निर्वाचन सुरक्षा : सडकमा निस्कियो सेना

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाली सेनाले सुरक्षा गस्ती तीव्र बनाएको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले देशैभरका सदरमुकामलगायत ठाउँमा सेनाले पैदल गस्ती सुरु गरेको हो । निर्वाचन नजिकिँदै जाँदा सम्भावित अवाञ्छित गतिविधि, हिंसा, धम्की तथा अस्थिरता नियन्त्रण गर्न सुरक्षा निकायले पूर्वतयारीका रूपमा गस्ती बढाएका हुन्। विशेष गरी सीमावर्ती क्षेत्र, भीडभाड हुने बजार क्षेत्र, राजनीतिक गतिविधि बढी हुने स्थान तथा अघिल्ला निर्वाचनमा विवाद देखिएका स्थानहरूमा सेनाको उपस्थिति बाक्लो बनाइएको छ ।

सरकारले आगामी निर्वाचनलाई सुरक्षित बनाउन देशभर झण्डै ८० हजार नेपाली सेना परिचालन गर्ने निर्णय गरेसँगै सर्लाहीमा पनि सेनाको संख्या वृद्धि गरिएको छ । जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसँगको समन्वयमा सेनाले सुरक्षा योजना कार्यान्वयन गरिरहेको छ । संयुक्त सुरक्षा संयन्त्रमार्फत नियमित अनुगमन, सूचना आदानप्रदान र जोखिम मूल्याङ्कनसमेत भइरहेको जनाइएको छ ।

सेनाले गस्तीका साथै विभिन्न निर्वाचन क्षेत्रहरूमा ‘सुरक्षा बेस’ स्थापना गर्न थालेको छ । ती सुरक्षा बेसहरूबाट संवेदनशील स्थानहरूको निगरानी, आकस्मिक घटनामा तत्काल प्रतिक्रिया तथा आवश्यक सहयोग उपलब्ध गराइने बताइएको छ । सुरक्षा बेस स्थापना भएपछि सुरक्षाकर्मीको परिचालन थप प्रभावकारी हुने र मतदातामा सुरक्षा अनुभूति बढ्ने अपेक्षा गरिएको छ। सर्लाही जिल्ला प्रशासन कार्यालयका अनुसार निर्वाचनको समय नजिकिँदै जाँदा राजनीतिक दलका कार्यक्रम, आमसभा, र्‍याली तथा प्रचार–प्रसार गतिविधि बढ्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षा रणनीति तयार गरिएको हो । प्रशासनले निर्वाचन आचारसंहिता पालना गराउन पनि निगरानी बढाइएको जनाएको छ ।

नेपाली सेनाको गस्तीले स्थानीयवासीमा सकारात्मक सन्देश पुगेको छ। मलङ्गवा, हरिवन, लालबन्दी, बरहथवा लगायतका क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले सुरक्षाकर्मीको उपस्थिति बढेपछि आफूहरू सुरक्षित महसुस गर्न थालेको बताएका छन् । केही नागरिकले अघिल्ला निर्वाचनमा देखिएका झडप, धम्की र अवरोधका घटनाहरू पुनः नदोहरियोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । यसैबीच, जिल्ला सुरक्षा समितिले निर्वाचनको पूर्वसन्ध्यामा विशेष सुरक्षा योजना लागू गर्ने तयारी गरेको छ । मतदान केन्द्रहरूको वर्गीकरण गरी संवेदनशील, अति संवेदनशील र सामान्य सूची तयार गरिएको छ । सोहीअनुसार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । अति संवेदनशील केन्द्रहरूमा थप सुरक्षा व्यवस्था, सीसीटीभी निगरानी र नियमित गस्तीको व्यवस्था गरिनेछ। निर्वाचन आयोगसँगको समन्वयमा सुरक्षाकर्मीहरूले मतपत्र ढुवानी, मतदान सामग्रीको संरक्षण तथा मतगणना स्थलको सुरक्षामा समेत विशेष ध्यान दिने योजना बनाएका छन् । मतगणना स्थलमा पनि उच्च सतर्कता अपनाइने प्रशासनले जनाएको छ ।

स्थानीय राजनीतिक दलका नेताहरूले पनि शान्तिपूर्ण निर्वाचनका लागि सुरक्षा निकायको सक्रियतालाई स्वागत गरेका छन्। उनीहरूले सबै दल र कार्यकर्तालाई संयमित रहन, आचारसंहिता पालना गर्न र निर्वाचनलाई स्वच्छ बनाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन्। प्रशासनका अनुसार निर्वाचन सम्पन्न नभएसम्म सुरक्षा गस्ती निरन्तर जारी रहनेछ । आवश्यकताअनुसार रात्री गस्ती, मोबाइल गस्ती तथा आकस्मिक टोली परिचालन गरिनेछ । यसरी सुरक्षा निकायको सक्रियता, प्रशासनको निगरानी र नागरिकको सहयोगबाट सर्लाहीमा आगामी निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरिएको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।