काठमाडौं । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिले आगामी राजनीतिक यात्रामा कुनै पनि अप्राकृतिक गठबन्धन र सत्ताकेन्द्रित सम्झौता नगर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ ।
शनिबार काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले उक्त निर्णय गरेको हो । बैठकपछि पार्टी प्रवक्ता देवराज चालिसेले आगामी निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले मूल्य र सिद्धान्तभन्दा बाहिर गएर कुनै पनि गठबन्धन नगर्ने निर्णय पुनः दोहोर्याएको जानकारी दिए ।
“आगामी निर्वाचनमा अप्राकृतिक गठबन्धन वा सत्ताका लागि मात्रै गरिने सम्झौता नगर्ने हाम्रो स्पष्ट प्रतिबद्धता छ,” उनले भने, “नेपाली कांग्रेस सधैँ मूल्य, मान्यता र सिद्धान्तमा अडिग रहन्छ । संविधानको रक्षा गर्दै समृद्ध नेपालको नेतृत्व गर्ने जिम्मेवारी कांग्रेसले लिन्छ ।”
प्रवक्ता चालिसेले पछिल्लो समय जेन–जी आन्दोलनपछि देखिएको नवयुवाको आकांक्षा र अपेक्षालाई सम्बोधन गर्ने विषयमा पनि बैठकले विशेष जोड दिएको बताए । युवापुस्ताको चाहना र जनताको अपेक्षालाई व्यवहारमा उतार्ने गरी पार्टी अघि बढ्ने संकल्प बैठकले गरेको उनको भनाइ थियो । बैठकले निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीमा पुर्याएको योगदान र नेतृत्वको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय पनि गरेको छ । साथै, निवर्तमान केन्द्रीय कार्यसमिति र कांग्रेसका नेताहरूलाई सक्रिय रूपमा पार्टीको काममा फर्कन आग्रह गरिएको छ ।
यसैगरी, आगामी निर्वाचनलाई लक्षित गर्दै टिकट वितरणको प्रक्रिया व्यवस्थापन गर्न सभापति गगन थापाको नेतृत्वमा संसदीय बोर्ड गठन गर्ने निर्णय बैठकले गरेको छ । निर्वाचन केन्द्रित कार्यक्रम र गतिविधिहरूलाई तीव्रता दिने, संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गर्ने र पार्टीलाई जनतासँग थप मजबुत रूपमा जोड्ने विषयमा समेत बैठकले निर्णय लिएको छ । नवनिर्वाचित नेतृत्वको पहिलो बैठकले लिएका यी निर्णयलाई कांग्रेसले आगामी दिनमा पार्टीको राजनीतिक दिशा र रणनीतिका रूपमा अघि बढाउने संकेतका रूपमा हेरिएको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।




































