काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले चुनावपूर्व पार्टीले कुनै पनि दलसँग गठबन्धन नगर्ने दोहोर्याए । उनले नेपाली कांग्रेसले देशका १६५ वटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार कायम गरेको पनि उल्लेख गरे ।
‘यस विषयमा पार्टी सभापतिले स्पष्ट पारिसक्नुभएको छ । भ्रम निवारण गर्न मैले यति कुरा राखेको हो‚’ चालिसेले भने । बुधबार मात्र भिडियो सन्देश जारी गर्दै सभापति गगनकुमार थापाले कांग्रेस कुनै पनि दलसँग चुनावी गठबन्धन गरेर निर्वाचनमा नहोमिने स्पष्ट पारेका थिए । ‘सत्तामा पुग्न वा टिक्नका लागि जे पनि गर्ने वा जोसँग पनि मिल्ने गर्दैन । बरु आनन्दले सरकार बाहिर बस्छ‚’ थापाको भनाइ थियो । यता‚ बिहीबार बिहान नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत चुनावी गठबन्धनको पक्षमा आफूहरू नरहेको उल्लेख गरे ।
पार्टीको जुम बैठकलाई सम्बोधन गरेका प्रचण्डले स्पष्ट शब्दमा नेकपा एमाले वा अन्य दलसँग चुनावी तालमेल नहुने बताएका थिए । बैठकमा सहभागी नेता प्रकाश ज्वालाका अनुसार प्रचण्डले नेकपा आफ्नै क्षमतामा चुनाव लड्ने भन्दै गठबन्धन कुनै पनि हालतमा कसैसँग नगर्ने अडान राखेका थिए । ‘अब पनि सीट बाँडफाँट हुन्छ कि‚ गठबन्धन गर्छ कि भनेर शंका गर्नुपर्दैन भनेर संयोजकज्यूले भन्नुभयो‚’ ज्वालाले भने ।
बैठकमा प्रचण्डले जनताले नरूचाएको दल र नेता तथा सिद्धान्त नमिल्ने पार्टीसँग नेकपाले सहकार्य गरेर चुनाव नलड्ने भन्दै चुनावी तालमेल गर्ने कुरामा कुनै सत्यता नरहेको सुनाएका थिए । उनले धेरै निर्वाचन क्षेत्रका बहुसंख्यक सीटमा प्रतिस्पर्धा हुने भन्दै सबैले प्रयत्न गरे नेकपा पहिलो शक्ति बनेर दाबी समेत प्रस्तुत गरेका थिए । पछिल्ला दुई दिनमा दुई मुख्य राजनीतिक दलका मुख्य नेताले चुनावी गठबन्धन हुँदैन भन्न थाल्नुले केही प्रश्न भने उब्जाएको छ । यो प्रश्न उब्जाउने अवस्था भने तीन नेताबीच भएको भनिँदै आएको भेटघाटको अन्तर्यसँग जोडिन्छ ।
केही सूत्रहरूले भनेअनुसार केही दिनअघि नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा‚ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्डबीच भेट भएको छ । उक्त भेटमा नयाँ दलबाट चुनौती थपिएको र निश्चित उम्मेदवार जिताउन तीनै दलले अघोषित सहकार्य गर्ने विषयमा छलफल भएको सूत्रहरूको दाबी छ । देउवा निकट कांग्रेसका एक निवर्तमान केन्द्रीय सदस्यले भेट भएको जानकारी आफूलाई भएको तर‚ कन्टेन्टको विषयमा भने थाहा नभएको बताए । त्यसैले पनि पुराना तीन दलबीच चुनावी गठबन्धन हुँदैछ भन्ने कोणबाट चर्चा परिचर्चा भइरहेको छ ।
स्मरण गर्नुपर्ने विषय के छ भने कांग्रेसभित्र विशेष महाधिवेशन भएर नेतृत्व परिवर्तन भइसकेको छ । पार्टी सभापति गगनकुमार थापा छन् । ओली–प्रचण्डले देउवासँग संवाद गरेको र गठबन्धनको छलफल गरिएको भनिए पनि त्यसले आधिकारिकता पाउने अवस्था छैन । यी तीन नेता भेटेको र संवाद गरेको स्वतन्त्र पुष्टि पनि भएको छैन । तर‚ पनि नेताहरू गठबन्धन गर्नुहुँदैन भन्दै स्पष्टीकरण दिन थालेका छन् । बुधबार मात्र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एमाले चुनावी गठबन्धनका लागि ‘ओपन’ रहेको बताएका थिए । उनले देशका विभिन्न निर्वाचन क्षेत्रमा चुनावी तालमेलका लागि एमाले खुला भएको अभिव्यक्ति दिएका हुन् । उनले देश जलाउनेहरूविरुद्ध जान तयार राजनीतिक दलसँग विन–विन अवस्थामा एमालेले चुनावी तालमेल गर्न सक्ने भनेका थिए । ‘कतिपय निर्वाचन क्षेत्रमा हाम्रो सहकार्य हुन सक्छ । त्यसका लागि कुराहरू भइरहेको पनि छ‚’ पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले बोलेका छन्‚ ‘अहिले विभिन्न दलसँग कुनकुन निर्वाचन क्षेत्रमा आगामी फागुन २१ भन्दा अगाडिसम्म सहकार्य गर्न सकिन्छ भन्नेमा सबै पक्षबाट प्रयत्न जारी रहन्छ ।’
एकातिर तीन नेता भेटेर संवाद गरे भनिन् तथा अर्कोतर्फ एमाले उपाध्यक्ष थापाले पनि चुनावी सहकार्य गर्न सकिन्छ भनेर बोलेपश्चात् नेकपा र कांग्रेसका नेताहरू दबाबमा परेको बुझिएको छ ।अन्य दलको गतिविधि र पार्टी स्वयं गठबन्धन गर्दैछ भन्ने जसरी प्रचार गर्दा त्यसको असर कांग्रेसले भोग्नुपरेको प्रवक्ता देवराज चालिसे बताउँछन् । विशेष महाधिवेशनबाट नेतृत्व बदलेर चुनावमा होमिए पनि अझै पनि गठबन्धन गर्दैछ भन्ने भ्रम छर्नु जायज नहुने उनको भनाइ छ ।
‘हिजो गठबन्धन गर्दा हालत के भयो थाहा छँदैछ । अहिले कांग्रेसले पहल नै नगरेको गठबन्धन हुँदैछ रे भनेर मलाई निरन्तर प्रश्न आइरहेका छन्‚’ चालिसेले भने‚‘सभापतिज्यूले पनि स्पष्ट पार्नुभएको छ र म पनि भन्छु चुनावी गठबन्धन हुँदैन ।’माओवादी अध्यक्ष प्रचण्डले चाहिँ चुनावी गठबन्धन हुँदैन भनेर बोल्नुमा बुधबारको अर्को मुख्य घटना पनि कारक देखिएको छ । बुधबार मात्र एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले अर्को सहमति गरेका छन् । उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दुर्गा सोबले सहमतिमा हस्ताक्षर गरेर चुनावी गठबन्धन गरेका छन् ।
सहमति अनुसार पश्चिम रुकुममा एमालेका उम्मेदवार जनार्दन शर्माको पक्षमा एमालेले भोट हाल्ने भएको छ । त्यसैगरी, कर्णाली प्रदेशका हुम्ला, जुम्ला र मुगु जिल्लासहित पुरानो राप्ती अञ्चलका जिल्लामा एमालेका उम्मेदवारको पक्षमा प्रलोपाले सूर्य चिन्हमार्फत् मतदान गर्ने भएको छ । यसअघि यी दुई दलबीच केही समय अघि अर्को सहमति भएको थियो । उक्त सहमतिमा रुकुमपूर्वका प्रलोपाका उम्मेदवार सन्दीप पुनलाई एमालेले मतदान गर्ने सहमति भएको थियो । उक्त सहमतिपश्चात् एमाले अध्यक्ष ओली र नेकपा अध्यक्ष प्रचण्डबीच संवाद भएको थियो । सोही संवादपश्चात् प्रलोपा र एमालेबीच २१ माघमा भएको सहमतिमा एमालेले सन्दीपलाई सहयोग गर्ने विषय उल्लेख छैन ।
अब पनि चुनावी गठबन्धन गरेर जाने हो भने राजनीति नगरे हुने नेकपाका एक नेता बताउँछन् । विगतमा पनि गठबन्धन र सीमित नेताको राजनीति जोगाउन सिद्धान्त विपरीत भएको चुनावी सहकार्यले अहिले पार्टी इतिहासमा सीमित हुँदै गएको गुनासो ती नेताको छ । २०७४ मा एमालेको र २०७९ कांग्रेस लगायत दलको बुइ चढ्दा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ मत खस्किएको, प्रचण्ड र माओवादी (साविक) दुवैको शाख सकिँदै गएको ती नेताको भनाइ छ । ‘अझै पनि चुनावी गठबन्धन !‚’ ती नेताको टिप्पणी छ‚ ‘गठबन्धन गरेर अब यहाँभन्दा के सकिन बाँकी छ र ? कम्तीमा एक्लै चुनाव लडे केही उत्साह फर्किने थियो कि !’
प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।



































