भोजपुर । कुनै समय भोजपुरका गाउँघरमा घरायसी प्रयोजनदेखि धार्मिक तथा सांस्कृतिक कार्यसम्म माटाका भाँडाको प्रयोग व्यापक थियो ।
गाग्री, हाँडी, घैँटो र धुपौरो जस्ता सामग्री घरका अत्यावश्यक वस्तु मानिन्थे । तर, समयसँगै जीवनशैली फेरिँदै जाँदा यी सामग्री गाउँघरबाट हराउन थालेका छन् । माटाका भाँडाको प्रयोग घटेसँगै तिनलाई बनाउने परम्परागत सीपसमेत संकटमा परेको छ ।
नयाँ पुस्तामा पुर्ख्यौली सीपप्रति चासो घट्नु र परम्परागत कला सिक्ने क्रम कमजोर हुँदै जानुले माटाका भाँडा बनाउने चलन लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । पहिले घरघरमा देखिने माटाका सामग्री अहिले कमै मात्र भेटिन थालेका छन् । तिनको ठाउँ प्लास्टिक, स्टिललगायत आधुनिक सामग्रीले लिन थालेका छन् ।
माटाका भाँडा केवल दैनिक जीवनमा प्रयोग हुने सामग्री मात्र थिएनन्, गाउँघरको मौलिक जीवनशैली, संस्कृति र परम्पराका परिचायक पनि थिए । तर, प्रयोगमा आएको परिवर्तनसँगै ती सामग्री बनाउने सीप र त्यससँग जोडिएको ज्ञानसमेत नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन ।
अरुण गाउँपालिका–७ का स्थानीय लक्ष्मीप्रसाद अधिकारीका अनुसार नयाँ पुस्तामा सीप हस्तान्तरण हुन नसक्दा माटाका भाँडा बनाउने परम्परागत पेसा संकटमा परेको हो । पुर्खाले अपनाउँदै आएको सीपलाई निरन्तरता दिने व्यक्ति घट्दै जाँदा यसको अस्तित्व नै जोखिममा परेको उनको भनाइ छ ।
माटाका भाँडा तयार पार्ने काम सहज छैन । उपयुक्त माटो छनोट गर्ने, त्यसलाई आवश्यकताअनुसार मुछ्ने, विभिन्न आकारमा ढाल्ने र प्रयोग गर्न मिल्ने बनाउनेसम्मका प्रक्रिया पूरा गर्नुपर्छ । यसका लागि सीप, अनुभव, धैर्य र समय आवश्यक हुन्छ । लामो अभ्यासबाट हासिल हुने यही सीप सिक्न नयाँ पुस्ताले चासो नदेखाउँदा परम्परागत कला ओझेलमा पर्दै गएको अधिकारी बताउँछन् ।
रामप्रसादराई गाउँपालिका–८ का स्थानीय रुपमान श्रेष्ठ पनि माटाका सामग्रीको प्रयोग घट्दै जाँदा तिनलाई बनाउने सीपसँगै त्यसमा जोडिएको मौलिक संस्कृति हराउने जोखिम बढेको बताउँछन् ।
उनका अनुसार परम्परागत सीपको संरक्षणका लागि स्थानीयस्तरमै नयाँ पुस्तालाई सिक्ने अवसर दिनु आवश्यक छ । माटाका भाँडाको महत्व, तिनको प्रयोग र निर्माण प्रक्रियाबारे जानकारी गराउँदै परम्परागत सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्न सके यसलाई जोगाउन सहयोग पुग्ने उनको भनाइ छ ।
माटाका भाँडाको प्रयोग घट्नु आधुनिक जीवनशैलीमा आएको परिवर्तनको एउटा पक्ष भए पनि यससँगै पुर्खाबाट प्राप्त सीप र सांस्कृतिक पहिचान गुम्ने जोखिम पनि उत्तिकै छ । त्यसैले यस्ता परम्परागत सीपलाई नयाँ पुस्तासम्म पुर्याउने, स्थानीयस्तरमा यसको महत्वबारे चेतना फैलाउने र प्रयोगलाई प्रोत्साहन गर्ने प्रयास आवश्यक देखिन्छ ।
समयसँगै सामग्री फेरिनु स्वाभाविक भए पनि तिनको निर्माणसँग जोडिएको ज्ञान र कला हराउनु सांस्कृतिक क्षति हो । भोजपुरका गाउँघरमा कुनै समय दैनिक जीवनको अभिन्न हिस्सा बनेका गाग्री, हाँडी र घैँटोजस्ता माटाका सामग्रीको संरक्षणसँगै तिनलाई बनाउने पुर्ख्यौली सीपलाई जीवित राख्नु अहिलेको चुनौती बनेको छ ।



































