थारु पहिचानको मादल बनाउने सीप ओझेलमा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० टोटीमा थारु वृद्ध मादलमा डोरी कस्नमा व्यस्त देखिन्छन् ।

बाहिरबाट हेर्दा सामान्य लाग्ने वास्तवमा थारु समुदायको सांस्कृतिक पहिचान र जीवनशैलीसँग गहिरो रूपमा जोडिएको परम्परागत सीपको प्रतीक हो । तर यही सीप अहिले पुस्तान्तरण नहुँदा बिस्तारै ओझेलमा पर्न थालेको छ ।

दसैं लगायतका चाडपर्व आउँदा यहाँका थारु बस्तीमा गुञ्जिने सखिया नृत्य र त्यससँगै बज्ने मादलको ताल अब विगत बन्ने चिन्ता बढ्दै गएको छ। थारु समुदायको सांस्कृतिक पहिचानसँग गाँसिएको मादल बनाउने सीप पुस्तान्तरण नहुनु, सामग्री नपाइनु जस्ता कारणले यो मौलिक परम्परा हराउने अवस्थामा पुगेको छ।

थारु समुदायले माघी, होरी, दशैं, तिहार, विवाह, भोज–भतेर तथा अन्य सांस्कृतिक पर्वमा आयोजना गरिने नाचगानका लागि प्रयोग हुने मादल आफै बनाउने चलन थियो । विजयसालको काठ छानेर गोलो बनाउनेदेखि बाख्राको छाला तानेर बाँध्ने र डोरी कस्ने कामसम्म सबै प्रक्रिया समुदायभित्रै हुन्थ्यो । यसले थारु संस्कृतिलाई आत्मनिर्भर बनाउनुका साथै पुस्तौंदेखि सीपको निरन्तरता दिँदै आएको थियो ।

तर पछिल्लो समय आधुनिक बाजा, रेडिमेड मादलको प्रयोग बढ्दै जाँदा स्थानीय रूपमा मादल बनाउने परम्परा संकटमा परेको स्थानीय वृद्धहरू बताउँछन् । “पहिले गाउँमा हरेक चाडपर्व आउनुअघि मादल बनाउने चहलपहल हुन्थ्यो,” टोटीका वृद्ध भन्छन्, “अहिले युवाले यो सीप सिक्नै चाहँदैनन् । बजारबाट किनेको मादल सजिलो लाग्छ ।”

स्थानीयका अनुसार मादल बनाउने काम समय, धैर्य र अभ्यास चाहिने भएकाले युवाहरू तत्काल आम्दानी हुने कामतर्फ आकर्षित भएका छन् । रोजगारीका लागि भारत तथा सहरतर्फ जाने क्रम बढेसँगै परम्परागत सीप सिक्ने वातावरण पनि कमजोर बन्दै गएको छ । मादल केवल बाजा मात्र नभई थारु समुदायको इतिहास, उत्सव र सामूहिक जीवनसँग गाँसिएको सांस्कृतिक प्रतीक हो । थारु नृत्य मादलको तालबिनै अधुरो मानिन्छ । तर अहिले गाउँमा मादल बनाउन जान्ने व्यक्ति औँलामा गन्न सकिने मात्र बाँकी रहेको स्थानीय अगुवा बताउँछन् ।

“हामी बूढा भएपछि यो कला पनि हामीसँगै हराउने डर छ,” स्थानीय थारु अगुवाले चिन्ता व्यक्त गर्दै भने, “यदि समयमै संरक्षण र प्रशिक्षणको व्यवस्था भएन भने भावी पुस्ताले मादल केवल संग्रहालयमा मात्र देख्नेछ ।” स्थानीय बासिन्दाहरूले परम्परागत सीप जोगाउन स्थानीय सरकार र सरोकारवाला निकायको भूमिका आवश्यक रहेको बताएका छन् । मादल बनाउने तालिम, सीप विकास कार्यक्रम र सांस्कृतिक संरक्षण योजनामार्फत युवालाई यसतर्फ आकर्षित गर्न सकिने उनीहरूको सुझाव छ ।

परम्परागत बाजा निर्माण केवल सांस्कृतिक विषय मात्र नभई पहिचान, आत्मसम्मान र सम्भावित रोजगारीसँग पनि जोडिएको विषय हो । समयमै संरक्षण गर्न सके थारु समुदायको यो सीप पर्यटन र सांस्कृतिक प्रवर्द्धनसँग समेत जोडिन सक्ने सम्भावना रहेको स्थानीय बताउँछन् । आज टोटीमा एक वृद्धको हातमा मादल बाँध्ने डोरी कसिँदैछ । तर प्रश्न उस्तै छ—के यो सीप भोलि युवाको हातसम्म पुग्ला, कि पुस्तासँगै हराएर इतिहासको पानामा सीमित हुनेछ ?