अस्ट्रेलियाको टप एन्ड टी–२० मा नेपाल सहभागी हुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी अगस्टमा अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगिता अगस्ट २० देखि ३० तारिखसम्म अस्ट्रेलियाको डार्विनमा सञ्चालन हुनेछ । नेपाल यस संस्करणमा सहभागिता सुनिश्चित गर्ने पहिलो टोली बनेको छ भने अन्य सहभागी टोलीहरूको घोषणा हुन बाँकी रहेको छ ।

टप एन्ड टी–२० सिरिजलाई अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण तयारी प्रतियोगिताका रूपमा हेरिन्छ । विभिन्न देशका राष्ट्रिय तथा घरेलु टोलीहरूको सहभागिता रहने यस प्रतियोगिताले खेलाडीहरूलाई उच्चस्तरीय प्रतिस्पर्धात्मक वातावरणमा खेल्ने अवसर प्रदान गर्ने गर्दछ ।

नेपाली टोलीका लागि पनि यो प्रतियोगिता आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी, टोली संयोजनको परीक्षण तथा खेलाडीहरूको प्रदर्शन मूल्यांकनका दृष्टिले महत्वपूर्ण मानिएको छ । पछिल्ला वर्षहरूमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा उल्लेखनीय प्रगति गरिरहेको अवस्थामा टप एन्ड टी–२० सिरिजले टोलीलाई थप अनुभव र प्रतिस्पर्धात्मक क्षमता विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

गत संस्करणमा नेपालले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको थिएन । लिग चरणका ६ खेलमध्ये २ खेलमा मात्र जित हासिल गरेको नेपाल ४ अंकसहित आठौं स्थानमा सीमित भएको थियो । यसपटक भने अघिल्लो संस्करणको कमजोरी सुधार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ नेपाली टोली प्रतियोगितामा सहभागी हुने तयारीमा रहेको छ ।

प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।