काठमाडौँ । होटल संघ नेपाल (हान) ले बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा भक्तपुरस्थित भिलेज हाइल्यान्ड रिसोर्टका प्रबन्ध निर्देशक रामसुन्दर बकेलाई मनोनयन गरेको छ ।
संघको कार्यसमिति बैठकले गरेको निर्णयअनुसार उनलाई प्रदेशस्तरमा संगठन विस्तार तथा होटल व्यवसायीलाई एकीकृत गर्ने जिम्मेवारी दिइएको हो । असार १४ गते बसेको होटल संघ नेपालको कार्यसमिति बैठकले बकेलाई बागमती प्रदेश तदर्थ समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको संघले जनाएको छ । मनोनयनसँगै संघले उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वमा बागमती प्रदेशका सबै जिल्लालाई समेट्ने सक्षम, समावेशी र प्रभावकारी प्रदेश समिति गठन हुने विश्वास व्यक्त गरेको छ।
संघका अनुसार होटल संघ नेपालको विधान तथा कार्यविधिअनुसार बागमती प्रदेशअन्तर्गतका जिल्लाका प्रतिनिधिहरूको सहभागितामा प्रदेश समिति गठन गरिनेछ । त्यसपछि पदाधिकारी तथा सदस्यहरूको नामावली तयार गरी संघको केन्द्रीय सचिवालयमा पेश गर्न अध्यक्ष बकेलाई पत्रमार्फत अनुरोध गरिएको छ ।
हानले प्रदेशस्तरमा संगठनलाई थप सशक्त बनाउने, होटल व्यवसायीबीच समन्वय र सहकार्य बढाउने तथा व्यवसायिक हित संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा नयाँ नेतृत्वसँग गरेको छ । साथै पर्यटन क्षेत्रको दिगो विकास, होटल उद्योगका साझा समस्या समाधान, निजी क्षेत्र र सरोकारवाला निकायबीच सहकार्य अभिवृद्धि तथा प्रदेशस्तरमा पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालनमा पनि अध्यक्ष बकेको नेतृत्व प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
नवनियुक्त अध्यक्ष रामसुन्दर बके होटल तथा आतिथ्य क्षेत्रका अनुभवी व्यवसायीका रूपमा परिचित छन् । उनी आबद्ध रहेको भिलेज हाइल्यान्ड रिसोर्टले भक्तपुरको पर्यटन प्रवर्द्धन र आतिथ्य सेवामा योगदान पुर्याउँदै आएको छ । उनको व्यावसायिक अनुभवले बागमती प्रदेशका होटल व्यवसायीलाई संगठित गर्दै संघको गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
होटल संघ नेपालले पछिल्लो समय प्रदेश संरचनालाई सुदृढ बनाउने अभियानलाई तीव्रता दिँदै आएको छ । प्रदेशस्तरमा बलियो संगठन निर्माणमार्फत होटल तथा पर्यटन उद्योगका समस्या समाधान, व्यवसायिक अधिकारको संरक्षण र पर्यटन क्षेत्रको समग्र विकासमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने संघको लक्ष्य रहेको ।



































