कृषिप्रधान देश नेपालमा मनसुनको आगमन करोडौँ किसानको जीवन–मरणसँग जोडिएको छ । विडम्बना ! यस वर्ष मनसुन भित्रिएको लामो समय बितिसक्दा पनि सक्रिय हुन नसक्दा किसानहरूले ठूलो चिन्ताका साथ समस्या भोग्नुपरेको छ ।
सरदर मितिभन्दा ६ दिन ढिलो गरी असार ५ गते कोशी प्रदेशबाट भित्रिएको मनसुन निष्क्रिय रहँदा देशभर नै लामो खडेरी र चर्को गर्मीको मार परेको छ । तर जल तथा मौसम विज्ञान विभागले यस हप्ता मनसुन सक्रिय हुने र देशका अधिकांश भूभागमा वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेसँगै किसानको अनुहारमा केही आशाको किरण पलाएको छ ।
मौसमविद्हरूको पछिल्लो प्रक्षेपणअनुसार अबको केही दिनमा मनसुन सक्रिय हुने र देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने सम्भावना छ । विशेषगरी शुक्रबार र शनिबारसम्म ‘लु’ (तातो हावाको लहर) र भीषण गर्मी झेलिरहेका लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईवासीका लागि अब राहतको वर्षा हुनेछ । त्यति मात्र होइन, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा समेत मनसुनको सक्रियता बढ्ने र किसानलाई धान रोपाइँको वातावरण बन्ने पूर्वानुमानले कृषि क्षेत्रमा उत्साह थपेको छ । लामो समयदेखि आकाशतिर फर्केर पानीको प्रतीक्षा गरिरहेका किसानका लागि वर्षा निकै महत्वपूर्ण छ।
नेपालको कृषि प्रणाली अझै पनि ठूलो मात्रामा आकाशे पानीमै निर्भर छ । यस्तो अवस्थामा मनसुनको सक्रियतामा हुने १–२ हप्ताको ढिलाइले पनि कुल धान उत्पादनमा ठूलो प्रभाव पार्छ । गत वर्षहरूमा जस्तै यस वर्ष पनि मनसुन अवधिभर सरदरभन्दा कम वर्षा र बढी गर्मी हुने जलवायु विज्ञहरूको प्रक्षेपणले भविष्यको गम्भीर संकेत गरिरहेको छ । बढ्दो तापमान र जलवायु परिवर्तनको प्रभावका कारण मनसुनको लय बिग्रिँदै गएको छ ।
अहिलेको वर्षाले तत्कालका लागि किसानलाई रोपाइँको अवसर जुराउला । तर दिगो कृषि र खाद्य सुरक्षाका लागि केवल मनसुनको कृपामा भर पर्नु कमजोरी हो । देशको आधाभन्दा बढी जनसंख्या आश्रित रहेको कृषि क्षेत्रमा सिँचाइका लागि अझै पनि आकाशे पानीकै भर पर्नुपर्ने अवस्था लज्जास्पद छ । बर्षौँदेखि योजनामा रहेका ठूला सिँचाइ आयोजनाहरू समयमै सम्पन्न नहुनु, साना सिँचाइका स्रोतहरू संरक्षण नहुनु र जलस्रोतको उचित व्यवस्थापन हुन नसक्नुले मनसुनको १ हप्ताको ढिलाइ पनि किसानका लागि समस्या बन्ने गरेको छ ।
सरकारले मौसमको पूर्वानुमान जारी गरेर मात्रै दायित्व पूरा भएको मान्नु हुँदैन । कृषि मन्त्रालय र सम्बन्धित निकायहरूले समयमै बीउबिजन, मलखाद र प्राविधिक सहयोग उपलब्ध गराउनु त छँदैछ, किसानलाई जलस्रोतको पहुँचमा जोड्ने दीर्घकालीन नीति पनि कार्यान्वयनमा ल्याउनु आवश्यक छ । मनसुन सक्रिय हुँदा र वर्षा हुँदा बाढीपहिरोको उच्च जोखिम समेत हुने भएकाले तटीय क्षेत्र र पहाडी भेगका वासिन्दाले पूर्वसचेतना अपनाउनु पनि उत्तिकै जरुरी छ ।
असारको घामपानी खेलबिच किसान पसिना बगाउन तयार छन् । किसानको हातमा हलो र कोदालो छ । तर मनमा आकासे पानीको पर्खाइ । यसै हप्ता देशैभर हुने वर्षाले किसानका लागि धान रोपाइँको ढोका खोल्नेछ भन्ने अपेक्षा गरौँ । तर आउँदा वर्षहरूमा फेरि किसानले यसरी नै पानीको पर्खाइमा हात बाँधेर बस्नु नपरोस्, त्यसका लागि सिँचाइको भरपर्दो व्यवस्था गर्नु आजको वास्तविक आवश्यकता बनेको छ ।
मिति २०८३ असार १६ गतेको सम्पादकीय प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार ।



































