बोल्न नसक्ने वृद्धालाई नागरिकता

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–५ की बोल्न नसक्ने एक ६८ वर्षीया वृद्धा गोटाल मनि राईले नेपाली नागरिकता प्राप्त गरेका छन् ।

राईलाई प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रदान गरे ।

वडाअध्यक्ष महलसिं राईको सिफारिसमा नागरिकता वितरण गरिएको थियो । जिल्लाका कुनै पनि नागरिक नागरिकता पाउनबाट वञ्चित नहोस भन्ने उद्देश्यअनुरुप राईलाई नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले बताए ।

उनले भने, “उनि नागरिकता पाउनबाट बञ्चित हुनुभएको रहेछ, जसले गर्दा राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुभएको रहेछ ।” राईका बुवाआमा सानैमा मृत्यु भएका कारण नागरिकता बनाउन नसकेको वडाध्यक्ष महलसिंह राईले बताए । अत्यन्त न्यून आयस्तर भएका वृद्धाको घर नभएका कारण कटेरामा बस्दै आएका छन् ।

“उनको आफ्नो भन्ने कोही छैन, घरसमेत नभएका कारण सानो कटेरामा बस्दै आएका छन्, यसभन्दा अघि पनि नागरिकता दिलाउन प्रयास गरिएपनि कानुनी उल्झनका कारण सम्भव भएको थिएन तर यो पटक सिडिओ साबले सहजीकरण गर्दिनुभयो नागरिकता दिलाउन सम्भव भयो ।” वडाध्यक्ष राईले भने । गोटाल मनिका एक छोरा छन् ।

बावुको पत्ता नलागेका उक्त छोराको नागरिकता बनाउनसमेत आमाको नागरिकता आवश्यक पर्ने भएकाले वडा कार्यालयको पहलमा नेपाली नागरिकता दिलाइएको स्थानीयले बताए । विसं २०१३ साल असार १७ गते जन्ममिति रहेको राईको आर्थिक अवस्था अत्यन्त कम्जोर छ ।