काठमाडौँ । नेपाल साफ महिला च्याम्पियनसिप २०२६ को सेमिफाइनलबाट बाहिरिएको छ। भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
खेलमा नेपालले सुरुआती अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा फाइनल पुग्ने अवसर गुमायो। यससँगै नेपाल साफ महिला च्याम्पियनसिपको इतिहासमा दोस्रो पटक सेमिफाइनलबाटै बाहिरिएको छ। यसअघि सन् २०१६ मा पनि नेपाल फाइनल पुग्न असफल भएको थियो ।
नेपालले खेलको २२औँ मिनेटमा गीता रानाको गोलमार्फत अग्रता बनाएको थियो। दीपा शाहीको कर्नरबाट सिर्जना भएको अवसरमा गीता रानाले उत्कृष्ट फिनिसिङ गर्दै बललाई जाली चुमाएकी थिइन् ।
तर पहिलो हाफको इन्जुरी समयमा बंगलादेशले खेल बराबरीमा ल्यायो । रितु पोर्ना चक्माले कर्नरबाट सिधै गोल गर्दै टोलीलाई १–१ को अवस्थामा पुर्याइन् ।
दोस्रो हाफमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन्। खेलको ३४औँ मिनेटमा रश्मीकुमारी घिसिङको हेडरलाई बंगलादेशकी गोलरक्षक मिली अख्तरले नियन्त्रणमा लिएकी थिइन् भने ३६औँ मिनेटमा प्रीति राईको प्रहार क्रसबारमा लागेर फर्किएको थियो।
यस्तै, ६९औँ मिनेटमा सरु लिम्बूको प्रहार लक्ष्यभन्दा थोरैले बाहिरियो। नेपालकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बाप्पो सुब्बाले ७९औँ मिनेटमा उत्कृष्ट बचाउ गर्दै टोलीलाई खेलमा कायम राखेकी थिइन् ।
खेल अतिरिक्त समयमा धकेलिने संकेत देखिएको अवस्थामा बंगलादेशले इन्जुरी समयमा निर्णायक गोल गर्यो। शामसुन्नाहर जुनियरको क्रसमा वैकल्पिक खेलाडी मोसम्मत सागोरिकाले गोल गर्दै बंगलादेशलाई २–१ को जित दिलाइन् ।
योसँगै नेपाल पछिल्ला तीन संस्करणमा लगातार बंगलादेशसँग नकआउट चरणमा पराजित भएको छ। नेपाल सन् २०२२ र २०२४ को फाइनलमा पनि बंगलादेशसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । साथै, नेपालले पछिल्लो पाँच वर्षयता बंगलादेशलाई पराजित गर्न सकेको छैन ।
पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने नेपालको लक्ष्य यसपटक पनि अधुरै रह्यो। उता साविक विजेता बंगलादेश भने लगातार तेस्रो तथा समग्रमा चौथोपटक फाइनलमा पुगेको छ। अब बंगलादेशले उपाधिका लागि भारत र भुटानबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।































