दुई दिन अष्टमी परेपछि नवौँ दिन पनि महाअष्टमीको विधि

काठमाडौँ । यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले नवौँ दिन पनि महाअष्टमीकै विधिअनुसार पूजा, आराधना तथा अन्य धार्मिक कर्म गर्नुपर्ने भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएकाले यस्तो व्यवस्था गरिएको हो ।

समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको महाअष्टमीको पूजा तथा कर्म कात्तिक २ गते पनि दोहोर्‍याउनुपर्छ । नवरात्रको नवौँ दिन भए पनि तिथि वृद्धिका कारण दशैँ घर तथा पूजा कोठामा महाअष्टमीकै विधि अपनाउनुपर्ने उनले बताए ।

नवरात्रको नवौँ दिन नवदुर्गामध्ये आठौँ देवी महागौरीको पूजा आराधना गर्नुपर्नेछ । अघिल्लो दिन गरिएका महाअष्टमीसम्बन्धी धार्मिक कर्मलाई पनि सोमबार निरन्तरता दिनुपर्ने धर्मशास्त्रविद्हरूको भनाइ छ । यद्यपि, आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गतेकै राति गर्नुपर्ने समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ ।

अष्टमी तिथि दुई दिन परेकाले यस वर्षको नवरात्र दस रात्रिको हुने भएको छ । विजयादशमीका दिन मान्यजनबाट टीका लगाउँदा दस रात्रिका जमरा लगाउने परम्परा रहनेछ । देवीको साधना, पूजा तथा आराधना एक दिन बढी गर्दा धार्मिक विधिमा कुनै फरक नपर्ने धर्मशास्त्रविद्हरू बताउँछन् ।

हनुमानढोकामा सोमबार राति कालरात्रि पूजा

राज्यका तर्फबाट हनुमानढोका दरबारमा गरिने कालरात्रि पूजा भने सोमबार राति गरिने भएको छ । हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँगको परामर्श तथा तलेजुका पुजारीले गर्ने परम्परालाई ध्यानमा राखेर कात्तिक २ गते राति पूजा गर्ने निर्णय गरिएको हो ।

हनुमानढोका दरबारमा महाअष्टमीको कर्म सम्पन्न गरेलगत्तै अर्को दिन महानवमीको पूजा तथा आराधनालगायत धार्मिक कर्म गर्ने परम्परा रहेकाले कालरात्रि पूजाको समय निर्धारण गरिएको प्रधानले जानकारी दिइन् ।

दरबार हेरचाह अड्डाका अनुसार कात्तिक १ गते आइतबार हनुमानढोका दरबारको दशैँ घरमा महाअष्टमीको सामान्य पूजा गरिएको थियो । मुख्य पूजा भने सोमबार गरिनेछ । महाअष्टमीको राति हनुमानढोका दरबारमा १०८ पशु बलिसहित पूजा तथा आराधना गर्ने परम्परा रहँदै आएको छ ।