भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती लामो समयदेखि स्वच्छ पिउने पानीको अभाव झेल्दै आएको छ ।
लामो समयदेखि बस्तीका करिब ५० परिवार दैनिक जीवनयापनका लागि आवश्यक पानीसमेत सहज रूपमा पाउन नसक्दा समस्या झन् गम्भीर बन्दै गएको हो । पानी अभावका कारण स्थानीयलाई बिहानबेलुका पानीको जोहो गर्न घण्टौँ खर्चिनुपर्ने बाध्यता छ भने पर्याप्त पानी नहुँदा सरसफाइ र स्वास्थ्यमासमेत असर परेको छ ।
बस्तीका कृष्णबहादुर कुमालका अनुसार पानीका लागि धेरै समय बिताउनु परेकाले कृषि, मजदुरीलगायत अन्य काम प्रभावित भएका छन् । हिउँदमा समस्या अझ बढी हुने गरेको छ । पानीको अभावमा महिला, बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित भएका छन् ।
कुमाल बस्तीको समस्या समाधानको प्रयासमा आफूहरु क्रियाशील रहेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए ।त्यहाँ पानी व्यवस्थापनका लागि सात लाख ५० हजार बजेट विनियोजन भएको जानकारी उनले दिए ।































