चुनावी एजेन्डामा परेको बाँदर आतंक न्युनीकरणको मुद्दा

गाउँघरमा बाँदर आतंकको समस्या बागलुङका किसानहरूको गुनासो मात्रै नभएर पहाडी भेगका अधिकांश गाउँबस्तीको साझा पीडा बनेको छ ।

जैमिनी नगरपालिका–५ की कुमारी थापा र प्रतीमा पौडेलका भनाइहरूले गाउँमा विकासका पूर्वाधार पुगे पनि वन्यजन्तुको बढ्दो सक्रियताले गर्दा मानिसहरू गाउँ छोड्न बाध्य भएको स्पष्ट पार्छ ।

बारीमा लगाएको अन्नबालीदेखि घरभित्र राखिएका सरसामानसम्म बाँदरले नष्ट गरिदिँदा किसानको मेहनत र लगानी बालुवामा पानी खन्याए जस्तै भएको छ । पहिले वनमा सीमित रहने बाँदरहरू अहिले घरभित्रै पस्नु र बालबालिका तथा वृद्धवृद्धामाथि आक्रमण गर्नुले सुरक्षामाथि समेत संकट मडारिएको छ ।

नेपालमा वन र बस्तीबिचको द्वन्द्वका पछाडि बहुआयामिक कारणहरू छन् । एकातिर सामुदायिक वनको सफल व्यवस्थापनका कारण वनभित्र रुखको घनत्व बढेको छ भने अर्कोतिर बसाइँसराइँले गर्दा गाउँका खेतबारी बाँझो रहँदा मानवीय क्रियाकलाप फितलो हुँदै गएका छन् । वनमा पाइने प्राकृतिक आहारको कमी र मानिसहरूले सजिलै उत्पादन गर्ने अन्नबालीको स्वादका कारण वन्यजन्तुहरू मानव बस्तीतर्फ आकर्षित भइरहेका छन् । जैमिनीका मतदाताले भनेझैँ पहिले मान्छे देखेर बाँदर डराउँथे, अहिले बाँदर देखेर मान्छे डराउन थालेका छन् ।

मानव–वन्यजन्तु द्वन्द्वको असर केवल कृषि उत्पादनमा मात्र सीमित छैन । यसले पहाडी क्षेत्रको बसाइँसराइँलाई अझ तीव्र बनाएको छ । हुनेखानेहरू शहर झरिसकेका छन् भने गाउँमा बाँकी रहेका न्यून आय भएका परिवारहरू बाँदर कुरुवा बसेर दिन बिताउन बाध्य छन् । यदि राज्यले समयमै यसलाई नीतिगत तहबाट सम्बोधन नगर्ने हो भने आगामी केही वर्षमा पहाडी गाउँहरू पूर्णरूपमा वन्यजन्तुको अखडामा परिणत भएर मानव सभ्यतामाथि खतरा उत्पन्न हुने देखिन्छ ।

निर्वाचनको समयमा उम्मेदवारहरूले मतदाताका यस्ता आधारभूत र व्यावहारिक समस्यालाई आफ्नो घोषणापत्रमा समेटेका पनि छन् । बरेङका तमबहादुर विकले अबको भोट जनताको माग र आवश्यकता बुझ्ने नेतालाई जानुपर्ने तर्क गरे । बाँदर नियन्त्रणलाई केवल ठट्टाको विषय नबनाई वातावरणीय सन्तुलन, वन्यजन्तु संरक्षण ऐनको पुनरावलोकन र किसानको क्षतिपूर्तिको व्यवस्थासँग जोडेर हेर्नु आवश्यक रहेको छ । वन्यजन्तुको संरक्षण गर्नु राज्यको दायित्व हो भने नागरिकको जिउधन र बालीनालीको सुरक्षा गर्नु झनै ठूलो जिम्मेवारी हो ।

स्थानीयको कृषि कार्यमा बाँदरले क्षति पुर्‍याउन थालेपछि मानवीय क्रियाकलाप, आर्थिक गतिविधि र जीवनशैलीमा नै प्रभाव पार्ने देखिन्छ । खेतीपातीबाट उत्पादन हुँदै आएका वस्तुहरू अब बाँदर आतंकलाई सम्झेर विस्थापित गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बाँदर आतंकका कारण स्थानीयले बेर्ना उत्पादन गर्दादेखि नै सोचविचार गर्नुपर्ने र बाँदरको हस्तक्षेपमा पर्ने बालीनालीलाई विस्थापित गर्नुपर्ने अवस्था छ । कृषकले स्थानीय हावापानी, माटो र उत्पादकत्व हेरेर खेती गर्ने नभई बाँदर आतंकको प्रभावमा नपर्ने बाली रोज्नुपर्ने अवस्था आएको छ ।

बागलुङका मतदाताले उम्मेदवारलाई सोधेको बाँदर आतंक नियन्त्रणको प्रश्नले नेपालको वन नीति र कृषि नीतिबिचको बेमेललाई उजागर गरेको छ । वन जोगाउँदा बस्ती असुरक्षित हुने र खेती गर्दा वन्यजन्तुले विनाश गर्ने अवस्थाको अन्त्य गर्न वैज्ञानिक वन व्यवस्थापन र वन्यजन्तुमैत्री कृषि प्रणालीको विकास आवश्यक छ । फागुन २१ गते हुने निर्वाचनले यस्ता भुइँतहका समस्या समाधान गर्ने र गाउँमा बस्ने वातावरण सुनिश्चित गर्ने नेतृत्व छान्नु आवश्यक छ । मतदाताले देखाएको चासोले आगामी दिनमा बाँदर आतंकलाई केवल गाउँको समस्या नभई राष्ट्रिय सुरक्षा र खाद्य सम्प्रभूताको मुद्दाका रूपमा स्थापित गर्नुपर्छ।

मिति २०८२ फागुन १७ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकदेखि साभार ।