लिट्मसद्वारा इलेक्ट्रीशियनका लागि सीप सुधार कार्यक्रम सुरु

काठमाडौँ । लिट्मस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रीशियनहरूका लागि लक्षित सीप सुधार कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ । “शिक्षा, दक्षता र सुरक्षा” भन्ने नारामा आधारित यो कार्यक्रम सुरुमा काठमाडौँमा सञ्चालन हुने र निकट भविष्यमै देशभर विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

लिट्मसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रीशियनहरूलाई केन्द्रमा राखेर तयार गरिएको यस कार्यक्रममार्फत कम्पनीले प्राविधिक दक्षता अभिवृद्धि गर्दै सुरक्षित विद्युत अभ्यासलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । यसले ग्राहक र समाजप्रतिको लिट्मसको जिम्मेवारीलाई पनि प्रतिबिम्बित गर्ने कम्पनीको भनाइ छ ।

बीस दिने तालिम कार्यक्रम सैद्धान्तिक तथा व्यवहारिक दुवै पक्षमा केन्द्रित रहनेछ । तालिममा औद्योगिक इलेक्ट्रिक वायरिङ र स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणालीलगायत आवश्यक ह्यान्ड्स–अन सीपहरू समावेश छन् । सुरक्षित वायरिङ र गुणस्तरीय विद्युत सेवा सुनिश्चित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।

कार्यक्रम बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी सँगको सहकार्यमा सञ्चालन भइरहेको छ, जसले संरचित र उद्योग–सम्बन्धित प्राविधिक शिक्षा प्रदान गर्नेछ ।

कार्यक्रमको औपचारिक सुरुवात लिट्मस इन्डस्ट्रिज लिमिटेडकी निर्देशक साक्षी गुप्ता र बालाजु स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्रिन्सिपल सुशील कुमार श्रेष्ठबीच भएको सम्झौता हस्ताक्षर समारोहमार्फत गरिएको हो ।

समारोहमा बोल्दै निर्देशक साक्षी गुप्ताले यो पहल तालिम मात्र नभई समाज र ग्राहकप्रतिको जिम्मेवारी भएको उल्लेख गर्दै सुरक्षित वायरिङ अभ्यास र गुणस्तरीय विद्युत स्थापनालाई प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, प्रिन्सिपल सुशील कुमार श्रेष्ठले लिट्मसजस्तो प्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै यस कार्यक्रमले इलेक्ट्रीशियनहरूको सीप, व्यावसायिक दक्षता र सुरक्षा सचेतनामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै अग्रणी तार, केबल तथा कन्डक्टर निर्माता कम्पनी हो, जसले सुरक्षा, नवीनता र विश्वसनीयतामा उच्च मापदण्ड कायम गर्दै देशको पूर्वाधार विकासमा योगदान दिँदै आएको छ ।