मुस्ताङ । पोखरा–जोमसोम रुटमा सञ्चालन हुँदै आएको नियमित हवाई सेवा स्थगित भएको छ ।
यस मार्गमा उडान गर्दै आएका निजी वायुसेवा कम्पनी तारा एयर र समिट एयरले पर्यटकीय याम पूरा नहुँदै नियमित उडान बन्द गरेका हुन् ।
जोमसोमस्थित नागरिक उड्डयन कार्यालयका प्रमुख विश्वराज शर्माका अनुसार तारा एयरले अघिल्लो साता र समिट एयरले सोमबारदेखि नियमित उडान स्थगित गरेका हुन् ।
मुस्ताङमा बर्सेनि दुई पर्यटकीय याममा तारा एयर र समिट एयरले १८ सिट क्षमताका जहाजमार्फत पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गर्दै आएका थिए । सामान्यतया अगस्टदेखि नोभेम्बरसम्म यस मार्गमा नियमित उडान हुने गरेको छ ।
प्रमुख शर्माका अनुसार तारा एयरका तीनवटा जहाजमध्ये एउटा मर्मतमा रहेकाले उडान व्यवस्थापनमा प्रभाव परेको छ । त्यस्तै, समिट एयरका चारवटा जहाजमध्ये एउटा जहाज पनि मर्मतका लागि लैजाने तयारी भइरहेको छ ।
समिट एयरका जोमसोमस्थित स्टेशन इन्चार्ज सुमन थकालीले यात्रु बुकिङ रद्द हुने क्रम बढेपछि नियमित उडान स्थगित गर्नुपरेको बताए । उनका अनुसार रसुवामा भएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडकमार्ग अवरुद्ध हुने घटनाले यात्रुको आवागमन र बुकिङमा असर पारेको छ ।
नियमित उडान स्थगित भए पनि चार्टर उडान भने सञ्चालनमै रहने थकालीले जानकारी दिए ।
तारा एयर र समिट एयरले यस मार्गमा बर्सेनि एक हजार दुई सयभन्दा बढी नियमित उडान गर्दै आएका छन् । पोखरा–जोमसोम हवाई सेवा मुस्ताङको पर्यटन तथा यात्रु आवागमनका लागि महत्त्वपूर्ण मानिन्छ । नियमित उडान समयअगावै बन्द हुँदा यस क्षेत्रको हवाई यातायातमा असर पर्ने देखिएको छ ।



































