बाँके मालपोतका खरिदारसहित तीन जना घुससहित पक्राउ

काठमाडौं । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दा फाँटमा कार्यरत् खरिदार हरिचन्द्र पाण्डेसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्ने अन्यमा लेखापढी व्यवसायी शान्ति पुन र घनश्याम तिवारी छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित सम्पर्क कार्यालयको टोलीले शुक्रबार सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै घुस मागिरहेको उजुरी परेपछि अख्तियारको टोली गएको थियो ।

उनीहरूला कोहलपुर नगरपालिका-११ तिवारी रेष्टुरेन्टबाट पक्राउ गरिएको प्रवक्ता पौडेलले जानकारी दिए । यसबारे आरोपीसँग अनुसन्धान भइरहेको उनले बताए ।