काठमाडौं । नेपाल र भारतबीच व्यापार, ऊर्जा, जलस्रोत, सीमा व्यवस्थापन, सुरक्षा तथा सम्पर्क सञ्जाललगायतका क्षेत्रमा सहकार्य गर्न ४० भन्दा बढी द्विपक्षीय संस्थागत संयन्त्र अस्तित्वमा छन् ।
दुई देशबीचका विभिन्न विषयमा छलफल, समन्वय र समस्या समाधान गर्ने उद्देश्यले गठन गरिएका यी संयन्त्रमध्ये कतिपय सक्रिय छन् भने कतिपय लामो समयदेखि निष्क्रिय अवस्थामा छन् । कतिपय संयन्त्रका बैठक चार–पाँच वर्षसम्म पनि नबसेका उदाहरण छन् । यस्तो पृष्ठभूमिमा नेपाल र भारतका प्रधानमन्त्रीले द्विपक्षीय भिजन पेपरको कार्यान्वयन अनुगमन गर्न उच्चस्तरीय समिति सक्रिय बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीबाट जारी ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ शीर्षकको १० बुँदे संयुक्त भिजन पेपरमा उक्त व्यवस्था समेटिएको हो । दुवै देशका प्रधानमन्त्रीले नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतीय राजदूतको नेतृत्वमा उच्चस्तरीय अनुगमन समिति सक्रिय बनाउने सहमति गरेका छन् । समितिले कम्तीमा प्रत्येक ६ महिनामा बैठक गर्ने, भिजन पेपरमा समेटिएका प्रतिबद्धताको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्ने, आवश्यक स्वीकृति तथा प्रक्रियामा सहजीकरण गर्ने र भारत–नेपाल संयुक्त आयोगलाई प्रतिवेदन दिने व्यवस्था गरिएको छ ।
नेपाल र भारतबीच यसअघि नै चार दर्जन हाराहारीमा द्विपक्षीय संयन्त्र रहेकाले नयाँ अनुगमन समिति पनि त्यही सूचीमा थपिने अर्को संरचना मात्रै बन्ने हो कि भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ । किनकि विगतमा भएका सहमति र प्रतिबद्धता कार्यान्वयन नहुँदा तथा द्विपक्षीय संयन्त्र नियमित सक्रिय नहुँदा दुई देशबीचको सम्बन्धमा पटक–पटक अविश्वास पैदा हुँदै आएको छ । तर यसपटकको सहमतिले विगतको अभ्यासभन्दा फरक ढंगले आर्थिक सहकार्यलाई प्राथमिकता दिने र त्यसको कार्यान्वयनलाई संस्थागत रूपमा अनुगमन गर्ने प्रयास गरेको देखिन्छ । प्रधानमन्त्री शाहको दुईदिने राजकीय भ्रमणको अन्तिम दिन जारी भिजन पेपरले नेपाल–भारत सम्बन्धलाई परम्परागत कूटनीतिक घोषणाभन्दा अगाडि बढाएर आर्थिक विकास, पूर्वाधार, ऊर्जा, प्रविधि, जलवायु परिवर्तन र जनस्तरको सहकार्यमा आधारित बनाउने परिकल्पना गरेको छ ।
यसले दुई देशबीचको सम्बन्धको आर्थिक आधार र रणनीतिक दिशामा परिवर्तन ल्याउने सम्भावना देखाएको छ । नेपाल–भारत सम्बन्ध लामो समयदेखि इतिहास, भूगोल, सुरक्षा चासो, राजनीतिक संवेदनशीलता र नेपालको आन्तरिक राजनीतिक घटनाक्रमबाट प्रभावित हुँदै आएको छ । दुई देशबीच खुला सीमा, धार्मिक तथा सांस्कृतिक सम्बन्ध र गहिरो आर्थिक निर्भरता भए पनि राजनीतिक अविश्वास र आपसी आशंकाले सम्बन्धलाई पटक–पटक असहज बनाउने गरेको छ । विशेषगरी नेपालको आन्तरिक राजनीतिमा भारतको चासो र हस्तक्षेपको आरोप, सीमा विवाद, सन्धि सम्झौता तथा व्यापार र पारवहनमा देखिने निर्भरताले द्विपक्षीय सम्बन्धलाई संवेदनशील बनाउँदै आएका छन् ।
तर पछिल्लो भिजन पेपरले यी परम्परागत मुद्दालाई यथावत् राखेर पनि सम्बन्धलाई आर्थिक सहकार्यको फराकिलो आधारमा अघि बढाउन सकिने सम्भावना प्रस्तुत गरेको छ । यसले नेपाल र भारतबीचको सम्बन्धलाई केवल राजनीतिक नेतृत्व र कूटनीतिक संयन्त्रमा सीमित नराखी उत्पादन, लगानी, ऊर्जा, पूर्वाधार, प्रविधि र नागरिकस्तरको सहकार्यसम्म विस्तार गर्न खोजेको छ । यसपटक भारतले नेपालमा पठाएको नयाँ राजदूतको पृष्ठभूमिले पनि आर्थिक कूटनीतिलाई दिएको प्राथमिकताको संकेत गरेको थियो । भारत सरकारले विदेश मन्त्रालयका सचिवस्तरका अधिकारी तथा दक्षिण एसियाली क्षेत्र, विशेषगरी नेपाल र भुटानका विषयमा जानकार सुधाकर दलेलालाई नेपालका लागि राजदूत नियुक्त गरेको छ । आर्थिक कूटनीतिमा अनुभव हासिल गरेका राजदूतको नियुक्तिले भारतले नेपालसँगको सम्बन्धलाई आर्थिक विकास र लगानीको दृष्टिकोणबाट अघि बढाउन खोजेको संकेत गरेको थियो । सोमबार जारी संयुक्त भिजन पेपरले उक्त संकेतलाई थप स्पष्ट पारेको छ । भारत अब नेपालको आन्तरिक राजनीतिक घटनाक्रममा मात्र केन्द्रित नभई आर्थिक साझेदारीमार्फत दीर्घकालीन सम्बन्ध विस्तार गर्न चाहन्छ भन्ने सन्देश यस दस्तावेजले दिएको छ । भारतको संस्थापन पक्षले पनि आफ्नो दीर्घकालीन राष्ट्रिय हितका लागि छिमेकमा राजनीतिक स्थिरता, आर्थिक समृद्धि र संस्थागत क्षमता भएको नेपाल आवश्यक छ भन्ने बुझाइ विकास गरेको देखिन्छ ।
आर्थिक रूपमा कमजोर र विकासका अवसरबाट वञ्चित छिमेकीले सिर्जना गर्न सक्ने अस्थिरता दुवै देशका लागि चुनौती बन्न सक्छ । त्यसैले नेपालको आर्थिक समृद्धि र स्थिरता नेपालको मात्र नभई भारतको पनि दीर्घकालीन हितसँग जोडिएको विषय हो । नेपालको बजार विस्तार, पूर्वाधार विकास, ऊर्जा उत्पादन र क्षेत्रीय सम्पर्क सञ्जालमा सुधार हुँदा भारतले पनि आर्थिक लाभ लिन सक्छ । भारत अहिले विश्व अर्थतन्त्रमा आफ्नो स्थान बलियो बनाउने अभियानमा छ । क्रयशक्ति समता अर्थात् पर्चेजिङ पावर प्यारिटी (पीपीपी) का आधारमा चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो भने भारत तेस्रो स्थानमा छ । बजार विनिमयदरमा आधारित कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा भने भारत छैटौँ र चीन दोस्रो स्थानमा छन् । क्रयशक्ति समताले विभिन्न देशमा वस्तु तथा सेवाको मूल्यस्तरमा रहेको अन्तरलाई समायोजन गरेर अर्थतन्त्रको वास्तविक आकार तुलना गर्छ । एउटै रकमले विभिन्न देशमा कति वस्तु तथा सेवा खरिद गर्न सकिन्छ भन्ने आधारमा अर्थतन्त्रको आकार मापन गरिने भएकाले यसले देशभित्रको वास्तविक क्रयशक्तिलाई समेत प्रतिबिम्बित गर्छ । त्यसैले कुनै देशको अन्तर्राष्ट्रिय आर्थिक हैसियत बुझ्न बजार विनिमयदरमा आधारित जीडीपी र क्रयशक्ति समतामा आधारित जीडीपी दुवैलाई हेर्ने गरिन्छ ।
विश्व अर्थतन्त्रमा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको भारतका लागि छिमेकी मुलुकसँगको सम्बन्ध पनि आर्थिक अवसरसँग जोडिएको छ । नेपालसँगको सम्बन्धमा निरन्तर राजनीतिक विवाद र अविश्वासमा अल्झिरहँदा भारतको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय छविमा समेत असर पर्न सक्छ । त्यसैले नेपालको आन्तरिक राजनीतिमा हुने उतारचढावमा अनावश्यक रूपमा केन्द्रित हुनुभन्दा स्थिर र समृद्ध नेपालसँग आर्थिक साझेदारी विस्तार गर्नु भारतका लागि बढी लाभदायक हुन सक्छ । भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्य राखेको छ । नेपालले पनि समुन्नत र समृद्ध मुलुक बन्ने आकांक्षा राखेको छ । दुवै देशको विकासको गति र राष्ट्रिय प्राथमिकता समान नहुन सक्छन् । तर साझा आर्थिक हितका क्षेत्र पहिचान गरेर सहकार्य गर्न सकिने आधार भने पर्याप्त छन् । यही अवधारणालाई भिजन पेपरको मुख्य आधार बनाइएको छ ।
नेपालका लागि भारत ऐतिहासिक सम्बन्ध भएको छिमेकी मात्रै होइन, ठूलो बजार, लगानीको स्रोत, पारवहन साझेदार र आर्थिक अवसरको महत्त्वपूर्ण केन्द्र हो । नेपालको वैदेशिक व्यापार, ऊर्जा निर्यात, औद्योगिक उत्पादन र पारवहन व्यवस्थामा भारतको भूमिका महत्त्वपूर्ण छ । अर्कोतर्फ भारतका लागि नेपाल केवल रणनीतिक महत्त्वको छिमेकी मात्र नभई जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार र क्षेत्रीय आर्थिक विकासमा योगदान गर्न सक्ने सार्वभौम साझेदार हो । यस अर्थमा दुई देशबीचको सम्बन्धलाई आपसी निर्भरता र समान लाभको आधारमा विकास गर्नुपर्ने आवश्यकता छ । नेपालले आफ्नो आर्थिक तथा रणनीतिक हितलाई केन्द्रमा राखेर भारतसँग सहकार्य गर्न सके त्यसबाट दीर्घकालीन लाभ लिन सक्छ । भारतले पनि नेपालको सार्वभौमिकता, राजनीतिक स्थिरता र विकासको आकांक्षालाई सम्मान गर्दै आर्थिक साझेदारी अघि बढाउनुपर्ने हुन्छ ।
दशबुँदे भिजन पेपरले यही आवश्यकतालाई सम्बोधन गर्ने प्रयास गरेको छ । यसले व्यापार तथा लगानी, कनेक्टिभिटी, ऊर्जा, जलस्रोत, जलवायु परिवर्तन, डिजिटल प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, संस्कृति र पर्यटनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रस्ताव गरेको छ । यसको एउटा महत्त्वपूर्ण पक्ष व्यापार र पारवहनको परम्परागत सम्बन्धलाई उत्पादन तथा लगानी साझेदारीमा रूपान्तरण गर्ने लक्ष्य हो । नेपाल र भारतबीच व्यापारको मात्रा ठूलो भए पनि नेपालको निर्यात क्षमता कमजोर छ । नेपालको व्यापार घाटा निरन्तर बढिरहेको अवस्थामा भारतीय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार, उत्पादनमूलक उद्योगमा लगानी र व्यापार सहजीकरण महत्त्वपूर्ण विषय हुन् । नेपालले भारतसँगको आर्थिक सम्बन्धलाई केवल आयातमा आधारित नराखी निर्यात वृद्धि र उत्पादन विस्तारसँग जोड्न आवश्यक छ । भारतीय लगानीमार्फत नेपालमा उद्योग स्थापना, रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र नेपाली उत्पादनको बजार विस्तार गर्न सकिन्छ । तर त्यसका लागि लगानीमैत्री वातावरण, नीतिगत स्थिरता, प्रशासनिक सहजता र पूर्वाधार विकास अनिवार्य हुन्छ ।
कनेक्टिभिटीको क्षेत्रमा पनि भिजन पेपरले नयाँ सम्भावना प्रस्तुत गरेको छ । भौगोलिक अवस्थाका कारण नेपालका लागि भारतसँगको पारवहन सम्बन्ध अत्यन्त महत्त्वपूर्ण छ । तेस्रो मुलुकसँगको व्यापारमा भारतीय बन्दरगाह र सडक सञ्जालको प्रयोग गर्नुपर्ने भएकाले ढुवानी लागत र समय घटाउनु नेपालको आर्थिक प्रतिस्पर्धात्मकतासँग जोडिएको विषय हो । रेल, सडक, एकीकृत जाँच चौकी, सीमा पूर्वाधार तथा अन्य सम्पर्क सञ्जालको विकासले व्यापारलाई सहज बनाउन सक्छ । नेपालभित्रका औद्योगिक तथा उत्पादन केन्द्रलाई भारतीय बजार र क्षेत्रीय व्यापारिक सञ्जालसँग जोड्न सके त्यसले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्नेछ । तर यस्ता आयोजना घोषणा गरेर मात्र पुग्दैन ।
समयमै निर्माण सम्पन्न गर्ने, प्राविधिक तथा प्रशासनिक अवरोध हटाउने र दुवै देशका निकायबीच समन्वय बढाउने काम आवश्यक हुन्छ । ऊर्जा क्षेत्र नेपाल–भारत सहकार्यको सबैभन्दा सम्भावनायुक्त क्षेत्रमध्ये एक हो । नेपालसँग ठूलो जलविद्युत् उत्पादन क्षमता छ भने भारतसँग ठूलो ऊर्जा बजार र बढ्दो विद्युत् माग छ । यसले दुवै देशलाई परस्पर लाभ हुने गरी विद्युत् उत्पादन, प्रसारण, व्यापार र लगानी विस्तार गर्ने अवसर दिएको छ । नेपालले जलविद्युत् उत्पादन बढाएर भारतमा विद्युत् निर्यात गर्न सक्छ । त्यसका लागि प्रसारण लाइन निर्माण, विद्युत् व्यापारसम्बन्धी दीर्घकालीन व्यवस्था र लगानीको सुनिश्चितता आवश्यक छ । त्यस्तै नेपालभित्रै उद्योगधन्दामा विद्युत् खपत बढाउन सके जलविद्युत् क्षेत्रको आर्थिक लाभ अझ व्यापक बनाउन सकिन्छ । ऊर्जा निर्भरतालाई ऊर्जा अन्तरनिर्भरतामा रूपान्तरण गर्ने भिजन पेपरको अवधारणा यसैसँग सम्बन्धित छ ।
जलवायु परिवर्तन र विपद् व्यवस्थापनको क्षेत्रमा पनि नेपाल र भारतबीच सहकार्यको आवश्यकता बढ्दै गएको छ । हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमताल विस्फोट, हिमपहिरो, बाढी, पहिरो र नदी प्रणालीमा आउने परिवर्तनले दुवै देशलाई प्रभावित पार्न सक्छन् । हिमालबाट सुरु हुने नदीहरू नेपाल हुँदै भारततर्फ बग्ने भएकाले माथिल्लो तटीय क्षेत्रमा हुने प्राकृतिक परिवर्तनको प्रभाव तल्लो तटीय क्षेत्रमा समेत पर्न सक्छ । त्यसैले जलवायु जोखिमको पूर्वानुमान, तथ्यांक आदानप्रदान, मौसम तथा जलविज्ञानसम्बन्धी सूचना प्रणाली, विपद् पूर्वसूचना र उद्धार तथा राहत व्यवस्थापनमा सहकार्य आवश्यक छ । नेपालमा आउने बाढी र पहिरोले सीमापार प्रभाव पार्न सक्ने भएकाले दुवै देशले साझा जोखिमलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने हुन्छ । जलवायु सहकार्यलाई केवल वातावरणीय विषयका रूपमा नभई साझा सुरक्षा र विकासको मुद्दाका रूपमा अघि बढाउन सकिन्छ । डिजिटल प्रविधि र प्रविधि साझेदारी पनि भिजन पेपरको अर्को महत्त्वपूर्ण पक्ष हो । विश्व अर्थतन्त्र तीव्र रूपमा डिजिटल हुँदै गएको अवस्थामा नेपालले प्रविधि विकास, डिजिटल सेवा, साइबर सुरक्षा र तथ्यांक व्यवस्थापनमा क्षमता विस्तार गर्नुपर्ने आवश्यकता छ । भारतले सूचना प्रविधि तथा डिजिटल सार्वजनिक पूर्वाधारको क्षेत्रमा हासिल गरेको अनुभव नेपालका लागि उपयोगी हुन सक्छ ।
तर प्रविधि सहकार्य गर्दा नेपालको डेटा सार्वभौमिकता र राष्ट्रिय हितलाई पनि प्राथमिकता दिनुपर्छ । डिजिटल पूर्वाधार विकाससँगै तथ्यांकको सुरक्षा, गोपनीयता, साइबर जोखिम र प्रविधिमा आत्मनिर्भरता बढाउने विषयलाई बेवास्ता गर्न मिल्दैन । भिजन पेपरले शिक्षा, सीप विकास, स्वास्थ्य, कृषि, खेलकुद, संस्कृति र पर्यटनलाई पनि द्विपक्षीय सहकार्यको दायरामा राखेको छ । यी क्षेत्रको महत्त्व यसकारण पनि बढी छ कि यिनले सरकार र कूटनीतिक निकायभन्दा बाहिर आम नागरिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्छन् । शिक्षा तथा सीप विकासमा सहकार्य विस्तार हुँदा नेपाली विद्यार्थीले नयाँ अवसर प्राप्त गर्न सक्छन् । स्वास्थ्य क्षेत्रमा प्रविधि, विशेषज्ञता, औषधि तथा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सकिन्छ । कृषिमा उत्पादन वृद्धि, आधुनिक प्रविधि, प्रशोधन र बजार व्यवस्थापनमा सहकार्यले किसानको आम्दानी बढाउन मद्दत गर्न सक्छ । त्यस्तै पर्यटन, संस्कृति र खेलकुदको आदानप्रदानले दुई देशका नागरिकबीचको सम्बन्ध थप प्रगाढ बनाउन सक्छ । यसरी हेर्दा भिजन पेपरले नेपाल–भारत सम्बन्धलाई राजनीतिक नेतृत्व र सरकारी संयन्त्रमा सीमित नराखी विद्यार्थी, किसान, उद्यमी, बिरामी, खेलाडी र पर्यटन व्यवसायीसम्म विस्तार गर्ने सम्भावना बोकेको छ । जब द्विपक्षीय सहकार्यबाट आम नागरिकले प्रत्यक्ष लाभ प्राप्त गर्छन्, तब सम्बन्ध राजनीतिक परिवर्तन र अस्थायी कूटनीतिक तनावबाट कम प्रभावित हुने आधार तयार हुन्छ ।
तर भिजन पेपरमा समेटिएका विषय र प्रतिबद्धता आफैँमा कार्यान्वयनको प्रत्याभूति होइनन् । विगतमा पनि नेपाल र भारतबीच विभिन्न समयमा महत्त्वपूर्ण सम्झौता तथा सहमति भएका छन् । तर कार्यान्वयनमा ढिलाइ, प्रशासनिक जटिलता, नीतिगत अस्थिरता र समन्वयको अभावका कारण धेरै आयोजना अपेक्षित समयमा सम्पन्न हुन सकेका छैनन् । कतिपय आयोजना वर्षौँसम्म अलपत्र पर्दा नेपालमा भारतीय सहयोग र लगानीप्रति प्रश्न उठ्ने गरेको छ । यही पृष्ठभूमिमा यसपटक उच्चस्तरीय अनुगमन समिति सक्रिय बनाउने सहमति गरिएको हो । यस समितिको विशेषता भनेको नियमित बैठक र प्रत्यक्ष अनुगमनमार्फत भिजन पेपरका प्रतिबद्धतालाई कार्यान्वयनसँग जोड्ने प्रयास हो । यसको बैठकका लागि प्रत्येक पटक नयाँ दिल्ली पुग्नुपर्ने अवस्था पनि रहने छैन । नेपालका लागि भारतीय राजदूत नेपालमै रहने भएकाले दुवै पक्षले काठमाडौंमै नियमित छलफल र समन्वय गर्न सक्छन् । यद्यपि समितिको प्रभावकारिता भारतका राजदूतको सक्रियताले मात्र सुनिश्चित हुँदैन । नेपालका परराष्ट्र सचिव तथा सम्बन्धित मन्त्रालय र सरकारी निकायको पनि उत्तिकै सक्रियता आवश्यक हुन्छ । दुवै देशका प्रशासनिक संयन्त्रले प्रतिबद्धतालाई प्राथमिकतामा राखेर काम नगरेमा नयाँ समिति पनि विगतका निष्क्रिय संयन्त्रजस्तै बन्न सक्छ ।
समितिले प्रत्येक ६ महिनामा बैठक बस्ने व्यवस्थालाई औपचारिकतामा सीमित राख्नु हुँदैन । बैठकको संख्या होइन, त्यसबाट हासिल हुने परिणाम नै सफलताको मापदण्ड हुनुपर्छ । त्यसका लागि प्रत्येक परियोजनाको स्पष्ट कार्ययोजना, जिम्मेवार मन्त्रालय तथा निकाय, समयसीमा, वित्तीय प्रतिबद्धता र वार्षिक प्रगति सूचक तय गर्न आवश्यक छ । ढिलाइ भएका आयोजनाको अवस्था र त्यसको कारण सार्वजनिक गर्ने व्यवस्था पनि प्रभावकारी हुन सक्छ । नेपाल सरकारले पनि भिजन पेपरलाई आफ्नै राष्ट्रिय विकास प्राथमिकतासँग जोड्नुपर्छ । भारतसँग सहकार्य गर्ने नाममा सबै विषयलाई समान प्राथमिकता दिनुभन्दा नेपालको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान गर्ने क्षेत्र पहिचान गरी कार्यान्वयन रणनीति बनाउनुपर्छ ।
व्यापार तथा लगानीमा निर्यात र उत्पादनमूलक लगानी वृद्धि, कनेक्टिभिटीमा ढुवानी लागत न्यूनीकरण, ऊर्जा क्षेत्रमा विद्युत् व्यापार र घरेलु खपत विस्तार, जलवायु क्षेत्रमा भरपर्दो पूर्वसूचना प्रणाली तथा डिजिटल अर्थतन्त्रमा प्रविधि क्षमता विकासलाई प्राथमिकतामा राख्न सकिन्छ । त्यस्तै शिक्षा तथा सीप विकास, कृषि उत्पादनको मूल्य अभिवृद्धि र सीमा तथा सन्धिसम्बन्धी विषयमा संवादलाई निरन्तरता दिनु आवश्यक छ । नेपालले भारतसँगको सम्बन्धलाई केवल आर्थिक अवसरका रूपमा मात्र नभई आफ्नो सार्वभौमिकता, राष्ट्रिय हित र दीर्घकालीन रणनीतिक प्राथमिकतासँग जोडेर अघि बढाउनुपर्छ । आर्थिक सहकार्य विस्तार हुँदैमा पुराना राजनीतिक तथा कूटनीतिक विवाद स्वतः समाधान हुँदैनन् । सीमा विवाद, सन्धि सम्झौता, सुरक्षा चासो र अन्य संवेदनशील विषयलाई पनि समान रूपमा सम्बोधन गर्नुपर्छ ।
यस भिजन पेपरले नेपाल–भारत सम्बन्धको आर्थिक, राजनीतिक र संस्थागत आधारमा परिवर्तन ल्याउन सक्ने तीनवटा महत्त्वपूर्ण सम्भावना देखाएको छ । पहिलो, उत्पादन, ऊर्जा, लगानी र प्रविधिमा अन्तरनिर्भरता बढ्दा दुई देशबीचको सहकार्य आर्थिक रूपमा थप बलियो हुन सक्छ । दोस्रो, पुराना राजनीतिक विवाद कायम रहे पनि तिनलाई व्यापक आर्थिक सहकार्यको ढाँचाभित्र व्यवस्थापन गर्ने अवसर प्राप्त हुन सक्छ । तेस्रो, नियमित अनुगमन, प्रतिवेदन र संरचित संवादले द्विपक्षीय सहकार्यलाई थप अनुमानयोग्य र जवाफदेही बनाउन सक्छ । तर साझेदारीको वास्तविक अर्थ दुवै देशले समान लाभ प्राप्त गर्नु हो । आर्थिक लाभ असमान हुने, नेपालको राजनीतिक तथा राष्ट्रिय सरोकारलाई बेवास्ता गर्ने वा प्रतिबद्धता कार्यान्वयनमा बारम्बार ढिलाइ हुने हो भने भिजन पेपरको उद्देश्य पूरा हुन सक्दैन । नेपालले पनि आफ्ना प्राथमिकता स्पष्ट राखेर वार्तामा सहभागी हुनुपर्छ । भारतसँगको आर्थिक सम्बन्ध विस्तार गर्दा स्वदेशी उत्पादन, उद्योग, रोजगारी र राष्ट्रिय क्षमताको विकासलाई केन्द्रमा राख्नुपर्छ ।
भिजन पेपरले नेपाल–भारत सम्बन्धका सबै पुराना समस्या समाधान गर्ने अपेक्षा गर्न सकिँदैन । तर ती समस्यालाई व्यवस्थापन गर्दै नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सहकार्य विस्तार गर्ने आधार भने यसले तयार गरेको छ । व्यापार र पारवहनबाट उत्पादन तथा लगानी साझेदारीतर्फ, भौगोलिक निर्भरताबाट रणनीतिक कनेक्टिभिटीतर्फ, ऊर्जा निर्भरताबाट ऊर्जा अन्तरनिर्भरतातर्फ र विपद् प्रतिक्रियाबाट साझा जलवायु सुरक्षातर्फ अघि बढ्ने अवधारणा यसको महत्त्वपूर्ण पक्ष हो । यसको कार्यान्वयनले नेपाल–भारत सम्बन्धलाई राजनीतिक नेतृत्वको इच्छामा मात्र निर्भर नराखी संस्थागत र नागरिकस्तरमा विस्तार गर्न सक्छ । त्यसका लागि दुवै देशले घोषणा गरेको प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्नेछ । विशेषगरी नेपालले आफ्ना विकास प्राथमिकता र राष्ट्रिय हितअनुसार सहकार्यका क्षेत्र पहिचान गर्दै कार्यान्वयनमा सक्रिय भूमिका खेल्नुपर्छ ।
अन्ततः १० बुँदे संयुक्त भिजन पेपरको सफलता त्यसमा लेखिएका शब्द, प्रधानमन्त्रीबीच भएका सहमति वा नयाँ अनुगमन समिति गठन भएको घोषणाबाट मापन हुने छैन । यसको सफलता दुई देशबीचको व्यापार सन्तुलनमा आउने सुधार, नेपाली उत्पादनको बजार विस्तार, समयमै सम्पन्न हुने पूर्वाधार आयोजना, ऊर्जा व्यापारको वृद्धि, प्रविधि हस्तान्तरण र नागरिकले प्राप्त गर्ने प्रत्यक्ष लाभबाट मापन हुनेछ । नेपाल र भारतबीच यसअघि नै ४० भन्दा बढी संस्थागत संयन्त्र छन् । अब थपिएको उच्चस्तरीय अनुगमन समितिले ती संरचनाको नियति दोहोर्याउने हो वा द्विपक्षीय सम्बन्धलाई परिणाममुखी बनाउने नयाँ अभ्यास सुरु गर्ने हो, त्यो आगामी दिनमा स्पष्ट हुनेछ । तर यसपटकको सहमतिलाई अर्को एउटा संयन्त्र थपिएको घटनामा सीमित गर्नु हुँदैन । दशकौँदेखि राजनीतिक अविश्वास र संवेदनशीलताले प्रभावित नेपाल–भारत सम्बन्धलाई आर्थिक विकास, साझा समृद्धि र संस्थागत विश्वासको आधारमा अघि बढाउने अवसरका रूपमा यसलाई उपयोग गर्न सक्नुपर्छ । भिजन पेपर कागजमा सीमित नरही व्यवहारमा कार्यान्वयन भए मात्रै ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा आकांक्षा सार्थक बन्नेछ । अन्यथा यो पनि दुई देशबीच भएका अनेकौँ सहमति र प्रतिबद्धताजस्तै अर्को एउटा दस्तावेजमा सीमित हुनेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।





































