काठमाडौँ । आश्विन शुक्ल नवमीका अवसरमा आज देशभर महानवमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । नवदुर्गा भगवतीको विशेष पूजा आराधना, शक्तिपीठमा दर्शन तथा विभिन्न धार्मिक अनुष्ठान गरी यो पर्व मनाउने परम्परा छ ।
महानवमीका दिन घटस्थापनामा राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाउने गरिन्छ । दसैँघर, कोत तथा राज्यका विभिन्न देवी मन्दिरमा दुर्गा भवानीको विशेष पूजा आराधना गरिन्छ । यस अवसरमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा देवी स्तोत्र पाठ गर्ने चलन छ । कतिपय स्थानमा बोका, हाँस, कुखुरा र राँगाको बलि दिएरसमेत पूजा गरिन्छ ।
पशुबलि नदिने तथा शाकाहारी भक्तजनले कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल बलिका रूपमा चढाउने गर्छन् । देवीलाई पायस अर्पण गर्ने परम्परा पनि छ । कतिपय स्थानमा महाअष्टमीका दिन बलि दिने र महानवमीका दिन मार हान्ने चलन रहिआएको छ भने केही शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिइन्छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमीकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसको वध गरेकी थिइन् । यही धार्मिक मान्यताका कारण महानवमीलाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।
नवरात्रको अन्तिम दिन आज देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ । घटस्थापनाका दिन स्थापना गरिएको जमरा राखिएको पूजा कोठा वा दसैँघरमा नवदुर्गामध्ये नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा गरिन्छ । यस दिन दुर्गाको प्रतीकका रूपमा कन्याको पूजा गरी दक्षिणा दिने परम्परा पनि छ । साथै, महाकाली, महालक्ष्मी र महासरस्वतीको समेत विशेष पूजा आराधना गरिन्छ ।
महानवमीका अवसरमा विभिन्न कोतमा हर्षबढाइँसहित कोतपूजा तथा निशानापूजा गर्ने प्रचलन छ । हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा तथा कोतपूजा गरिन्छ । यी धार्मिक तथा सांस्कृतिक परम्पराले महानवमी पर्वको ऐतिहासिक र सांस्कृतिक महत्त्वलाई झल्काउँछन् ।



































