काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक विवाद थप सार्वजनिक बन्दै गएको छ । विशेष महाधिवेशनबाट चयन भएको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शन गरेको छ ।
पार्टीभित्र बढ्दो गुटबन्दी, महाधिवेशनको अन्योल र नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त समूहले एकजुट भएर आफ्नो उपस्थिति देखाएको हो । विराटनगरमा आयोजित भेलामा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला र डा. शेखर कोइराला निकट समूहहरू एकै ठाउँमा उभिएका थिए। अघिल्लो समय यी समूहहरूबीच आन्तरिक प्रतिस्पर्धा भए पनि वर्तमान नेतृत्वप्रति असन्तुष्टिका कारण उनीहरू एउटै मोर्चामा देखिएका हुन् । भेलामा डा. कोइरालालाई मुख्य नेताका रूपमा प्रस्तुत गरिएको थियो र उनी नै कार्यक्रमका प्रमुख वक्ता थिए ।
भेलामा नेताहरूले पार्टीभित्र देखिएको असन्तुलन, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव र कार्यकर्तामाथि भइरहेको व्यवहारप्रति गम्भीर प्रश्न उठाएका थिए । डा. कोइरालाले पार्टीलाई फुट्न नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दै वर्तमान परिस्थितिमा कांग्रेस कमजोर बन्ने जोखिम बढेको बताए । उनले पार्टीभित्र निरंकुश प्रवृत्ति देखिन थालेको आरोप लगाउँदै वडा तहका सभापतिहरूलाई मौखिक रूपमा हटाउने कार्य गलत अभ्यास भएको उल्लेख गरे । उनले पार्टी नेतृत्वसमक्ष पाँच बुँदे प्रस्ताव पेश गरेको जानकारी दिँदै ती प्रस्तावहरू कार्यान्वयन नहुनु चिन्ताजनक भएको बताए ।
“सहमति भएको लामो समय बितिसक्दा पनि निर्णय किन अघि बढ्न सकेन ?” भन्ने प्रश्न उठाउँदै उनले नेतृत्वलाई स्पष्टता दिन आग्रह गरे । साथै उनले कांग्रेस कमजोर हुँदा देशको लोकतन्त्र र राष्ट्रियता पनि कमजोर हुने चेतावनी दिए । नेता कृष्णप्रसाद सिटौलाले पनि नेतृत्वप्रति कडा असन्तुष्टि व्यक्त गरे । उनले पार्टीभित्र भइरहेको ढिलासुस्ती र अनिर्णयको अवस्था अन्त्य गर्न नेतृत्वले साहस देखाउनुपर्ने बताए । “निर्णय लिन १० मिनेट पनि लाग्दैन, तर त्यसका लागि इच्छाशक्ति चाहिन्छ,” उनले भने । सिटौलाले आफ्नै सहकर्मीहरूमाथि भइरहेको व्यवहार अमानवीय भएको टिप्पणी गर्दै यस्तो प्रवृत्ति तत्काल अन्त्य गर्नुपर्ने बताए ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी अहिले विभाजित अवस्थामै रहेको भन्दै दुवै पक्षले लचकता अपनाउनुपर्ने आवश्यकता औंल्याए । उनले बीपी कोइरालाको आदर्श स्मरण गर्दै राजनीति व्यक्तिगत स्वार्थका लागि नभई जनताका लागि हुनुपर्ने धारणा व्यक्त गरे । वर्तमान नेतृत्व एक्लैले पार्टी चलाउन खोज्नु अव्यावहारिक भएको उनको भनाइ थियो । कार्यक्रममा नेता विजयकुमार गच्छदारले आफ्नो लामो राजनीतिक अनुभव स्मरण गर्दै पार्टी विभाजनको पीडा आफूले भोगिसकेको बताए । उनले कांग्रेसभित्र डर र असुरक्षा बढेको उल्लेख गर्दै यस्तो अवस्था अन्त्य गर्न सबै नेता एकजुट हुनुपर्ने बताए । उनले विराटनगरको ऐतिहासिक भूमिका स्मरण गर्दै कांग्रेसलाई पुनः बलियो बनाउनुपर्नेमा जोड दिए । नेता बलबहादुर केसीले पनि आफ्नो पाँच दशकभन्दा लामो राजनीतिक जीवनको अनुभव सुनाउँदै इमानदार कार्यकर्ताले सम्मान नपाएको गुनासो गरे । उनले विगतका आन्दोलनहरूमा दिएको योगदानको स्मरण गर्दै अहिलेको अवस्था पार्टीका लागि चिन्ताजनक भएको बताए । त्यस्तै, नेता मिनेन्द्र रिजालले व्यक्तिगत अहंकार त्यागे मात्र विवाद समाधान सम्भव हुने धारणा राखे। उनले नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि चुनावपछि सबै एकै ठाउँमा उभिनुपर्ने बताए। व्यक्ति केन्द्रित सोचका कारण पार्टी कमजोर भएको उनको निष्कर्ष थियो ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतले वर्तमान नेतृत्वमाथि आक्रामक टिप्पणी गर्दै पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्याएको आरोप लगाए । नेता मीन विश्वकर्माले पनि कांग्रेसको वर्तमान अवस्था लज्जास्पद भएको भन्दै गम्भीर समीक्षा आवश्यक रहेको बताए । कार्यक्रममा अन्य नेताहरूले पनि गुटबन्दी अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका थिए । केही नेताहरूले आगामी निर्वाचनमा खराब परिणाम आउने चेतावनी दिँदै समयमै सुधार नगरे पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने बताएका छन् । समग्रमा, विराटनगरको शक्ति प्रदर्शनले कांग्रेसभित्रको असन्तुष्टि मात्र होइन, नेतृत्वमाथि बढ्दो दबाबलाई पनि उजागर गरेको छ। इतर समूहले एकताको सन्देश दिए पनि उनीहरूको गतिविधिले पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ समीकरणको संकेत गरेको छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।































