पर्यटन भित्रियो ठूलो लगानी : काठमाडौंमा रिट्ज–कार्लटन र वेस्टिनका लागि सम्झौता

काठमाडौं । विश्व आतिथ्य उद्योगको अग्रणी कम्पनी म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटी ग्लोबलबीच काठमाडौंमा दुई उच्चस्तरीय होटेल सञ्चालनका लागि सम्झौता भएको छ । सम्झौतासँगै म्यारियटका विश्वप्रसिद्ध रिट्ज–कार्लटन र वेस्टिन ब्रान्ड पहिलोपटक नेपाली बजारमा प्रवेश गर्ने भएका छन् ।

सन् २०३१ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखिएका यी दुई होटेलले नेपालको पर्यटन तथा आतिथ्य क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ । सम्झौताअनुसार काठमाडौंमा रिट्ज–कार्लटन काठमाडौं र वेस्टिन काठमाडौं स्थापना हुनेछन् । यी होटेल सञ्चालनमा आएपछि म्यारियट समूहको विश्वव्यापी होटेल सञ्जालमा करिब तीन सय नयाँ आवास कक्ष थपिनेछन् । अन्तर्राष्ट्रियस्तरका विलासी तथा उच्चस्तरीय सेवा प्रदान गर्ने यी ब्रान्डले नेपाललाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सीजी हस्पिटालिटी ग्लोबल चौधरी समूहको आतिथ्य क्षेत्रसम्बन्धी अन्तर्राष्ट्रिय कम्पनी हो । नेपालकै सबैभन्दा ठूलो बहुराष्ट्रिय व्यावसायिक समूहका रूपमा परिचित चौधरी समूहले आतिथ्य सेवा, उपभोग्य वस्तु उत्पादन, वित्तीय सेवा, दूरसञ्चार, शिक्षा, पूर्वाधार, सिमेन्ट, विद्युतीय सवारीसाधन तथा घरजग्गा विकासलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । चौधरी समूह र म्यारियट इन्टरनेसनलबीच दक्षिण एसियाका विभिन्न परियोजनामार्फत लामो समयदेखि सहकार्य हुँदै आएको छ । नयाँ सम्झौताले दुवै कम्पनीबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै उच्चस्तरीय आतिथ्य सेवाको विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । रिट्ज–कार्लटन काठमाडौं र वेस्टिन काठमाडौं चौधरी समूह, आईईजी समूह, आईजे समूह तथा शर्मा एन्ड कम्पनीको साझेदारीमा निर्माण हुनेछन् ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेसनलका सञ्चालक समिति अध्यक्ष डेभिड म्यारियट, चौधरी समूह तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष डा. विनोद चौधरी, प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, म्यारियटका एसिया–प्रशान्त क्षेत्रीय अध्यक्ष राजीव मेनन, दक्षिण एशियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट तथा साझेदार संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सम्झौतापछि राजीव मेननले नेपालजस्तो उच्च सम्भावना भएको बजारमा विश्वस्तरीय आतिथ्य सेवा विस्तार गर्न पाउँदा खुसी लागेको बताए । उनका अनुसार, नयाँ परियोजनाले पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक गतिविधि विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ । चौधरी समूहको अनुभव र नेपालको दीर्घकालीन विकासप्रतिको प्रतिबद्धताले यी होटेललाई क्षेत्रकै विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास उनले व्यक्त गरे ।

सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक राहुल चौधरीले यो सहकार्य नेपाल र दक्षिण एशियाको आतिथ्य क्षेत्रका लागि नयाँ अध्याय भएको बताए । उनले काठमाडौंमा निर्माण हुने परियोजनाले विश्वस्तरीय सेवा, स्थानीय संस्कृति र दिगो विकासलाई एकसाथ जोड्ने उल्लेख गर्दै रोजगारी सिर्जना तथा पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटले नेपाल र भारतमा रिट्ज–कार्लटन काठमाडौं, वेस्टिन काठमाडौं तथा जेडब्लू म्यारियट होटेलसहित तीन नयाँ परियोजना अघि बढाइएको जानकारी दिए । उनका अनुसार, यी परियोजनाले म्यारियटका प्रतिष्ठित ब्रान्डहरूलाई नयाँ क्षेत्रमा विस्तार गर्नुका साथै पर्यटन, रोजगारी र लगानीका अवसर सिर्जना गर्नेछन् । उनले यस विस्तारले सीजी समूहसँगको सहकार्य अझ बलियो बनेको सन्देश दिएको बताए ।

ठमेल क्षेत्रमा निर्माण हुने रिट्ज–कार्लटन काठमाडौं नेपालमा यस ब्रान्डको पहिलो होटेल हुनेछ । होटेलमा १५० अतिथि कक्ष र ३० विशेष सुइट रहनेछन् । पाँच भोजनालय तथा विश्रामस्थल, खुला पौडी पोखरी, व्यायाम केन्द्र, स्वास्थ्य तथा सौन्दर्य सेवा केन्द्र र आधुनिक सभा–सम्मेलन कक्षको व्यवस्था गरिनेछ । होटेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब पाँच किलोमिटर दुरीमा रहनेछ भने ठमेल, नारायणहिटी दरबार संग्रहालय, काठमाडौं दरबार क्षेत्र, स्वयम्भूनाथ र पशुपतिनाथजस्ता प्रमुख सम्पदास्थल नजिकै रहनेछ ।

त्यसैगरी, वेस्टिन काठमाडौंमा १५० उच्चस्तरीय अतिथि कक्ष तथा सुइट रहनेछन् । होटेलमा भोजनालय, व्यायाम केन्द्र, स्वास्थ्य सेवा केन्द्र, छतमा पौडी पोखरी तथा अत्याधुनिक सभा–समारोह कक्ष रहने व्यवस्था गरिनेछ । यात्रुहरूको स्वास्थ्य, आराम र सन्तुलित जीवनशैलीलाई केन्द्रमा राखेर होटेल निर्माण गरिने जनाइएको छ ।

यी दुई परियोजना म्यारियट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच विस्तार हुँदै गएको सहकार्यको पछिल्लो महत्त्वपूर्ण उपलब्धि मानिएको छ । पछिल्ला दुई वर्षभित्र भारतमा म्यारियटसँग सम्बन्धित ७५ भन्दा बढी होटेल परियोजनामा सम्झौता भइसकेको छ भने ४३ सहरमा ५० होटल सञ्चालनमा आइसकेका छन् ।

दुवै कम्पनीले आगामी दिनमा अन्य क्षेत्रहरूमा समेत सहकार्य विस्तार गर्ने सम्भावना अध्ययन गरिरहेका छन् । अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बेथेस्डामा मुख्यालय रहेको म्यारियट इन्टरनेसनल विश्वकै अग्रणी आतिथ्य कम्पनीमध्ये एक हो । कम्पनीका होटेल तथा आवास सेवा १४६ देश र क्षेत्रमा फैलिएका छन् । चौधरी समूहअन्तर्गतको सीजी हस्पिटालिटीले भने १२ देशका १३० गन्तव्यमा दुई सयभन्दा बढी होटेल तथा विश्रामस्थल सञ्चालन गर्दै आएको छ । कम्पनीले सन् २०३० सम्म आफ्नो होटेल सञ्जाल उल्लेख्य रूपमा विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।