म्याग्दी । बाढीपहिरोका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक मर्मतपछि सञ्चालनमा आएसँगै म्याग्दीका प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको आगमन बढ्न थालेको छ ।
दसैँको टीकापछि अनुकूल मौसम र सडक यातायात सहज बनेकाले आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।
घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ्ग–तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से झरना र गलेश्वरलगायत पर्यटकीय क्षेत्रमा बिहीबारदेखि पर्यटकको आवागमन बढ्न थालेको स्थानीय व्यवसायीले बताएका छन् ।
बेनी नगरपालिका–९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यका अनुसार दसैँको टीकापछि पर्यटक आगमनमा सुधार देखिएको छ । असोजको दोस्रो सातामा कालीगण्डकी नदीमा आएको बाढीका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा पर्यटक आगमन लगभग ठप्प भएको उनले बताए ।
“सडक मर्मतपछि मुस्ताङसम्म यातायात सञ्चालन हुन थालेको छ । दसैँ र तिहारबीचको अवधिमा पर्यटक बढ्ने र सुस्ताएको व्यापार व्यवसाय चलायमान हुने अपेक्षा गरेका छौँ,” आचार्यले भने ।
असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि पहिरो र कालीगण्डकीको बाढीका कारण अवरुद्ध बेनी–जोमसोम सडकको म्याग्दी खण्ड मर्मत गरेर असोजको अन्तिम सातादेखि सञ्चालनमा ल्याइएको हो । विगतका तथ्याङ्कअनुसार असोज र कात्तिक म्याग्दीमा विदेशी पर्यटकको आगमन बढी हुने समय हो ।
घोडेपानी–पुनहिल पदमार्गमा पर्यटकको प्रतीक्षा
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानीमा पनि पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ । घोडेपानीका होटल व्यवसायी तथा अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बाढीपहिरोका कारण विगतका वर्षको तुलनामा विदेशी पर्यटक कम आउने सम्भावना रहे पनि दसैँ–तिहारको बिदामा आन्तरिक पर्यटक बढ्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार घोडेपानी–पुनहिल–घान्द्रुक पदमार्ग सुरक्षित छ । बाढीपहिरोबाट क्षति पुगेका सडक तथा पदमार्ग मर्मत गरी आवागमन सहज बनाइएकाले पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ ।
घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय, हिमशृङ्खलाको दृश्यावलोकन र पदयात्राका लागि प्रसिद्ध गन्तव्य हो ।
तातोपानी कुण्ड र अन्नपूर्ण आधार शिविरमा पनि चहलपहल
म्याग्दीका प्राकृतिक तथा धार्मिक पर्यटनस्थलमा समेत पर्यटकको आवागमन बढ्न थालेको छ । बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्ड म्याग्दी नदीको बाढीबाट क्षति पुगेपछि मर्मत गरेर असोजको अन्तिम सातादेखि पुनः सञ्चालनमा ल्याइएको हो ।
त्यस्तै, अन्नपूर्ण गाउँपालिका–२ स्थित भुरुङ्ग–तातोपानी र पाउद्वार तातोपानी कुण्ड सुरक्षित रहेको स्थानीय व्यवसायीले बताएका छन् । अन्नपूर्ण चक्रीय पदमार्ग तथा मुस्ताङ भ्रमणमा जाने र फर्किने पर्यटकका लागि यी कुण्ड विश्रामस्थलका रूपमा परिचित छन् ।
भुरुङ्ग–तातोपानी कुण्डका सञ्चालक प्रितम पुर्जाका अनुसार करिब एक महिनापछि पर्यटकको आगमन सुरु भएको छ । अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेशबिन्दुसमेत रहेको यस क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको हो ।
भुरुङ्ग–तातोपानीका होटल व्यवसायी काजी थापाले बिहीबार करिब १५० जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर भ्रमणमा गएको जानकारी दिए ।
मुस्ताङ जाने पर्यटक बढ्ने व्यवसायीको अपेक्षा
रुप्से झरना परिसरमा चियापसल सञ्चालन गर्दै आएकी छुमा पाइजाले पनि करिब एक महिनापछि पर्यटकको चहलपहल बढ्न थालेको बताइन् । दसैँको बिदा मनाउन चितवनबाट मुस्ताङ भ्रमणमा आएका रमेश पाण्डेले म्याग्दी हुँदै बस, जिप र मोटरसाइकलमा सहज रूपमा यात्रा गर्न सकिएको बताए ।
सडक मर्मतपछि पर्यटकको आवागमन बढ्न थाले पनि बाढीपहिरोबाट क्षति पुगेका सडक तथा पदमार्गको पुनर्निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको व्यवसायीको भनाइ छ । क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण गर्न सके म्याग्दी र मुस्ताङको पर्यटन व्यवसायलाई पुरानै अवस्थामा फर्काउन सहज हुने उनीहरूको अपेक्षा छ ।
बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले पर्यटकीय यामलाई ध्यानमा राखेर सडक मर्मत तथा यातायात सञ्चालन सहज बनाउन काम भइरहेको जानकारी दिए । सडक र पदमार्गको अवस्था सुधार हुँदै गएसँगै आगामी दिनमा पर्यटकको आगमन थप बढ्ने पर्यटन व्यवसायीको विश्वास छ ।



































