काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिका गरी १० वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित भएका छन्।
प्रतिनिधि सभाअन्तर्गतका १० वटा र दुई वटा संयुक्त समितिका सभापतिका लागि बिहीबार अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो। त्यसमा १० वटा समितिमा एकल उम्मेदवारी परेको छ भने दुई वटा समितिमा दुई–दुई जनाको उम्मेदवारी परेको प्रतिनिधि सभाका सचिव हर्कराज राईले जानकारी दिए।
प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. कृष्णहरि बुढाथोकी निर्विरोध निर्वाचित भएका छन्। सभापतिका लागि रामेछापको मन्थली–१२ का ४५ वर्षीय बुढाथोकीको मात्रै उम्मेदवारी परेको थियो। रास्वपाकै पुष्पा चौधरी प्रस्तावक रहेकी थिइन् भने सुशीला खड्काले समर्थक रहेकी थिइन्।
त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा रास्वपाकै सुम्निमा उदास निर्विरोध निर्वाचित भएकी छन्। उनको प्रस्तावकमा सुरेन्द्र चौधरी र समर्थकमा विना गुरुङ रहेका थिए। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा रास्वपाकै रहवर अन्सारी निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा सोम शर्मा र समर्थकमा अरविन्द साह रहेका थिए। प्रतिनिधि सभा अन्तर्गतकै कानुन, न्याय तथा मानव अधिकार समितिको सभापतिमा रास्वपा सांसद समीक्षा बास्कोटा निर्विरोध निर्वाचित भएकी छन्। उनको प्रस्तावकमा प्रकाशचन्द्र परियार र समर्थकमा मनिष खनाल रहेका थिए। संघीय संसद्को संयुक्त संसदीय सुनुवाई समितिको सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा मधुकुमार चालागाई र समर्थकमा गजाला शमीम मिकरानी रहेका थिए।
प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा रास्वपाका हरि ढकाल निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा पुरुषोत्तम शुप्रभात यादव र समर्थकमा श्रद्धा कुवर क्षेत्री रहेकी थिइन्। त्यस्तै, सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका थिए। प्रतिनिधि सभाअन्तर्गतकै महिला तथा सामाजिक मामिला सििमतको सभापतिमा रास्वपाकी आकृति अवस्था निर्विरोध निर्वाचित भएकी छन्। उनको प्रस्तावकमा दिपककुमार साह र समर्थकमा प्रमिला कुलुजू थिए। यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा रास्वपाकै आशिष गजुरेल निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा प्रदिप विष्ट र समर्थकमा निशा डाँगी रहेकी थिइन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा रास्वपाका अशोककुमार चौधरी निर्विरोध निर्वाचित भएका छन्। उनको प्रस्तावकमा समिना मिया र समर्थकमा केपी खनाल रहेका थिए। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि भने निर्वाचन हुने प्रतिनिधि सभाका सचिव राईले बताए। यो समितिको सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा (एमाले)का गुरुप्रसाद बरालले उम्मेदवारी दिएका छन्।
शेरचनको प्रस्तावकमा डा. लेखजंग थापा र समर्थकमा खुश्बु सरकार श्रेष्ट थिए भने बरालको प्रस्तावकमा सीता थपलिया र समर्थकमा भीमकुमारी बुढा मगर रहेका थिए। यस्तै, संसद्को संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको छ। यसमा रास्वपाका गणेश कार्की र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की मदनकुमारी शाह (गरिमा)ले उम्मेदवारी दिएकी छन्। कार्कीको प्रस्तावकमा रिमा विश्वकर्मा र समर्थकमा सुशान्त वैदिक तथा शाहको प्रस्तावकमा जनकराज गिरी र समर्थकमा पुष्पराज कँडेल रहेका छन्। शुक्रबार सम्बन्धित समितिको बैठकमा सभापतिको उम्मेदवारी निर्णयार्थ प्रस्तुत गरिने प्रतिनिधि सभाका सचिव राईले बताए। सम्बन्धित समितिमा प्रस्तावकले सभापतिको नाम प्रस्तुत गर्नेछन् भने समर्थकले समर्थन जनाउनेछन्। एकल उम्मेदवारी परेका उम्मेदवारलाई निर्विरोध सभापति निर्वाचित भएको घोषणा गरिनेछ। शुक्रबार दिउँसो १ बजे सबै समितिको बैठक बोलाइएको छ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































