दुर्गन्धले स्वास्थ्यमा कसरी असर गर्छ

नाक ठोक्किन आइपुग्ने दुर्गन्धले वाकवाकी मात्र गराउँदैन, यसले शरीर र दिमागमा पनि असर गर्न सक्छ

इलेन कर्नरका लागि गर्मीको दिनमा आफ्नो बगैँचामा निस्किनु असह्य हुने गर्छ । उनी यसलाई खुला फोहोर बोक्ने ट्रकको पछाडि हिँडे जस्तो भनी तुलना गर्छिन् ।

इंग्ल्याण्डको मार्केट टाउन वेस्टबरीस्थित आफ्नो घरका सबै झ्यालहरू बन्द गर्दा पनि आफू नजिकैको फोहोर प्रशोधन केन्द्रबाट आउने वाकवाकीलाग्दो गन्धबाट उम्किन नसक्ने कुरा ती अवकाशप्राप्त शिक्षिका बताउँछिन् । ‘हामी हाम्रो बगैँचा प्रयोग गर्न वा घुम्न निस्किन सक्दैनौँ, तपाईंलाई बान्ता होला जस्तो महसूस हुन्छ,’ कर्नर भन्छिन् ।

कुनै न कुनै समयमा हामी सबैले फोहोर फाल्न जाँदा, फोहोरको थुप्रो नजिकैबाट गाडीमा जाँदा वा कुनै कारखानाको बिरामी बनाउने खालको गन्ध आउँदा सडेगलेको फोहोरको दुर्गन्ध भोगेका हुन्छौँ । यस्तो दुर्गन्धमा निरन्तर बसिरहेको कल्पना मात्र गर्नुहोस् ।

यद्यपि हामी यस्तो गन्ध प्रदूषणले स्वास्थ्य र जीवनको गुणस्तरमा पार्ने प्रभावहरूमा थोरै मात्र ध्यान दिन्छौँ । दुर्गन्धलाई प्रायः व्यक्तिगत धारणा वा सामान्य विषय भनेर बेवास्ता गरिन्छ । अनुसन्धानले देखाउँछ कि मानिसहरू सामान्यतया दृष्टि, श्रवण, स्पर्श र स्वादको तुलनामा आफ्नो सुँघ्ने क्षमतालाई कम महत्व दिन्छन् । अमेरिकाका केही कलेजका विद्यार्थीहरूले त आफ्नो फोन गुमाउनुभन्दा सुँघ्ने शक्ति गुमाउन तयार रहेको समेत स्वीकार गरेका छन् ।

भयानक दुर्गन्धमा बस्दा हुने असजिलोपन मात्र होइन, अध्ययनहरूले शहरी क्षेत्रका अप्रिय गन्धहरूलाई टाउको दुख्ने र वाकवाकी लाग्नेदेखि लिएर सास फेर्न गाह्रो हुने वा निद्रामा गडबडी हुने जस्ता स्वास्थ्य समस्याहरूसँग जोडेका छन् । यसले दीर्घकालीन मानसिक र शारीरिक प्रभावहरू पनि पार्न सक्छ । अनुसन्धानको बढ्दो दायराले हाम्रो शरीर र दिमागको स्वास्थ्यमा सुगन्ध वा गन्धले खेल्ने आश्चर्यजनक रूपमा महत्वपूर्ण भूमिका बुझ्न मद्दत गरिरहेको छ ।

खतराको सुगन्ध

सुँघ्ने शक्ति आंशिक रूपमा हामीलाई बिरामी हुन वा संक्रमणबाट बच्न मद्दत गर्ने प्रारम्भिक चेतावनी संकेतका रूपमा विकसित भएको हो । कुनै कुरा गनाउँछ भने त्यसमा हामीलाई हानि पुर्‍याउने ब्याक्टेरियाहरू हुने सम्भावना हुन्छ । स्वीडेनको स्टकहोमस्थित क्यारोलिन्स्का इन्स्टिच्युटका सुँघ्ने विज्ञानका प्राध्यापक जोहान लुन्डस्ट्रोमका अनुसार हाम्रो तथाकथित व्यवहारात्मक प्रतिरक्षा प्रणालीको एक हिस्सा हो । ‘घ्राण प्रणालीले मुख्यतया वातावरणमा हुने खतराको बारेमा हामीलाई चेतावनी दिन सिकाउने प्रणालीका रूपमा काम गर्छ,’ लुन्डस्ट्रोम भन्छन् । उनको कामले यो पनि देखाएको छ कि नाकबाट सास फेरेको करिब ३०० मिलिसेकेन्डभित्रै मस्तिष्कमा गन्धका संकेतहरू प्रशोधन भइसक्छन् । दुर्गन्धको सम्पर्कमा आएका अध्ययनका सहभागीहरूले तीव्र शारीरिक प्रतिक्रिया देखाए र स्वाभाविक रूपमा गन्धको स्रोतबाट टाढा हटे ।

सुँघ्ने शक्तिको रक्षात्मक प्रवृत्तिका कारण कुनै गन्ध नकारात्मक छ भनेर कसैलाई विश्वस्त पार्न आश्चर्यजनक रूपमा सजिलो हुन्छ, चाहे त्यो गन्ध सामान्यतया सुखद नै किन नमानियोस् । लुन्डस्ट्रोम भन्छन्, ‘यदि हामीले कुनै गन्ध पत्ता लगायौँ र त्यो के हो भन्ने थाहा पाएनौँ भने यो प्रायः जसो नकारात्मक अनुभव नै हुन्छ ।’

जब कुनै गन्ध खतरासँग जोडिएको हुन्छ, यसप्रति हाम्रो संवेदनशीलता नाटकीय रूपमा बढ्न सक्छ । एउटा अध्ययनमा लुन्डस्ट्रोम र उनका सहकर्मीहरूले देखाए कि गन्धलाई बिजुलीको झड्कासँग जोड्दा मानिसहरूले त्यो गन्ध निकै कम मात्रामा हुँदा पनि पत्ता लगाउन सक्छन्, यो प्रतिक्रिया सम्भवतः मानिसहरूलाई सम्भावित खतराहरूप्रति चाँडै प्रतिक्रिया दिन मद्दत गर्न विकसित भएको हो, चाहे गन्ध एकदमै मधुरो नै किन नहोस् । त्यसैगरी ढल प्रशोधनमा उत्पन्न हुने ग्यास हाइड्रोजन सल्फाइडको सडेको अण्डा जस्तो गन्ध प्रतिअर्ब ०.५ भाग जति न्यून मात्रामा हुँदा पनि महसूस गर्न सकिन्छ, जुन उच्च सांद्रतामा घातक हुने ग्यासका लागि एउटा चेतावनीको घण्टी हो ।

वास्तविक स्वास्थ्य प्रभावहरू

सुँघ्नु भनेको खतरा पत्ता लगाउने मात्र होइन, गन्धले मानिसको स्वास्थ्य र भलाईमा धेरै वास्तविक प्रभावहरू पार्न सक्छ । वैज्ञानिकहरूले देखाएका छन् कि वनजङ्गलको बास्ना जस्ता राम्रा सुगन्धहरू हाम्रो मानसिक स्वास्थ्यका लागि फाइदाजनक हुन सक्छन्, किनभने तिनीहरूले भावना र स्मृतिसँग जोडिएका मस्तिष्कका क्षेत्रहरूलाई उत्तेजित गर्छन् ।

यसको विपरीत दुर्गन्धले हाम्रो स्वास्थ्यमा हानि पुर्‍याउन सक्छ भन्ने प्रमाणहरू पनि छन्, यद्यपि वैज्ञानिकहरू अझै पनि गन्ध प्रदूषण र कुनै प्रत्यक्ष शारीरिक प्रभावहरू बीचको सटीक सम्बन्ध पत्ता लगाउने प्रयासमा छन् । सन् २०२१ को अध्ययनहरूको समीक्षाले दुर्गन्धका कारण हुने टाउको दुख्ने वा बान्ता हुने जस्ता लक्षणहरू पछाडि केही जैविक तर्कसङ्गतता फेला पारेको थियो । उदाहरणका लागि नराम्रो गन्धले मस्तिष्क र पेटलाई जोड्ने स्नायु प्रणालीको मुख्य हिस्सा ‘भेगस नर्भ’लाई सक्रिय बनाउन सक्छ, जसले गर्दा बिरामी वा वाकवाकी महसूस हुन्छ । तर त्यो समीक्षामा संलग्न वैज्ञानिकहरूले अन्ततः स्पष्ट निष्कर्ष निकाल्नका लागि गन्धको शारीरिक प्रभावहरूबारे थप अनुसन्धान आवश्यक रहेको निष्कर्ष निकालेका थिए ।

हाम्रो स्वास्थ्यमा पार्ने असरको हद हामी त्यो गन्धबाट कति चिन्तित छौँ भन्ने कुरामा पनि निर्भर गर्छ । अमेरिकाको फिलाडेल्फियास्थित मोनेल केमिकल सेन्सेस सेन्टरकी संज्ञानात्मक मनोवैज्ञानिक पामेला डाल्टन, जसले गन्धको स्वास्थ्य प्रभावहरूबारे ३२ वर्ष अनुसन्धान गरेकी छन् । भन्छिन्, ‘स्वास्थ्य प्रभाव कुनै गन्धप्रतिको व्यक्तिको नापसन्द वा डरमार्फत निर्देशित हुन्छ ।’ तपाईं कुनै गन्धको बारेमा जति धेरै चिन्तित हुनुहुन्छ, यसले तपाईंको स्वास्थ्य र भलाईमा त्यति नै धेरै प्रभाव पार्न सक्छ ।

जीवनशैलीमा परिवर्तन

निरन्तरको दुर्गन्ध जीवनका धेरै पक्षहरूमा छिर्न सक्छ । यसले कसैलाई जीवनशैलीमा परिवर्तन गर्न बाध्य पार्न सक्छ, जुन उनीहरूको स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यी परिवर्तनहरूलाई मूलाधार अनुकूलन कार्य भनिन्छ । उदाहरणका लागि कसैले गर्मी दिनमा पनि झ्यालहरू बन्द राख्न वा व्यायाम गर्न वा साथीहरूसँग समय बिताउन बाहिर जानबाट बच्न बाध्य महसूस गर्न सक्छ । वेस्टबरीको दुर्गन्धमा बस्दा सामाजिक जीवनलाई असर गर्ने कर्नर बताउँछिन् । ‘यदि तपाईं गर्मीमा बारबेक्यूको योजना बनाउँदै हुनुहुन्छ भने तपाईंले दुर्गन्धले नभगाओस् भन्ने आशा गरिरहनुभएको हुन्छ,’ उनले भनिन् ।

फेरि पनि दुर्गन्धको हल्का आभास कसैका लागि असह्य हुन सक्छ तर अरूका लागि यो खासै महसूस नहुने खालको हुन सक्छ । नियमित रूपमा गन्ध सम्बन्धी उजुरीहरूको अनुसन्धान गर्ने डाल्टन भन्छिन्, ‘प्रतिक्रियाहरूको विस्तृत दायरा हुनेछ; कोही भन्छन् कि उनीहरूले कहिलेकाहीँ गन्ध पाउँछन्, वा यसले उनीहरूलाई दुःख दिँदैन ।’ उमेर, लिङ्ग, एलर्जी र धुम्रपान जस्ता जीवनशैलीका छनोटहरू मानिसले गन्धलाई कसरी बुझ्छन् भन्ने कुराका कारकहरू हुन् ।

तपाईंले आशा गर्न सक्नुहुन्छ कि मानिसहरू समयसँगै अप्रिय गन्धमा अभ्यस्त हुन सक्छन् तर फोहोर फाल्ने ठाउँबाट आउने जस्ता अप्रिय गन्धहरूको बारम्बारको सम्पर्कले तिनीहरूलाई सहन सजिलो बनाउँछ भन्ने छैन ।

यसको विपरीत तटस्थ वा सुखद सुगन्धमा अभ्यस्त हुनु सामान्य हो । लुन्डस्ट्रोम भन्छन्, ‘एकपटक तपाईंले कुनै गन्ध सुँघ्नुभयो र यो कुराले तपाईंलाई मार्ने छैन भन्ने ठम्याउनुभयो भने तपाईंले त्यो गन्ध सुँघ्न छोड्नुहुन्छ ।’ यही कारण हो कि मानव नाकले १० खर्ब गन्धहरू पत्ता लगाउन सके तापनि खतरनाक नभएका वस्तुहरूको गन्धको नाम बताउन मानिसलाई सामान्यतया गाह्रो हुन्छ । सुँघ्ने परीक्षणहरूले सुझाव दिन्छ कि हामीमध्ये आधाभन्दा कमले मात्र कफी वा भनिला जस्ता दैनिक गन्धहरूको सही नाम बताउन सक्छौँ ।

दुर्गन्ध विरुद्धको लडाइँ

दुर्गन्ध कहिलेकाहीँ आउने र जाने हुन सक्छ, प्रायः हावाको बहावसँगै वा कुनै विशेष छरछिमेकको केही भागमा मात्र महसूस हुन सक्छ । क्यानडाको युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियाकी वातावरणीय मोडलिङ र नीतिका सहप्राध्यापक अमान्डा जियाङ, जसले भ्यानकुभरका वासिन्दाहरूमा गन्ध प्रदूषणको प्रभावबारे अनुसन्धान गरेकी छन् । भन्छिन्, ‘यो एकदमै स्थानीय हुन सक्छ । म एक ब्लक टाढा बस्न सक्छु र अर्को ब्लकमा सडेको माछा जस्तो गन्ध आउँछ भन्ने मलाई कहिल्यै थाहा नहुन सक्छ ।’

तर सबै दुर्गन्धहरू समान रूपमा अनुभव गरिँदैनन्‌ः सस्तो आवास भएका पिछडिएका छिमेकहरू प्रायः दुर्गन्धित फोहोर फाल्ने ठाउँ वा भारी उद्योगहरूको नजिक हुन्छन् । युरोप र बेलायतमा गरिएका अध्ययनहरूले सुझाव दिन्छन् कि केही देशहरूमा कम आय भएका समुदायका मानिसहरू उच्च आय भएकाहरूको तुलनामा फोहोर जलाउने ठाउँ, ल्यान्डफिल र खतरनाक फोहोर साइटहरूको १.२५ माइल (२ किमी) को दायराभित्र बस्ने सम्भावना बढी हुन्छ ।

भयानक गन्धको बारेमा उजुरीहरूले परिवर्तन ल्याउन सक्छन्‌ः ढल निकास केन्द्रदेखि माछा प्रशोधन कारखानासम्मका ठाउँहरू वासिन्दाहरूको अभियानपछि आफ्नो सञ्चालन घटाउन वा बन्द गर्न बाध्य भएका छन् । चिलीमा माछाको दाना बनाउने कारखानाहरूबाट आउने गन्धमा नयाँ नियमदेखि लिएर लिथुआनियामा आवासीय क्षेत्रहरूमा कम्पनीहरूले कति दुर्गन्ध फैलाउन पाउने भन्ने कडा नियमहरूसम्म, विश्वभर गन्ध प्रदूषणलाई अझ राम्रोसँग नियन्त्रण गर्न बढ्दो तर असमान प्रयासहरू भइरहेका छन् ।

गन्धका फाइदाहरू

अप्रिय गन्धले ग्रस्त छिमेकमा बस्नेहरूका लागि जीवन कठिन हुन सक्छ तर त्यहाँ कम्तिमा एउटा सानो सान्त्वना छः सुँघ्ने शक्ति राम्रोसँग काम गर्नु राम्रो स्वास्थ्यको महत्वपूर्ण हिस्सा हो ।

अनुसन्धानले देखाएको छ कि सुँघ्ने शक्ति तीव्र भएका मानिसहरूले खाना र यौनबाट समेत बढी आनन्द लिन्छन्‌ः ७० जना वयस्कहरूमा गरिएको २०८२ को एक अध्ययनमा उच्च घ्राण संवेदनशीलता भएकाहरूले यौन गतिविधिहरूबाट बढी आनन्द मिलेको बताए र तीमध्ये महिलाहरूले यौनसम्पर्कका क्रममा चरम आनन्दको आवृत्ति पनि उच्च रहेको बताए ।

यसको विपरीत सुँघ्ने शक्ति नभएका अनुमानित ५% मानिसहरू (जसलाई गन्ध अन्धोपन वा एनोस्मिया भनिन्छ) ले व्यापक स्वास्थ्य प्रभावहरूको सामना गर्छन् । एनोस्मिया भएका मानिसहरूसँगको अन्तर्वार्ताले सुझाव दिन्छ कि उनीहरूले खानाको आनन्द लिन कठिनाइ हुने भएकाले भोक कम लाग्ने र कम गुणस्तरको आहार हुने उच्च जोखिम महसूस गर्छन् । लुन्डस्ट्रोम भन्छन्, ‘यदि तपाईंले आफ्नो सुँघ्ने शक्ति गुमाउनुभयो भने तपाईंले आफ्नो भोक हराएको याद गर्नुहुनेछ ।’

अझ खराब कुरा त अनुसन्धानले कमजोर सुँघ्ने शक्ति भएका वृद्ध वयस्कहरूमा १० वर्षभित्र मृत्यु हुने जोखिम ४६% बढी हुने कुरा देखाएको छ । वैज्ञानिकहरू अझै पनि यसो हुनुको कारण स्पष्ट पार्ने प्रयासमा छन्, यद्यपि उनीहरूले यसलाई मुटु रोग र अल्जाइमर तथा पार्किन्सन जस्ता न्युरो डिजेनेरेटिभ रोगहरूबाट हुने मृत्युसँग जोडेर हेर्छन् ।

दशकौँदेखि गन्धको अनुसन्धान गरेकी डाल्टन भन्छिन्, ‘मलाई नराम्रो गन्ध सुँघ्न आपत्ति छैन किनभने यसको अर्थ मेरो सुँघ्ने शक्तिले साँच्चै काम गरिरहेको छ !’

निःसन्देह वेस्टबरीकी कर्नर जस्ता मानिसहरूलाई यस्तो महसूस नहुन सक्छ । सो साइटको सञ्चालक हिल्स वेस्ट सोलुसनले गन्धका चिन्ताहरू सम्बोधन गर्न वातावरण एजेन्सीसँग मिलेर काम गरिरहेको बताएको छ । (बीबीसीबाट भावानुवाद)

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।