रूससँगको युद्धमा युक्रेन हिउँदसम्म टिकिरहन सक्ला ?

क्षति बढ्दै जाँदा र ऊर्जा संकट गहिरिँदै जाँदा युक्रेनप्रति वासिङ्टनको स्थिति अझै अस्पष्ट छ

हिउँद नजिकिँदै गर्दा रूसले डिजेल निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ र संयुक्त राज्य अमेरिका तथा अन्य देशहरूलाई लाखौँ टन डिजेल बेच्ने तयारी गरिरहेको छ ।

डिजेल बिक्रीको कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच भएको सहमतिको एक हिस्सा हो, जसको फलस्वरूप अमेरिकी अर्थ मन्त्रालयले रुसी इन्धनमाथिको प्रतिबन्ध फुकाएको छ ।

रूस र अमेरिका बिचको सम्झौता ऊर्जा आपूर्ति र मूल्यलाई लिएर विश्वव्यापी रूपमा बढ्दै गएको संकटबिच भएको हो । ट्रम्पका लागि अझ महत्वपूर्ण कुरा के हो भने उनले अमेरिकी मध्यावधि निर्वाचनभन्दा केही हप्ताअघि मात्र यसको घोषणा गरे, जसमा उनको रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा आफ्नो बहुमत गुमाउने जोखिम छ । सम्झौताको मुख्य महत्व राजनीतिक छ । ट्रम्पलाई अमेरिकी मतदाताहरूसामु उनीहरूको हेरचाह गरिरहेको देखिनु अत्यावश्यक छ ।

ट्रम्प पुटिनकहाँ पुग्नु र पुटिन उनलाई सहयोग गर्ने स्थितिमा हुनुले विश्वव्यापी ऊर्जा बजारमा रूसको निर्णायक भूमिकालाई दर्शाउँछ । तर यसले आन्तरिक हित पूरा गर्नका लागि संकटको समयमा एउटा सहयोगी/क्लाइन्टलाई पन्छाउन ह्वाइट हाउस तयार छ भन्ने कुरा पनि उजागर गरेको छ । यो सम्झौता युक्रेन युद्धप्रति अमेरिकी दृष्टिकोणमा एउटा नयाँ मोड हो वा होइन भन्ने कुरा अझै स्पष्ट छैन ।

गत वर्षको एन्कोरेज समझदारीको हानीले यसलाई सावधानीपूर्वक हेर्नुपर्छ भन्ने संकेत गर्छ । सम्झौतापछि ट्रम्पले अचानक ऊर्जा युद्धविरामको चर्चा गर्नु, जुन रूसका लागि अस्वीकार्य छ, अमेरिकी राष्ट्रपतिले मस्कोतर्फको कदमलाई किभ र युरोपेलीहरूलाई आश्वस्त पार्ने अर्को कदमसँग सन्तुलित गर्न खोजेजस्तो देखिन्छ । जेहोस्, वासिङ्टनको यो अस्पष्ट स्थितिले ऊर्जा संकट र लगातारको क्षतिसँग जुधिरहेका युक्रेन र उसका युरोपेली सहयोगीहरूलाई मद्दत गरिरहेको छैन । यो द्वन्द्व यसको सुरुआतदेखि नै युद्धभूमिमा के हुन्छ भन्ने कुराभन्दा धेरै बढी विषयमा आधारित छ ।

जब अमेरिका नेतृत्वको पश्चिमले सन् २०२२ को वसन्तमा रूसको रणनीतिक पराजयलाई आफ्नो प्रमुख लक्ष्य घोषणा गर्‍यो, उसले आशा गरेको थियो कि पश्चिमी प्रतिबन्धहरूले तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले भनेझैँ रुबललाई भग्नावशेषमा परिणत गर्नेछ र रुसी अर्थतन्त्रलाई छिन्नभिन्न बनाउनेछ, जसको अन्तिम परिणति रूसको सैन्य पतनमा हुनेछ । तर यसले काम गरेन । अहिले युक्रेन र उसका युरोपेली सहयोगीहरूले अर्को कठिन हिउँदको सामना गरिरहेका छन्, जसले क्षयको युद्ध जारी राख्न उनीहरूको सहनशीलताको परीक्षा लिनेछ ।

रुसी भूभागको गहिराइमा रहेका लक्ष्यहरूमाथि भारी हवाई आक्रमणमार्फत स्थिति उत्तेजित पार्ने उनीहरूको रणनीतिले पनि काम गरेन । आशा यो थियो कि सर्वसाधारण रुसी नागरिकहरू युद्धबाट प्रत्यक्ष प्रभावित भएपछि सडकमा उत्रिनेछन् र क्रेमलिनलाई युद्धविराममा सहमत हुन बाध्य पार्नेछन्, जसले युक्रेनलाई धेरै आवश्यक राहत दिनेछ । तर नतिजा भने ठीक उल्टो भयो, क्रेमलिनका नीतिहरूका लागि बढी समर्थन जुट्यो, कम होइन । अभियानको बदलामा जसको लागत रूसको कुल गार्हस्थ्य उत्पादनको १ प्रतिशत परेको पुटिनले स्वीकार गर्नुभयो, रुसी सेनाले आफ्नै अभियान सुरु गरेको छ । यसले आफ्ना केही स्वआरोपित संयमहरू त्यागेको छ र अहिलेसम्म जोगिँदै आएका लक्ष्यहरू जस्तैः युक्रेनबाट सामान ओसारपसार गर्ने जहाजहरू, निपर नदीका पुलहरू र डाटा सेन्टरहरूमा प्रहार गर्न थालेको छ ।

केही पर्यवेक्षकहरूले प्रश्न गरेका छन् कि रूसका लागि यो तनाव कम गर्नका लागि तनाव बढाउने एउटा तरिका हो कि ६–९ महिनाको तीव्र हवाई युद्ध र जमिनमा अगाडि बढ्ने क्रम जसले यो द्वन्द्वलाई अन्त्यतिर लैजान सक्छ ।
वास्तवमै युक्रेनको अर्थतन्त्रले गम्भीर क्षति व्यहोरिरहेको छ । यसका ‘ब्ल्याक’ सागरका बन्दरगाहहरूले अब यसको गहुँ निर्यात सम्हाल्न सक्दैननद्, देशको स्टिल उद्योगले उत्पादन ठप्प पारेको छ, सञ्चालनयोग्य इन्जिनको अभावमा रेल लजिस्टिक प्रभावित भएको छ ।

यसैबिच किभ केवल दैनिक मात्र नभई व्यावहारिक रूपमा २४ घण्टै ड्रोन र क्षेप्यास्त्र आक्रमणको सिकार भइरहेको छ । आउँदो हिउँदका लागि युक्रेनी राजधानीको परिदृश्य भयावह छ । स्थानीय अधिकारीहरूले बासिन्दाहरूलाई सहर छाड्न आग्रह गर्न थालेका छन् । किनभने तताउने वैकल्पिक व्यवस्था र खाना तथा पानीको भण्डारण चिसो महिनाहरू पार गर्नका लागि पर्याप्त नहुन सक्छ । तैपनि युक्रेनी नेता भोलोडिमिर जेलेन्स्की पहिलेझैँ विद्रोही अडानमै हुनुहुन्छ । उहाँका लागि पछि हट्ने कुनै बाटो छैन । यदि उहाँ डोनेट्स्कको बाँकी भागबाट युक्रेनी फौज फिर्ता बोलाउन सहमत हुनुभयो भने जस्तो कि पुटिनले माग गर्नुभएको छ, उहाँले आफ्नो ज्यानकै डर मान्नुपर्छ । यदि युक्रेनमा नयाँ राष्ट्रपतीय निर्वाचन भयो भने उहाँले पक्कै पनि हार्नुहुनेछ । एकपटक उहाँले हारेपछि, उहाँका संरक्षकहरूले उहाँलाई पन्छाउनेछन्, ठ्याक्कै जस्तै उनीहरूले जर्जियाका पूर्व राष्ट्रपति मिखाइल साकाशभिलीजस्ता व्यक्तिहरूलाई गरे, जो अहिले तिबिलिसीको जेलमा सजाय काटिरहेका छन् ।

युक्रेनी राजनीतिज्ञहरू पछिल्लो समय अलि अशान्त भएका छन् । तर उनीहरू युद्ध र शान्तिको मुद्दामा जेलेन्स्कीसँगको एकता तोडिरहेका छैनन् । स्वदेशका राष्ट्रवादीहरू र पश्चिमका दाताहरू लडाइँ जारी रहने कुरामा दृढ छन् ।
विशेषगरी युरोपका लागि यो युद्ध युक्रेनका बारेमा होइन । यो रूसका बारेमा हो । पूर्व सोभियत संघको दोस्रो ठूलो गणराज्य रहेको मुलुकलाई युरोपको ऐतिहासिक प्रतिस्पर्धी रूसलाई कमजोर पार्न प्रयोग गर्ने वर्तमान अवसर गुमाउनका लागि धेरै राम्रो छ । किभको आधा बजेट व्यहोर्ने युरोपले सोचेको देखिन्छ कि उसले ‘अन्तिम युक्रेनी रहेसम्म’ लडाइँ जारी राख्न सक्छ, यस आशामा कि उसले अझ बढी रुसीहरूलाई मार्न सक्छ र यसरी उनीहरूको देशलाई पङ्गु बनाउन सक्छ ।
यो कथित रूपमा आसन्न रुसी खतरालाई कम आँक्नका लागि होइन, जुन एउटा नक्कली त्रास मात्र हो । रूस ठ्याक्कै त्यहीँ ढोका अगाडिको शत्रु हो, जुन युरोपेली युनियनलाई आफूलाई एकजुट राख्न आवश्यक छ । ‘मिलिटरी केन्सियानिज्म’ (सैन्य अर्थशास्त्र) अर्थतन्त्रलाई पुनः चलायमान बनाउने एउटा तरिका हो र राजनीतिक प्रतिस्पर्धीहरूलाई ‘पुटिनका एजेन्ट’को ठप्पा लगाउनु चरम सीमासम्म सुविधाजनक छ।

यसबाहेक धेरै युरोपेली युनियन र नेटो सदस्यहरू गुप्त रूपमा ऐतिहासिक प्रतिशोध खोजिरहेका छन्, जर्मनी सन् १९४५ मा हिटलरको पराजयको लागि, पोल्यान्ड यसका धेरै विभाजनहरूका लागि, स्विडेन रूसले यसको महान् शक्तिको हैसियत अन्त्य गरिदिएकोमा, ब्रिटेन आफ्नो साम्राज्य गुमेकोमा इत्यादि । अन्ततः किभमा करोडौँ डलर लगानी गरिसकेपछि युरोपले युक्रेनमा तबसम्म हार मान्ने छैन, जबसम्म यसको वित्तीय र राजनीतिक क्षतिले यसको युक्रेनी प्रतिनिधिको उपयोगितालाई जित्दैन । वा सन् १९६२ को क्युबाली क्षेप्यास्त्र संकटको कुनै रूपले उनीहरूलाई होसमा ल्याउँदैन । यो युद्धमा रूसको परीक्षण गरिएको सहनशीलता सामग्रीको हिसाबले युक्रेनभन्दा र गैरसामग्रीको हिसाबले युरोपभन्दा श्रेष्ठ छ, जसले सम्भवतः भविष्यमा के हुन्छ भन्ने कुराको निर्धारण गर्नेछ ।

सम्भावना के छ भने युक्रेन र युरोप दुवै यो आउँदो हिउँदमा टिकिरहनेछन्, सबै क्षति, अभाव र कष्टहरूका बाबजुद । उनीहरू अर्को दिन लड्नका लागि बाँच्नेछन्, अर्थात् १ वा २ वर्ष (वा अझ कम, जस्तो कि पुटिनले हालै सुझाव दिनुभएको छ) तर अन्त्यमा किभ हार्न बाध्य छ र युरोपले एउटा बाँकी रहेको सानो युक्रेनी राज्यको अस्तित्वलाई नै एक प्रकारको विजयको नाटक गर्दै अनिच्छापूर्वक आफ्नो क्लाइन्टको पराजयलाई स्वीकार्नुपर्नेछ । (अलजजिराबाट भावानुवाद)

 प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।