काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले आन्तरिक तयारी तीव्र पारेको छ । निर्वाचन आयोगले दुवै चुनाव कार्यक्रम सार्वजनिक गरेसँगै कांग्रेसले मातहतका संरचनालाई औपचारिक रूपमा उम्मेदवार सिफारिस प्रक्रिया सुरु गर्न परिपत्र जारी गरेको हो ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रदेश, जिल्ला र क्षेत्रीय समितिका सभापतिहरूलाई सम्बोधन गर्दै आवश्यक प्रक्रिया विधानअनुसार तोकिएको समयभित्र पूरा गर्न निर्देशन दिएका हुन् । पार्टी केन्द्रीय कार्यसमितिले ०८२ मंसिर १५ गते बसेको बैठकमा विधानअनुसार मातहतका निकायले उम्मेदवारका नाम सिफारिस गर्नुपर्ने निर्णय गरेपछि सोही आधारमा परिपत्र जारी गरिएको पत्रमा उल्लेख छ ।
प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुबै तर्फका साथै राष्ट्रिय सभा सदस्यका उम्मेदवारका नाम निर्धारित मितिभित्र माथिल्लो निकायमा पठाउन अनुरोध गरिएको छ । सरकारले फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचन मिति घोषणा गरिसकेको छ भने राष्ट्रिय सभा सदस्यको निर्वाचन माघ ११ गते हुनेछ । राष्ट्रिय सभाका लागि उम्मेदवार सिफारिस प्रक्रियामा प्रदेश कमिटीलाई महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।
संविधानको धारा ८६ को उपधारा २ (क) बमोजिम प्रादेशिक निर्वाचन हुने भएकाले प्रदेश कार्यसमितिले मातहतका जिल्लाबाट सम्भावित उम्मेदवारको नाम संकलन गरी एक सिटका लागि तीन जनाको दरले नाम केन्द्रमा पठाउने व्यवस्था गरिएको छ । सहमति हुन सकेमा सहमतिअनुसार र सहमति नजुटेमा बहुमतको आधारमा नाम निर्णय गरी ०८२ मंसिर मसान्तभित्र केन्द्रमा पठाउन निर्देशन गरिएको छ ।
उम्मेदवार सिफारिस प्रक्रियामा कांग्रेसले कडा आचारसंहिता र योग्यता मापदण्ड अपनाएको छ । पार्टी विधान २०१७ (संशोधित) को धारा ३० बमोजिमको योग्यता पुगेको व्यक्ति मात्र उम्मेदवार बन्न पाउनेछ । सामाजिक अपराध, जातीय विभेद, घरेलु हिंसा वा बालश्रमजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्तिलाई पार्टीबाट कुनै पनि तहको उम्मेदवारी दिन नपाइने व्यवस्था राखिएको छ । २०७९ सालको प्रतिनिधि सभा वा प्रदेश सभा सदस्य समानुपातिक सूचीबाट निर्वाचित व्यक्तिहरूलाई आगामी निर्वाचनमा समानुपातिक तर्फ उम्मेदवार बन्न रोक लगाइएको छ ।
त्यस्तै, २०७९ को प्रदेश समानुपातिक बन्दसूचीमा रहेका व्यक्तिहरूलाई प्रतिनिधि सभा सदस्यको सिफारिसमा समावेश गर्न नपाइने नियम तोकिएको छ । यसपटक पार्टीले एक व्यक्तिले एक पदका लागि मात्र सिफारिस हुन पाउने व्यवस्था गरेको छ । प्रत्यक्ष, समानुपातिक वा राष्ट्रिय सभामध्ये कुनै एक पदका लागि मात्र सिफारिस गर्नुपर्नेछ । प्रतिनिधि सभाका उम्मेदवारले नागरिकताको प्रमाणपत्र, मतदाता परिचयपत्र र अन्य आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । समानुपातिकतर्फका उम्मेदवारहरूले नागरिकताको प्रमाणपत्र, मतदाता निस्सा, पार्टी प्रतिवद्धता पत्र, निर्वाचन आयोगको स्वघोषणापत्र, वैयक्तिक विवरण तथा सम्पत्ति विवरण फारममा हस्ताक्षर अनिवार्य रूपमा बुझाउनुपर्नेछ ।
२०७९ को स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई यसपटक उम्मेदवार सिफारिसमा सहभागी हुन नपाइने प्रावधान राखिएको छ । साथै, पार्टी विधानको धारा ६९ बमोजिम तोकिएको लेवी वा सहयोग रकम बुझाउन बक्यौता रहेका कुनै पनि पदाधिकारी वा सदस्य उम्मेदवारीका लागि पात्र नहुने स्पष्ट गरिएको छ । कांग्रेसले आन्तरिक छानोट प्रक्रियामा कडाइ र पारदर्शिता अपनाउने संकेत दिएको यो परिपत्रसँगै आगामी संघीय र राष्ट्रिय सभा निर्वाचनका लागि दलभित्र गतिविधि अझै सक्रिय हुने देखिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।



































