ओली–बालेन आमनेसामने, दुवै पक्ष आक्रामक तयारीमा

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्वाधिक चासोको केन्द्र बनेको निर्वाचन क्षेत्र हो, झापा–५ ।

निर्वाचनपछि प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारिएका दुई चर्चित व्यक्तित्व—नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह (बालेन्द्र)—एकै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएपछि झापा–५ राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा पुगेको हो ।

नेकपा एमालेले माघ ३ गते बसेको सचिवालय बैठकमार्फत ओलीलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सारेको थियो । यता, पुस १३ गते रास्वपा र बालेनबीच भएको सातबुँदे सहमतिअनुसार बालेन चुनावपछि रास्वपाको संसदीय दलको नेता र प्रधानमन्त्रीको उम्मेदवार बन्ने सहमति भएको थियो । सोही सहमतिअनुसार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन रास्वपाको वरिष्ठ नेताको हैसियतमा झापा–५ बाट उम्मेदवार बनेका हुन् । दुई प्रधानमन्त्रीका दाबेदार आमनेसामने भएपछि यो निर्वाचन क्षेत्र प्रतिष्ठाको लडाइँका रूपमा हेरिन थालेको छ । उम्मेदवारी मनोनयन दर्ता गरेको भोलिपल्टदेखि नै ओली र बालेन दुवै जना चुनाव जित्ने लक्ष्यसहित सक्रिय देखिएका छन् । बुधबार बिहानैदेखि दुवै नेताले स्थानीय मतदातासँग भेटघाट, छलफल र संगठन सुदृढीकरणमा ध्यान केन्द्रित गरेका छन् ।

प्रधानमन्त्रीका उम्मेदवार भएकै कारण यो निर्वाचन दुवैका लागि राजनीतिक प्रतिष्ठासँग पनि जोडिएको छ । त्यसैले झापा–५ मा चुनावी गतिविधि अरू क्षेत्रभन्दा बढी चर्किएको देखिन्छ । चुनावी प्रचारका लागि रास्वपाले दमकमा भाडामा लिएको घरलाई आधार बनाएर बालेनले मतदाता भेटघाट गरिरहेका छन् । झापाका लागि नयाँ अनुहार भए पनि उनलाई भेट्न बालबालिकादेखि वृद्धसम्मको उल्लेखनीय भीड देखिन थालेको छ । बालेनको चुनावी रणनीति रास्वपाका नेता–कार्यकर्तासँगको भेटघाटमा मात्र सीमित छैन । अन्य दलका विशेषगरी युवा नेता–कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने प्रयासमा उनी देखिएका छन् । कांग्रेस र एमालेका युवा पंक्तिलाई लक्षित गरेर संवाद बढाइएको रास्वपा नेताहरूको भनाइ छ ।

बुधबार मात्र कांग्रेस र एमालेका केही स्थानीय नेता–कार्यकर्ताले बालेनलाई समर्थन गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । कांग्रेसका दमक सभापति प्रकाश प्रसाईं र कमल गाउँपालिकाका सचिव महेन्द्र बुढाथोकीले बालेनलाई समर्थन गर्दै रास्वपामा प्रवेश गरेका हुन् ।

त्यसैगरी, नेकपा एमाले निकट युवा संघका दमक नगर कमिटी अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङले पनि रास्वपा प्रवेश गरेका छन् । झापामा अबको एक साता निरन्तर चुनावी गतिविधि चल्ने रास्वपा नेता यज्ञमणि न्यौपानेले बताए।

युवामाझ लोकप्रिय रहेका बालेनले युवा मतदातालाई लक्षित रणनीति अपनाइरहँदा ओलीले पनि आफ्नो पकड कायम राख्न अभियानलाई तीव्र बनाएका छन् । मंगलबार उम्मेदवारी दर्ता गरेलगत्तै स्थानीय नेता–कार्यकर्तासँग भेटघाट थालेका ओलीले बुधबार पनि यही क्रमलाई निरन्तरता दिएका छन् । शुक्रबारसम्म झापामै बस्ने योजना बनाएका ओलीले स्थानीय मतदाता र कार्यकर्तासँगको भेटमा आफूले झापामा गरेका विकासका काम, एमालेको राष्ट्रिय नीति तथा युवाको भविष्यबारे चर्चा गरिरहेका छन् ।

बुधबार कमल गाउँपालिकाका कार्यकर्तासँगको भेटमा ओलीले एमालेले ७० प्रतिशत मत ल्याएर चुनाव जित्ने दाबी गरे । कांग्रेस कमजोर अवस्थामा रहेको र पूर्वमाओवादीका धेरै मतदाता पनि एमालेतर्फ आकर्षित भएको दाबी गर्दै ओलीले कुल खसेको मतको दुई तिहाइभन्दा बढी भोट एमालेले ल्याउने विश्वास व्यक्त गरे । “हामीलाई दबाब दिन खोज्नेहरू पनि आउन सक्छन्,” ओलीले भने, “तर त्यस्तो दबाब स्वीकार्य हुँदैन ।”

अस्थिरता सिर्जना गर्ने प्रवृत्तिबाट देशलाई जोगाउनुपर्ने आवश्यकता रहेको ओलीको भनाइ थियो । उनले दमकमा भएका केही घटनालाई इंगित गर्दै प्रश्न गरे, “नगरपालिका किन जलाइयो ? बिजनेस कम्प्लेक्स किन जलाइयो ?” दमकलाई नमुना सहरको रूपमा विकास गरिएको उल्लेख गर्दै ओलीले त्यहाँका संरचनालाई आइटी हब जस्ता उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्न सकिने धारणा राखे । “देश जलाएर, जनता आतङ्कित पारेर विकास हुँदैन,” उनले भने ।

दमक, कमल, गौरादह, गौरीगञ्जलगायत क्षेत्रमा भएका विकासका काम जनताका आँखाअघि स्पष्ट रहेको भन्दै जनमत आफ्नो विपक्षमा नजाने ओलीको विश्वास छ । झापा–५ मा नेकपा एमालेबाट केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन शाह (बालेन्द्र), नेपाली कांग्रेसबाट मन्धरा चिमरिया र नेकपाबाट रञ्जित तामाङसहित कुल २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर प्रधानमन्त्रीका दुई दाबेदारबीचको प्रत्यक्ष भिडन्तका कारण झापा–५ को चुनावलाई यसपटक राष्ट्रिय राजनीतिको निर्णायक संघर्षका रूपमा हेरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।