‘इल प्लुट डेस कोर्डेस’ । फ्रान्सेलीहरू अत्यधिक पानी पर्दा यो उखान प्रयोग गर्छन् । यसको प्रत्यक्ष अनुवाद ‘मुसलधारे वर्षा भइरहेछ’ भन्ने हुन्छ । यो यस्तो प्रकारको उखान हो जसले एआई अनुवादकलाई अल्मल्याउन सक्छ ।
‘यसले एआईलाई कस्तो दोधारमा पार्छ, तपाईं कल्पना गर्न सक्नुहुन्छ,’ फ्रान्सको वैज्ञानिक अनुसन्धानसम्बन्धी राष्ट्रिय केन्द्र ‘सीएनआरएस’का स्वचालित अनुवाद विशेषज्ञ अनुसन्धान निर्देशक फ्राँस्वा इभोन भन्छन् ।
उनी भन्छन्, ‘राम्रोसँग प्रशिक्षित प्रणालीले आकाशबाट साँच्चै डोरीहरू खसिरहेका छैनन् भन्ने कुरा बुझ्छ र अंग्रेजी उखान ‘इट्स रेनिङ क्याट्स एन्ड डग्स’ (अत्यधिक पानी पर्नु) को प्रयोग गर्छ । तर जब यसलाई इन्डोनेसियाली भाषामा अनुवाद गरिन्छ, के यसले त्यसको समतुल्य शब्द भेट्टाउला त ?’
मौसमका बारेमा टिप्पणी गर्नु त कम जोखिमयुक्त कुरा हो । तर धेरैभन्दा धेरै अनुवादहरू मशिनद्वारा भइरहेका छन् र ती मौसमभन्दा उच्च जोखिम भएका विषयहरूमा आधारित छन् । गत अप्रिलमा गूगलले मानिसहरूले अहिले ‘गूगल ट्रान्सलेट’मार्फत प्रतिमहिना १० खर्ब (वन ट्रिलियन) शब्दहरू अनुवाद गरिरहेको बताएको थियो । यसमा अन्य सुविधाहरू समावेश छैनन्ः जस्तैः डिपएल, माइक्रोसफ्ट, क्लोड, च्याटजीपिटी र जेमिनी कम्पनीहरूका लागि खास रूपमा बनाइएका संस्थागत अनुवाद प्रणालीहरूको त कुरै छाडौँ ।
मशिन अनुवादको प्रत्यक्ष बिक्री (अर्थात् साधारण एआई सदस्यता बाहेक) गत वर्ष अनुमानित १ अर्ब ४० करोड डलर (१ अर्ब पाउन्ड) बराबरको थियो । ‘धेरैजसो प्रयोगका लागि कच्चा एआई अनुवाद नै अहिले सही विकल्प होः यदि तपाईं आन्तरिक कागजातहरू वा उत्पादनका सूचीहरू अनुवाद गर्दै हुनुहुन्छ भने अन्तिम केही प्रतिशत गल्तीहरू समात्नका लागि आफ्नो लागतलाई १०० गुणाले बढाउनु तर्कसङ्गत हुँदैन,’ विकिपिडियाका लेखहरूलाई अन्य भाषाहरूमा अनुवाद गर्ने स्विट्जरल्यान्डको गैरनाफामूलक संस्था ‘ओकेए’ (ओपन नलेज एसोसिएसन) का संस्थापक जोन जिमरम्यान भन्छन् ।
‘एउटा ज्ञानकोश (विश्वकोश) का लागि भने यो फरक कुरा हो । विकिपिडिया विश्वासमा चल्छ । एउटा गलत तथ्य वर्षौंसम्म त्यहाँ रहन सक्छ र पत्रकार तथा एआई प्रणालीहरूद्वारा उद्धृत हुन सक्छ,’ उनी भन्छन् ।
मुख्यतया स्प्यानि, पोर्चुगाली र अंग्रेजीमा गरी १० हजारभन्दा बढी प्रकाशित सामग्रीहरूसहित ‘ओकेए’ सहकार्यत्मक अनलाइन ज्ञानकोशमा अनुवादित लेखहरूको सबैभन्दा ठूलो एकल योगदानकर्ता भएको जिमरम्यान बताउँछन् । यो यस्तो कुरा हो, जुन एआई बिना संस्था कुनै पनि हालतमा बन्न सक्ने थिएन ।
‘परम्परागत तरिकाले १० हजार लेखहरू अनुवाद गर्दा लाखौँ डलर खर्च हुनेछ । हाम्रो प्रक्रियामा एआईले मस्यौदा तयार पार्छ, त्यसपछि एक मानव अनुवादकले प्रत्येक वाक्य जाँच गर्छ,’ उनी व्याख्या गर्छन् । तर त्यो मानवीय योगदानको आवश्यकता दिनप्रतिदिन घट्दै गएको छ ।
‘मशिनको नतिजा अहिले यति राम्रो भइसकेको छ कि मानिसलाई पूर्णरूपमा पन्छाउनु एउटा गम्भीर विकल्प र सिङ्गो उद्योगभरिकै लागि एउटा वास्तविक लोभ बनेको छ । २–३ वर्षअघि ‘डिपएल’ जस्ता औजारहरूसँग हाम्रा अनुवादकहरूले अझै पनि हरेक मस्यौदाको ठूलो हिस्सा पुनः लेख्ने गर्थे । ‘आजकल गद्यलाई सच्याउनैपर्ने आवश्यकता प्रायः हुँदैन । त्यसैले प्रश्न अब एआई अनुवाद राम्रो छ कि छैन भन्ने होइन, यो स्पष्ट रूपमा राम्रो छ तर प्रश्न त के यो मानिसलाई हटाउनका लागि पर्याप्त छ त भन्ने हो,’ जिमरम्यान भन्छन् ।
अझै भइसकेको छैन, अनुवादकहरू तर्क गर्छन् । आरिएला बाल्टिए अदालतका कागजातहरू अंग्रेजीबाट फ्रान्सेलीमा अनुवाद गर्नमा विशेषज्ञता हासिल गरेकी एक अनुवादक तथा कानुनी विशेषज्ञ हुन् । उनलाई हालै एक व्यक्तिले सम्पर्क गरे, जसले एआईबाट आफ्ना कागजातहरू पहिल्यै अनुवाद गरिसकेका थिए र उनलाई ती जाँच गरिदिन आग्रह गरिरहेका थिए ।
‘सुरुवातमै २ वटा ठूला गल्तीहरू थिए,’ उनले भनिन् । एआईले ‘ल देमान्दोर’ (वादी/मुद्दा हाल्ने व्यक्ति) लाई ‘द रिक्वेस्टर’ (मागकर्ता) भनेर अनुवाद गरेको थियो । ‘कानुनी कागजातका लागि यो पूर्णरूपमा अस्वाभाविक हो,’ बाल्टिए भन्छिन् ।
कानुनी क्षेत्रमा गलत अनुवादको परिणाम गम्भीर हुन सक्छ । उदाहरणका लागि अमेरिकामा मशिनबाट अनुवाद गरिएका शरणार्थी आवेदनहरूमा भएका गल्तीहरूका कारण थुनामा रहेका मानिसहरूको रिहाइमा ढिलाइ भएको छ ।
चिकित्सा क्षेत्रमा भने शुद्धता जीवन र मरणको विषय हो । ‘खुराक र रगत परीक्षणका एकाइहरूमा प्रायः ग्रीक अक्षरहरू समावेश हुन्छन्,’ चिकित्सा अनुवादकी विशेषज्ञ क्यारोल बेरुटर भन्छिन् ।
उनी एउटा स्वचालित रूपमा अनुवाद गरिएको पाठको सम्पर्कमा आइन्, जसले ग्रीक अक्षर माइक्रोलाई एक हजारौँ भाग भनेर अनुवाद गरेको थियो, जबकि त्यो एक लाखौँ भाग हुनुपर्थ्यो । ‘त्यो एउटा गम्भीर गल्ती हो। यदि तपाईंले कसैलाई एक माइक्रोग्राम दिनुपर्ने ठाउँमा एक मिलिग्राम दिनुभयो भने तपाईंले उनीहरूलाई तोकिएकोभन्दा हजार गुणा बढी खुराक दिइरहनुभएको हुन्छ,’ बेरुटर औँल्याउँछिन् ।
उनी यो कुरामा पनि जोड दिन्छिन् कि एआई अनुवादकहरू जति राम्रा हुँदै गएका छन्, गल्तीहरू पत्ता लगाउन उति नै गाह्रो हुँदै गएको छ । ‘जबकि विगतमा गूगल ट्रान्सलेट जस्ता चीजहरूमा वाक्य व्याकरणको गल्ती वा अस्वाभाविक सुनिएकै कारण तुरुन्तै आँखामा बिझाउँथ्यो, आज यो पूर्णरूपमा वैध सुनिन्छ । यो प्रवाहपूर्ण सुनिन्छ । यो प्राकृतिक सुनिन्छ । त्यसैले गल्तीहरू पत्ता लगाउन धेरै गाह्रो छ ।’
‘यदि यो त्यस्तो चीज हो, जसमा तपाईंको हस्ताक्षर हुनेछ भने त्यहाँ तपाईंको प्रतिष्ठाका लागि जोखिम हुन्छ र यदि कुनै चिकित्सा प्रक्रिया, तपाईंले हस्ताक्षर गर्न सक्ने सम्झौता वा तपाईंले गर्न सक्ने ठूलो खरिदका सम्बन्धमा अनुवादको आधारमा निर्णयहरू लिन लागिएको छ भने जोखिम झनै बढी हुन्छ,’ फ्राँस्वा इभोन चेतावनी दिन्छन्, ‘मानिसका लागि एकदमै स्पष्ट देखिने वाक्यहरूले पनि एआई सेवालाई अल्मल्याउन सक्छ ।’
‘जब तपाईंसँग फरक–फरक अर्थ भएका शब्दहरू हुन्छन्, मानिसका लागि कुन अर्थ लाग्छ भन्ने कुरा सामान्यतया धेरै स्पष्ट हुन्छ । किनभने उनीहरूले सन्दर्भ बुझ्छन् । तर जब मशिन अनुवादकले ‘ट्रान्सलेट इन्टु पोलिस’ (पोलिस भाषामा अनुवाद गर्नुहोस्) भन्ने वाक्य भेट्छ, यसले यो जुत्ताको पोलिसको बारेमा हो भन्ने निर्णय गर्न सक्छ,’ इभोन भन्छन् ।
सन्दर्भ प्रायः निर्णायक हुन्छ । यदि एआई अनुवादकले हामी फूटबल खेलको बारेमा कुरा गरिरहेका छौँ भन्ने कुरा बुझेको छैन भने यसले ‘टेकिङ अ कर्नर’ (कुनाबाट किक हान्नु) को गलत अनुवाद गर्ने सम्भावना रहन्छ । गत वर्ष ‘ओकेए’ले विकिमिडियाद्वारा वित्तपोषित एउटा अध्ययन सञ्चालन गरेको थियो । यसले ११९ लेखहरू, १० वटा भाषा जोडीहरू र १ हजार घण्टाभन्दा बढी अनुवादकको कामको अध्ययन गरेको थियो ।
‘एआई–जनरेटेड पाठको २७ प्रतिशत भाग अझै पनि प्रकाशन अघि सच्याइयो । ती सुधारहरूमध्ये तीनचौथाइ एआईले ल्याएका गल्तीहरू थिए र ५–६ प्रतिशत गल्तीहरूले मूल पाठको अर्थ नै परिमार्जन गरिदिएका थिए,’ जिमरम्यान भन्छन् ।
ती गल्तीहरूलाई पूर्णरूपमा उन्मूलन गर्नु चुनौतीपूर्ण हुने सम्भावना छ । ‘अहिलेको स्थितिमा मलाई लाग्छ कि यी प्रणालीहरूले काम गर्ने आधारभूत तरिकाले गर्दा नै उनीहरू कसरी १०० प्रतिशत भरपर्दो हुन सक्छन् भनेर कल्पना गर्न निकै गाह्रो छ,’ फ्राँस्वा इभोन भन्छन् ।
किनभने सम्भाव्यता नै एआईले अर्को शब्दको सट्टा कुनै एक शब्द कसरी अनुवाद गर्छ भन्ने कुराको एक महत्वपूर्ण भाग हो र जुन कुरा सम्भावित रूपमा सही छ, त्यो पूर्ण रूपमा सही कुरासँग समान हुँदैन । विशेषगरी भाषा जस्तो सूक्ष्म र आश्चर्यजनक विषयको क्षेत्रमा ।उनी प्रविधिको नयाँ पुस्ता एउटा सुधार हुनेछ भन्ने सोच्छन् । ‘हामी यस्ता अनुवाद प्रणालीहरू देख्नेछौँ, जुन आफूले गरेको कामको मूल्यांकन गर्न र एकैसाथ विभिन्न एआई औजारहरूको प्रयोग गरी आफूलाई सच्याउन झनै सक्षम हुनेछन्ः उदाहरणका लागि एउटा अनुवाद गर्नका लागि, दोस्रो त्यसको आलोचना गर्नका लागि र तेस्रो नयाँ संस्करण तयार पार्नका लागि ।’
तर सायद सबैभन्दा ठूलो क्षण तब हुनेछ, जब एआईले शंका वा द्विविधा देखाउन सक्नेछ । ‘वास्तविक सफलता तबसम्म मिल्ने छैन, जबसम्म यी प्रणालीहरू केवल अनुवाद गर्न मात्र होइन, उनीहरू निश्चित नभएको बेला हामीलाई भन्न पनि सक्षम हुने छैनन्,’ इभोन भन्छन् । (बीबीसी)
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































