आदिनाथ मन्दिरमा एकमहिने मेलाको चटारो, दुई लाख भक्तजन आउने अनुमान

काठमाडौँ । काठमाडौँको दक्षिण भेग कीर्तिपुरस्थित आदिनाथ मन्दिरमा एकमहिने मेलाको तयारी तीव्र पारिएको छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुने परम्परागत मेला यस वर्ष कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।

मेलालाई व्यवस्थित बनाउन कीर्तिपुर नगरपालिका–६ मा रहेको मन्दिर परिसर तथा आसपासका क्षेत्रमा सरसफाइ र सजावटको काम गरिएको छ । मेला व्यवस्थापन समितिको आयोजना तथा स्थानीय सङ्घसंस्थाको समन्वयमा मन्दिर क्षेत्र सफा गर्नुका साथै मन्दिरलाई आकर्षक रूपमा सिँगारिएको छ ।

मेला व्यवस्थापन समितिका अनुसार यस वर्ष मेलामा करिब दुई लाख भक्तजन सहभागी हुने अनुमान गरिएको छ । धार्मिक आस्था र पारिवारिक सुखसमृद्धिको कामनासहित भक्तजन मन्दिरमा दर्शन तथा पूजाआराधनाका लागि आउने अपेक्षा गरिएको छ ।

आदिनाथ मन्दिरमा दर्शन तथा पूजाआराधना गरेमा परिवारमा सुख, समृद्धि प्राप्त हुनुका साथै भय, रोग र विघ्नबाधाबाट मुक्ति मिल्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण प्रत्येक वर्ष मेला अवधिमा भक्तजनको उल्लेख्य उपस्थिति हुने गर्दछ ।

मन्दिरमा शिव र पार्वतीको संयुक्त स्वरूप झल्काउने मूर्ति रहेकाले यसलाई आदिनाथ मन्दिरका साथै अर्धनारीश्वरको प्रतीकका रूपमा समेत चिनिन्छ । मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्रका रूपमा परिचित छ ।

हिन्दु धर्मावलम्बीले आदिनाथलाई शिवशक्तिको प्रतीकका रूपमा पूजा गर्छन् भने बौद्ध धर्मावलम्बीले लोकेश्वर तथा करुणाका प्रतीकका रूपमा श्रद्धा व्यक्त गर्ने परम्परा छ ।

धार्मिक सहिष्णुता र साझा सांस्कृतिक परम्पराको उदाहरणका रूपमा रहेको यस मन्दिरको एकमहिने मेलाले स्थानीय धार्मिक तथा सांस्कृतिक गतिविधिलाई समेत जीवन्त बनाउँदै आएको छ । मेलालाई व्यवस्थित, सुरक्षित र भक्तजनमैत्री बनाउन आवश्यक तयारी भइरहेको आयोजकले जनाएका छन् ।