपमा बगाएको छ । आयोजनाका संरचनामा ठूलो क्षति पुगेको छ । बाढी आउनुअघि नै आयोजना व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने अन्तिम तयारीमा थियो । भदौ १४ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने तयारी भइरहेका बेला प्राकृतिक विपत्तिले आयोजनाको संरचना मात्र होइन, मानवीय पक्षमा समेत गम्भीर क्षति पुर्‍याएको हो ।

आचार्यका अनुसार भौतिक संरचना पुनर्निर्माण गर्न सकिए पनि दक्ष प्राविधिक, इन्जिनियर र विशेषज्ञ जनशक्तिको मानवीय क्षति देशका लागि ठूलो र अपूरणीय क्षति हुनेछ । त्यसैले उद्धारमा कुनै पनि सम्भावित विकल्प प्रयोग गर्नुपर्ने उनको जोड छ । रसुवा–भोटेकोसी १२० मेगावाट आयोजनामा कार्यरत चारजना कर्मचारी अझै सम्पर्कविहीन छन् । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा पनि आठजना सम्पर्कविहीन रहेको बताइएको छ । उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना सुरुङमार्ग हुँदै भित्र प्रवेश गर्ने प्रयासमा छ । त्यसैगरी पाँच मेगावाट क्षमताको मैलुङ खोला जलविद्युत् आयोजनामा सात कर्मचारी तथा इन्जिनियर सम्पर्कविहीन छन् । २४ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजनाबाट एकजना तथा १४.१ मेगावाट क्षमताको देवीघाट जलविद्युत् आयोजनाबाट एकजना सम्पर्कविहीन भएको उल्लेख छ । मिडिल त्रिशूली गंगा १५.६ मेगावाट आयोजनाबाट पनि दुईजना सम्पर्कविहीन छन् । बाढीका कारण प्रभावित आयोजनाहरूमा उद्धारको चुनौती केवल सुरुङभित्र फसेका व्यक्तिसम्म पुग्नु मात्रै होइन । अधिकांश क्षेत्रमा पहुँचमार्ग, पुल, विद्युत् संरचना, क्याम्प तथा सञ्चार संरचनासमेत क्षतिग्रस्त भएकाले उद्धार टोली र आवश्यक उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भएको छ । सुरुङभित्र पानी, माटो, ढुंगा तथा अन्य अवरोध भएकाले सामान्य उपकरणबाट उद्धार सम्भव नहुने अवस्था देखिएको छ ।

उद्धारमा संलग्न टोलीले पहिलो चरणमा सुरुङसम्म सुरक्षित पहुँच स्थापित गर्ने, त्यसपछि ड्रिलिङ तथा प्वाल निर्माण गर्ने र सम्भावित रूपमा मानिसहरू रहेको भागसम्म पुग्ने रणनीति अपनाएको छ । प्वाल निर्माण भएपछि भित्र हावा पठाउने, आवाज तथा अन्य माध्यमबाट प्रतिक्रिया खोज्ने र आवश्यक परे उद्धारकर्मीलाई सुरुङभित्र प्रवेश गराउने तयारी गरिएको छ । केही आयोजनामा सुरुङको माथिल्लो भाग अर्थात् ‘क्राउन हेड’ सम्म पुगेर प्वाल बनाउने काम सफल भएको छ । यसबाट सुरुङभित्र प्रवेशका लागि वैकल्पिक बाटो खुल्ने आशा गरिएको छ । तर सुरुङको संरचना कमजोर भएको अवस्थामा थप क्षति हुन सक्ने भएकाले ब्लास्टिङ तथा ड्रिलिङ अत्यन्त सावधानीपूर्वक गर्नुपर्ने अवस्था छ ।उद्धारमा ढिलाइ हुँदै जाँदा सुरुङभित्र फसेकाहरूको अवस्थाबारे चिन्ता बढेको छ । बाढी आएको पाँच दिन बितिसक्दा पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेकाले परिवार तथा आफन्तहरूमा बेचैनी बढेको छ । आयोजनास्थलमा रहेका उद्धार टोलीले भने सुरुङभित्र जीवित व्यक्ति भेटिन सक्ने सम्भावनालाई ध्यानमा राखेर खोजी जारी राखेको छ ।

विज्ञहरूले यस्तो जटिल उद्धारमा सुरुङ निर्माण, भूगर्भ, हाइड्रोलोजी तथा आपत्कालीन उद्धारमा विशेषज्ञता भएका जनशक्तिको आवश्यकता पर्ने बताएका छन् । सरकारले विदेशी विशेषज्ञ तथा अत्याधुनिक उद्धार उपकरण परिचालन गर्न ढिलाइ गर्दा उद्धार कार्य थप जटिल बनेको उनीहरूको भनाइ छ । विशेषगरी लामो समयदेखि सुरुङभित्र रहेका व्यक्तिको अवस्था पत्ता लगाउन प्रविधिको प्रयोग र अन्तर्राष्ट्रिय अनुभव उपयोग गर्नुपर्ने आवश्यकता देखिएको छ ।

उद्धार टोलीका लागि समय अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ । सुरुङभित्र पानीको मात्रा, अक्सिजनको अवस्था, तापक्रम, फसेका व्यक्तिको स्थान र उनीहरूसम्म पुग्ने मार्गबारे पूर्ण जानकारी नहुँदा प्रत्येक कदम जोखिमपूर्ण छ । त्यसका बाबजुद नेपाली सेना तथा सुरक्षा निकायका टोलीले उपलब्ध स्रोतसाधन प्रयोग गरेर उद्धारलाई तीव्रता दिइरहेका छन् । भोटेकोसी बाढीले रसुवा क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ । जलविद्युत् आयोजना नेपालको ऊर्जा उत्पादनका महत्वपूर्ण केन्द्र भएकाले यस घटनाले आयोजनाको पूर्वाधारमा मात्र होइन, विद्युत् उत्पादन र निर्माण क्षेत्रमा समेत दीर्घकालीन असर पार्ने देखिएको छ । तर अहिले सबैभन्दा ठूलो प्राथमिकता भने संरचना होइन, सुरुङभित्र फसेका मानिसको जीवन बचाउनु बनेको छ । उद्धार टोलीले सुरुङभित्रबाट कुनै सकारात्मक संकेत प्राप्त गर्न सकेमा तत्काल त्यसतर्फ केन्द्रित भएर उद्धार अघि बढाउने तयारी गरेको छ । त्यसैले सुरुङमा फसेकाहरूको परिवार र आफन्तहरू अझै आशावादी छन् । पानीको बहाव र सुरुङमा हावा प्रवेशको सम्भावनाले केही आशा कायम राखेको छ ।

उद्धारका लागि परिचालित सुरक्षा निकाय, प्राविधिक तथा आयोजनाका टोलीले सुरुङ खोल्ने कामलाई तीव्र बनाइरहेका छन् । ड्रिलिङ, प्वाल फराकिलो पार्ने, आवश्यक स्थानमा ब्लास्टिङ गर्ने तथा वैकल्पिक प्रवेशमार्ग खोज्ने काम भइरहेको छ । अबको केही समयभित्र सुरुङभित्रको वास्तविक अवस्था पत्ता लाग्ने र उद्धार कार्यले निर्णायक गति लिने अपेक्षा गरिएको छ । बाढीले बगाएका पावरहाउस र क्याम्प पुनर्निर्माण गर्न सकिने भए पनि सुरुङभित्र रहेका दक्ष जनशक्तिको जीवन फर्काउन सकिँदैन । त्यसैले अहिलेको उद्धार अभियान केवल एउटा आयोजनाका कर्मचारी बचाउने प्रयास नभई देशको महत्वपूर्ण प्राविधिक जनशक्ति जोगाउने अभियानसमेत बनेको छ । यही कारण सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गर्दै स्वदेशी तथा विदेशी विशेषज्ञको सहयोग लिएर उद्धार कार्यलाई अझ प्रभावकारी र तीव्र बनाउनुपर्ने आवश्यकता देखिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।