मनास्लु र लार्केपास पदयात्रा पुनः सञ्चालनमा, सावधानी अपनाउन टानको आग्रह

काठमाडौँ । बाढीपहिरोका कारण क्षति पुगेको मनास्लु–लार्केपास पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएको छ ।

ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले पदमार्गका विभिन्न खण्ड, पुल, पहुँच मार्ग तथा पर्यटक बस्ने लजहरूको मर्मतसम्भारपछि पदयात्रा गर्न सकिने जनाएको हो ।

टानले सूचना जारी गर्दै बूढीगण्डकीमा आएको बाढीबाट क्षतिग्रस्त संरचनाहरू धार्चे र चुमनुब्री गाउँपालिकाको संयुक्त पहलमा मर्मत गरिएपछि पदमार्ग आंशिक रूपमा सञ्चालनमा आएको जानकारी दिएको छ । पदयात्रा सुरु गर्न सकिने भए पनि केही स्थानमा जोखिम कायमै रहेकाले आवश्यक सतर्कता अपनाउन पदयात्रीलाई आग्रह गरिएको छ ।

टानका अनुसार पदयात्री सवारीसाधनमार्फत माछाखोलासम्म पुगेर जगत, न्याकफेदी हुँदै लार्केपासतर्फको यात्रा गर्न सक्छन् । यारु बगरको नियमित पदमार्गमा अझै केही कठिनाइ रहेकाले त्यहाँ करिब १० मिनेटको वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिइएको छ ।

पदयात्रा मार्गका केही कठिन खण्डको मर्मत तथा निर्माण कार्य अझै जारी रहेको टानले जनाएको छ । यसैबीच, पदमार्गमा पर्ने क्यान्टिलिभर पुल भत्किएकाले चुम उपत्यकातर्फको पदयात्रा मार्ग भने हाल बन्द छ । पुल मर्मतको काम भइरहेको र करिब एक साताभित्र पदमार्ग पुनः सञ्चालनमा ल्याउने लक्ष्य रहेको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिएका छन् ।

लाङटाङ र गोसाइँकुण्ड क्षेत्र पनि पदयात्राका लागि खुला

टानले लाङटाङ, क्यान्जिन र गोसाइँकुण्ड क्षेत्रका पदमार्ग पनि पदयात्राका लागि खुला रहेको जनाएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको बेत्रावतीमा बेलीब्रिज जडान भएपछि लाङटाङ क्षेत्र पुग्न दुई वैकल्पिक मार्ग उपलब्ध भएका हुन् ।

पहिलो मार्गअनुसार काठमाडौँबाट त्रिशूली हुँदै बेत्रावती पुगेर धुन्चे वा ठूलोस्याप्रुबाट बम्बु, लामाहोटेल र लाङटाङ हुँदै क्यान्जिनसम्म पदयात्रा गर्न सकिन्छ ।

दोस्रो विकल्पमा काठमाडौँ–चिसापानी–हेलम्बु–थारेपाटी–घोप्टे–गोसाइँकुण्ड–ठूलोस्याप्रु हुँदै बम्बु, लामाहोटेल र लाङटाङबाट क्यान्जिन पुग्न सकिने टानले जनाएको छ ।

बाढीपहिरोबाट प्रभावित पदमार्गहरू क्रमशः सञ्चालनमा आउन थाले पनि यात्रा सुरु गर्नुअघि बाटोको पछिल्लो अवस्था बुझ्न टानले पदयात्री, पर्यटक तथा पर्यटन व्यवसायीलाई आग्रह गरेको छ । जोखिमयुक्त खण्डमा सावधानी अपनाउन, आवश्यक सुरक्षा तयारी गर्न र स्थानीय निकाय तथा सम्बन्धित निकायको सूचनालाई ध्यान दिनसमेत अनुरोध गरिएको छ ।