मध्यपूर्वमा रहेका नेपालीलाई सरकारले भन्यो : यात्रा स्थगित गरिहाल्नू

काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो सैन्य तनावका बीच नेपाल सरकारले इसराइल र इरान यात्रा गर्ने योजना बनाइरहेका नेपाली नागरिकलाई तत्कालका लागि यात्रा स्थगित गर्न आग्रह गरेको छ। परराष्ट्र मन्त्रालय ले सार्वजनिक सूचना जारी गर्दै क्षेत्रको सुरक्षा अवस्था अस्थिर रहेकाले परिस्थिति सामान्य नहुन्जेलसम्म ती देशहरूतर्फ यात्रा नगर्न अनुरोध गरेको हो।

इसराइल र अमेरिकाद्वारा शनिबार इरानमाथि गरिएको सैन्य हमलापछि त्यसको जबाफस्वरूप इरानले इसराइल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरिरहेको छ। पछिल्ला घटनाक्रमले क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील बनेको निष्कर्षसहित मन्त्रालयले नेपाली नागरिकलाई जोखिमपूर्ण यात्रा नगर्न सचेत गराएको हो।

मन्त्रालयका अनुसार हाल विकसित परिस्थितिमा अप्रत्याशित सुरक्षा जोखिम बढेकाले अत्यावश्यक बाहेक इसराइल र इरानतर्फको यात्रा योजना स्थगित गर्नु नै उपयुक्त हुनेछ। “परिस्थिति स्थिर नहुन्जेलसम्मका लागि यात्रा योजना नबनाउन अनुरोध गरिन्छ,” सूचनामा उल्लेख छ।

त्यस्तै, इसराइल र इरानमा बसोबास गरिरहेका नेपालीहरूलाई सम्बन्धित देशका सरकारले जारी गरेका सुरक्षा सूचना र निर्देशनहरू कडाइका साथ पालना गर्न भनिएको छ। सम्भावित आक्रमण, हवाई आक्रमणको चेतावनी तथा आपतकालीन सायरन जस्ता अवस्थालाई गम्भीरतापूर्वक लिन र तोकिएका सुरक्षित स्थलमा बस्न मन्त्रालयले आग्रह गरेको छ।

मध्यपूर्वका अन्य देशमा रहेका नेपालीहरूलाई पनि उच्च सतर्कता अपनाउन भनिएको छ। सकेसम्म घरभित्रै सुरक्षित रूपमा बस्न, अनावश्यक हिँडडुल नगर्न र स्थानीय प्रशासनको पूर्वअनुमति बिना लामो दूरीको यात्रा नगर्न मन्त्रालयले अनुरोध गरेको हो। आपतकालीन अवस्था सिर्जना भएमा तत्काल स्थानीय सुरक्षा निकाय र नेपाली दूतावाससँग सम्पर्क गर्न सुझाव दिइएको छ।

नेपालीहरूलाई त्यहाँ रहेका आफ्ना समुदायसँग समन्वयमा रहन र नियमित रूपमा सरकारी निकायसँग सम्पर्क कायम राख्न पनि भनिएको छ। विशेषगरी इसराइलस्थित तेल अविभ र कतारको दोहामा रहेका नेपाली दूतावाससँग नियमित सम्पर्कमा रहन मन्त्रालयले आग्रह गरेको छ। नेपाली दूतावास र म्यजब स्थित नेपाली दूतावासले आवश्यक परेमा सहायता उपलब्ध गराउने जनाइएको छ।

तेल अविभस्थित नेपाली दूतावासले पनि छुट्टै सूचना जारी गर्दै उच्च सतर्कता अपनाउन आह्वान गरेको छ। दूतावासले इसराइली सुरक्षा निकाय तथा होम फ्रन्ट कमान्डले जारी गरेका निर्देशहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ। सुरक्षित स्थान वा सेल्टरको पहिचान गरी आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन नागरिकहरूलाई सल्लाह दिइएको छ।

दूतावासले सम्बन्धित निकायको अनुमति बिना यात्रा नगर्न र कुनै पनि असामान्य गतिविधि देखिएमा तुरुन्तै जानकारी गराउन आग्रह गरेको छ। साथै, आकस्मिक अवस्था सिर्जना भएमा नजिकैको सुरक्षित स्थलमा बस्न र नियमित रूपमा दूतावाससँग सम्पर्क कायम राख्न निर्देशन दिइएको छ।

मध्यपूर्व क्षेत्रमा बढ्दो सैन्य गतिविधिका कारण हवाई उडान, स्थल यातायात र सार्वजनिक सेवामा समेत प्रभाव पर्न सक्ने आकलन गरिएको छ। यस्तो अवस्थामा नेपाल सरकारले आफ्ना नागरिकको सुरक्षा प्राथमिकतामा राख्दै निरन्तर अनुगमन गरिरहेको जनाएको छ। विकसित घटनाक्रमले थप जटिल रूप लिन सक्ने भएकाले नेपालीहरूलाई संयमित, सतर्क र आधिकारिक सूचनामै आधारित निर्णय लिन सरकारको आग्रह छ।

खाडीका अमेरिकी अखडामा इरानी हमला

अमेरिका र इसराइलले हमला गरेपछि इरानले खाडी र मध्यपूर्वका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा लक्ष्य गरेर जबाफी हमला गरेको छ। शनिबार बिहान इसराइलबाट इरानको राजधानी तेहरान लगायतका ठाउँहरूमा हमला भएको थियो। हमलाको केही पछि मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा अमेरिकाले हमला गरेको बताएका थिए। जबाफमा इरानले इसराइलमा दर्जनौं ब्यालिस्टिक मिसाइल प्रहार गरेको थियो।

सञ्चारमाध्यमहरूले इसराइली हवाई प्रतिरक्षा प्रणालीले इरानबाट प्रहार भएका हतियारहरूलाई नष्ट गरिरहेको भिडिओ पनि प्रसारण गरेका छन्। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार इरानले कतारमा रहेको अल उदैद हवाई अड्डा, कुवेतको अल–सालेम हवाई अड्डा, युएईको अल धाफ्रा एयर बेस, बहराइनस्थित नौसेना अड्डालाई निशाना बनाएको छ। यसबाहेक मध्यपूर्वका बहराइनमा रहेको अमेरिकी नौसेनाको अड्डा र उत्तरी इराकमा रहेको अमेरिकी आधार शिविरलाई पनि लक्ष्य बनाएको भनेर सिएनएनले लेखेको छ। कतारले तीन पटकसम्म इरानबाट आएको मिसाइल सफलतापूर्वक नष्ट गरिएको भनेको छ।

युएईमा हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेपनि मिसाइलको टुक्रा एउटा घरमा खसेको र एक जनाको मृत्यु भएको भनिएको छ। कुवेतका सैनिक प्रमुखले आकाश रक्षा प्रणालीले मिसाइलहरूलाई अवरोध गरेको पुष्टि गरेका छन्। जॉर्डनको सैन्य प्रवक्ताले दुई ब्यालेस्टिक मिसाइल सफलतापूर्वक रोकिएको जानकारी दिएका छन्।

इरानको जबाफी हमलाबाट अहिलेसम्म ठूलो क्षति र जनधनको विवरण नआएको भनेर सिएनएनले लेखेको छ। घटनाले मध्यपूर्वमा क्षेत्रीय तनाव बढ्ने खतरा निम्त्याएको छ। नेपालले इसराइल, इरान र अन्य देशमा रहेका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन भनेको छ।

प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार।