कांग्रेस क्रियाशील अद्यावधिकलाई लिएर संस्थापन र इतरको विवाद

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्र क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा कडाइ गर्दै अब एकमुस्ट रूपमा समय नथप्ने निर्णय गरेको छ ।

१५औँ महाधिवेशनलाई लक्षित गर्दै नवीकरण गरिएका क्रियाशील सदस्यहरूले अनिवार्य रूपमा डिजिटल माध्यमबाट आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने प्रावधान राखिएपछि पार्टीभित्र यस विषयमा विवादसमेत देखिएको छ । पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिले यसअघि नै सदस्यता वितरण, छुट नवीकरण तथा अद्यावधिकसम्बन्धी सम्पूर्ण काम २०८३ जेठ २१ गतेभित्र सक्नुपर्ने निर्णय गरेको थियो। सो समयसीमा अब सकिन लागेकाले समितिले थप समय नदिने स्पष्ट संकेत गरेको हो । समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीले अब कसैले छुटेका भए पनि एकमुस्ट रूपमा समय थप्ने अवस्था नरहेको बताएका छन् । उनका अनुसार यदि कुनै जिल्ला वा तहले अनुरोध गरेमा सीमित समय भने दिन सकिनेछ, तर त्यो पनि अधिकतम एक साताभित्रै काम सम्पन्न गर्ने सर्तमा मात्र हुनेछ ।

“अब समग्र रूपमा समय थप्ने अवस्था छैन । सम्बन्धित समितिले आग्रह गरेमा छोटो अवधिका लागि मात्रै समय दिन सकिन्छ, तर त्यो पनि एक हप्ताभन्दा बढी हुँदैन,” उनले बताए । चौधरीका अनुसार कुनै तहले क्रियाशील सदस्यता अद्यावधिकको काम नै नगरेको अवस्थामा भने त्यसको विकल्प खोजिनेछ । त्यस्तो अवस्थामा जिम्मेवार नेतृत्वलाई समय थपेर काम गराउनेभन्दा पनि नयाँ विकल्प खोज्ने निष्कर्षमा समिति पुगेको उनले जानकारी दिए । “यदि कामै भएको छैन भने त्यही नेतृत्वलाई फेरि समय दिएर बस्न सकिँदैन, विकल्प खोजिन्छ,” उनले स्पष्ट पा रे।

तर, पार्टीभित्र सबै पक्ष भने यस निर्णयसँग सहमत छैनन्। निवर्तमान सभापति शेरबहादुर देउवानिकट समूह तथा नेता शेखर कोइराला पक्षले भने १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरणको प्रक्रिया गत पुस १० गते नै पूरा भइसकेको दाबी गर्दै पुनः अद्यावधिक गर्नुपर्ने आवश्यकता नरहेको अडान लिएका छन् । यसै सन्दर्भमा नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हालै विज्ञप्ति जारी गर्दै पहिले नै नवीकरण भइसकेका सदस्यतालाई नै कायम गर्नुपर्ने बताएका छन् । उनले पुस १० गतेसम्म नवीकरण भएका तथा त्यसपछि वितरण गरिएका सदस्यताहरूलाई मान्यता दिई ती सदस्यहरूलाई महाधिवेशनमा सहभागी गराइनुपर्नेमा जोड दिएका छन् ।

उक्त विज्ञप्तिमा पार्टीका सबै तहका नेता, कार्यकर्ता तथा समर्थकहरूलाई यसबारे स्पष्ट र आश्वस्त पार्न खोजिएको उल्लेख गरिएको छ । तर, समितिका सदस्य चौधरीले भने यस विषयमा केही नेताहरूलाई पर्याप्त रूपमा बुझाउन नसकिएको स्वीकार गरेका छन् । उनका अनुसार नवीकरण गरिएका सबै सदस्यहरू १५औँ महाधिवेशनका मतदाता हुनेमा कुनै द्विविधा छैन, तर मतदान प्रक्रियालाई व्यवस्थित बनाउन नयाँ व्यवस्था ल्याइएको हो ।

उनले मतदान प्रक्रियालाई उदाहरण दिँदै भने, “जसरी आम निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य हुन्छ, त्यसैगरी पार्टीको अधिवेशन र महाधिवेशनमा मतदान गर्न पनि परिचयपत्र आवश्यक बनाउने तयारी गरिएको हो ।” उनले सो परिचयपत्र प्राप्त गर्नका लागि डिजिटल अद्यावधिक अनिवार्य गरिएको स्पष्ट पारे । समितिको निर्णयअनुसार अद्यावधिक नगरेका सदस्यहरूले परिचयपत्र प्राप्त गर्ने छैनन् र परिचयपत्र नपाएमा उनीहरूले अधिवेशन वा महाधिवेशनमा मतदान गर्न नपाउने अवस्था सिर्जना हुनेछ । यसले पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ । यद्यपि, पार्टीले सदस्यता नवीकरण गरिसकेका सदस्यहरूलाई अद्यावधिक गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको छ। यसबाट सदस्यहरूलाई आर्थिक भार नपरोस् भन्ने उद्देश्य राखिएको बताइएको छ ।

पार्टीभित्र देखिएको यो विवाद नयाँ भने होइन। गत पुस अन्तिम साता केन्द्रीय समितिको पूर्ण सहमतिबिना सम्पन्न विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएपछि कांग्रेसभित्र आन्तरिक विवाद सुरु भएको थियो। सोही विवाद अहिले क्रियाशील सदस्यता नवीकरण र अद्यावधिक प्रक्रियामा पनि देखिएको छ ।
इतर समूहले विशेष महाधिवेशनअघि नै नवीकरण गरिएका सदस्यहरूलाई पुनः अद्यावधिक गर्नुपर्ने व्यवस्था अव्यवहारिक भएको दाबी गर्दै आएको छ ।

उनीहरूको तर्क छ कि एकपटक वैधानिक रूपमा नवीकरण भइसकेका सदस्यतामा पुनः प्रक्रिया थप्नु अनावश्यक झन्झट मात्र हो । तर, संस्थापन पक्ष भने समयअनुकूल प्रविधिमैत्री प्रणाली अपनाउँदै पार्टीका सदस्यहरूको तथ्यांक व्यवस्थित राख्न डिजिटल अद्यावधिक अनिवार्य गर्नुपर्ने पक्षमा छ। उनीहरूको भनाइमा यसले भविष्यमा पार्टी सञ्चालनलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्नेछ । यसरी, क्रियाशील सदस्यता अद्यावधिकको विषय अहिले नेपाली कांग्रेसभित्र महत्वपूर्ण राजनीतिक बहसको विषय बनेको छ । समयसीमा सकिनै लाग्दा दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहँदा आगामी दिनमा यो विवाद अझ कसरी समाधान हुन्छ भन्ने चासो बढेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।