काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुकुमपश्चिम त्रिवेणी गाउँपालिका-४ का ३० वर्षीय शक्ति खड्का रहेका छन् । काठमाडौं-१६ नयाँ बसपार्क बस्दै आएका खड्कालाई शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए ।
खड्काले सोही ठाउँका एक युवाबाट ५५ लाख रुपैयाँ ठगी गरेको आचार्यले बताए । लाखौं तलब हुने भन्दै रकम लिएर सम्पर्कविहीन भएपछि ती युवा प्रहरीमा पुगेका थिए ।
जाहेरी परेपछि प्रहरीले खड्काको खोजी सुरु गरेको थियो । प्रहरीका अनुसार खड्कालाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।




































