वासिङ्टन । चीन एउटा कृत्रिम बौद्धिकता सम्बन्धी प्रतिस्पर्धामा अगाडि देखिएको छ भने अमेरिका अर्को क्षेत्रमा अगाडि छ, तर अन्ततः कसले पूर्ण रूपमा नेतृत्व लिन्छ भन्ने अझै स्पष्ट छैन । अहिले अमेरिका र चीनबीच प्रविधिमा प्रभुत्व जमाउने प्रतिस्पर्धा तीव्र रूपमा चलिरहेको छ ।
विशेषगरी कृत्रिम बौद्धिकता क्षेत्रमा । यो प्रतिस्पर्धा अनुसन्धान केन्द्रहरू, विश्वविद्यालयहरू र नयाँ प्रविधि कम्पनीहरूमा भइरहेको छ, जसलाई विश्वका धनी कम्पनीका नेतृत्वकर्ता र उच्च सरकारी निकायहरूले नजिकबाट हेरिरहेका छन् । यस क्षेत्रमा खरबौँ डलर लगानी भइरहेको छ । दुवै देशका आफ्ना विशेषता रहेको छ । अमेरिका कृत्रिम बौद्धिकताको ‘मस्तिष्क’ अर्थात् संवाद प्रणाली, सूक्ष्म चिप र विशाल भाषा मोडेलमा अगाडि छ भने चीन ‘शरीर’ अर्थात् रोबोट, विशेषगरी मानवरूपी रोबोट निर्माणमा अगाडि छ । तर यी अवस्थाहरू स्थायी नहुन सक्छन् र प्रतिस्पर्धा भविष्यमा अझ परिवर्तन हुन सक्छ ।
३० नोभेम्बर २०२२ मा क्यालिफोर्नियामा रहेको एक प्रविधि कम्पनीले नयाँ संवाद प्रणाली सार्वजनिक गरेपछि विश्वभर ठूलो प्रभाव परेको थियो । यसले इन्टरनेटमा रहेका विशाल तथ्याङ्कको अध्ययन गरेर भाषा र विचार अभिव्यक्तिका ढाँचाहरू सिक्ने प्रणालीको सुरुआत गर्यो । अहिले यस्ता प्रणालीहरू करोडौँ मानिसले प्रयोग गरिरहेका छन् । अमेरिकाका विभिन्न कम्पनीहरूले यस क्षेत्रमा अर्बौँ डलर लगानी गर्दै प्रतिस्पर्धा बढाएका छन्, किनभने यसले धेरै कार्यालयीय कामहरू स्वतः गर्न सक्ने सम्भावना राख्छ र ठूलो आर्थिक लाभ दिन सक्छ ।
अमेरिकाको बलियो पक्ष केवल सफ्टवेयर मात्र नभई सूक्ष्म चिपमा पनि आधारित छ, जसले यी प्रणालीहरूलाई चलाउने शक्ति दिन्छ । विश्वका धेरै शक्तिशाली चिपहरू अमेरिकाको नियन्त्रणमा छन् र तिनको पहुँच चीनमा सीमित गरिएको छ । उच्चस्तरीय चिप उत्पादनका लागि आवश्यक मेसिनहरू पनि चीनमा पठाउन रोक लगाइएको छ, जसले अमेरिकालाई केही समयसम्म अग्रता दिलाएको थियो ।
तर चीनले पनि आफ्नो प्रयास बढाएको छ । जनवरी २०२५ मा चीनले नयाँ संवाद प्रणाली सार्वजनिक गर्यो, जुन कम लागतमा निर्माण गरिएको भए पनि अमेरिकी प्रणालीसँग लगभग समान क्षमताको देखिएको थियो । यसले अमेरिकी प्रविधि क्षेत्रमा ठूलो झट्का दिएको थियो । प्रतिबन्धका कारण चीनले आफ्नै समाधान विकास गर्न बाध्य भएको र यसले आत्मनिर्भरता बढाएको देखिन्छ । चीनमा खुला स्रोतको अभ्यास बढी भएकाले कम्पनीहरूले आफ्ना प्रविधिहरू सार्वजनिक गर्छन्, जसले अन्यलाई त्यसलाई सुधार गर्न सजिलो बनाउँछ । यसले प्रतिस्पर्धालाई अझ तीव्र बनाएको छ ।
रोबोट र ड्रोन क्षेत्रमा भने चीन पहिलेदेखि नै अगाडि छ । सरकारले ठूलो लगानी गरेर रोबोट उद्योगलाई प्रोत्साहन दिएको छ, जसका कारण अहिले चीनमा करिब बीस लाख रोबोट कार्यरत छन् । केही पूर्ण रूपमा स्वचालित कारखानाहरूमा हजारौँ रोबोटले काम गर्छन् र मानिस बिना पनि उत्पादन सम्भव हुन्छ । चीनमा दैनिक जीवनमा पनि रोबोटको प्रयोग बढ्दो छ । वृद्ध जनसंख्या बढ्दै जाँदा रोबोटले श्रम अभाव पूर्ति गर्ने अपेक्षा गरिएको छ, र अहिले विश्वभर निर्यात हुने मानवरूपी रोबोटमध्ये धेरैजसो चीनबाटै आउँछन् ।
तर रोबोट चलाउनका लागि ‘मस्तिष्क’ अर्थात् उन्नत कृत्रिम बौद्धिकता आवश्यक हुन्छ । साधारण कामका लागि साधारण प्रणाली पर्याप्त भए पनि जटिल कामका लागि स्वतन्त्र रूपमा निर्णय गर्न सक्ने उन्नत प्रणाली चाहिन्छ, जसमा अमेरिका अझै अगाडि छ । रोबोटको मूल्यको ठूलो हिस्सा यसको मस्तिष्कमै निर्भर हुन्छ । अहिले दुवै देश रोबोट र उन्नत कृत्रिम बौद्धिकतालाई एकीकृत गर्ने प्रयासमा छन् । केही रोबोटहरूले औद्योगिक निरीक्षण गर्न सक्ने क्षमता देखाइसकेका छन् भने युद्ध क्षेत्रमा पनि यस्ता प्रविधिहरू प्रयोग हुन थालेका छन्, जहाँ यन्त्रहरूले आफै लक्ष्य पहिचान गरी आक्रमण गर्न सक्छन् ।
विशेषज्ञहरूका अनुसार यो प्रतिस्पर्धाको कुनै निश्चित अन्त्य बिन्दु छैन । जसले आफ्नो अर्थतन्त्रमा प्रभावकारी रूपमा प्रविधि प्रयोग गर्न सक्छ र विश्वस्तरमा मापदण्ड तय गर्न सक्छ, उही दीर्घकालीन रूपमा सफल हुनेछ । एकतर्फ उपभोक्ता केन्द्रित प्रणालीको विकास भइरहेको छ भने अर्कोतर्फ राज्यको नियन्त्रणमा आधारित मोडेल अघि बढाइएको छ । अन्ततः जसले बढी प्रयोगकर्ता र समर्थन प्राप्त गर्छ, उही विजेता बन्ने सम्भावना छ । यस प्रतिस्पर्धाले २१ औँ शताब्दीमा विश्व शक्ति सन्तुलन निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । (बीबीसीबाट भावानुवाद)




































