काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ नेतृत्व चयन गर्दै तारा मानन्धरलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।
बैंकको सञ्चालक समितिको बिहीबार बसेको बैठकले उनलाई चार वर्षे कार्यकालका लागि उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
कम्पनी सचिव डण्डपानी ढकालका अनुसार सञ्चालक समितिको ३७१ औँ बैठकले मानन्धरलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । हाल कार्यरत सीईओ प्रद्युमन पोखरेलको कार्यकाल २०८३ वैशाख मसान्तसम्म रहने भएकाले त्यसपछि मानन्धरले २०८३ जेठ १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।
स्याङ्जाको हरिनास गाउँपालिका स्थायी घर भएका मानन्धर हाल काठमाडौंको टोखामा बसोबास गर्दै आएका छन् । उनी यसअघि डिस मिडिया नेटवर्कको सीईओको रूपमा कार्यरत थिए भने बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव हासिल गरेका छन् ।
मानन्धरले प्रभु बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकजस्ता वित्तीय संस्थामा काम गरिसकेका छन् । बैंकिङ र व्यवस्थापन दुवै क्षेत्रमा अनुभव संगालेका उनलाई अब मुक्तिनाथ विकास बैंकको नेतृत्वमा नयाँ जिम्मेवारी दिइएको हो ।



































