काठमाडौँ । नेपालको विरोधको बेवास्ता गर्दै भारत र चीनले लिपुलेक हुँदै द्विदेशीय व्यापार शुरु गरेका छन् ।
चीनले पहिलो चरणमा २० भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको भारतीय सञ्चारमाध्यमले बताएका छन् । भारतले १५५ वटा वस्तु आयात गर्ने र त्यसका लागि ६२ व्यापारी र ९३ जना सहयोगी तिब्बत जाने गरी निर्णय गरिसकेको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले लिपुलेक हुँदै १६ जना व्यापारी र चार सहयोगी शनिबार तिब्बत गएको जानकारी पाएको बताए । त्यसबारे गृह मन्त्रालयलाई अवगत गराइसकेको उनले जानकारी दिए। परराष्ट्र मन्त्रालय स्रोतले भने घटनाक्रमबारे अध्ययन गरिरहेको जनाएको छ ।
एक वर्षअघि चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा गएको बेला भारत र चीनबीच लिपुलेकको बाटो हुँदै व्यापार गर्ने सहमति भएको थियो । भारतका विदेशमन्त्री एस जयशंकर र चीनका विदेश मन्त्री वाङ यीबिच छलफल हुँदा सीमा व्यापारको विषयमा सहमति भएको थियो । त्यसअघि २०८१ पुसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल चीन भ्रमणमा गएको बेला कैलाश मनोसरोवार यात्रा पुनः शुरुवात गर्ने सहमति भएको थियो ।
कोभिडदेखि यो क्षेत्र हुँदै व्यापार तथा कैलाश मानसरोवर यात्रा स्थगित थियो । त्यति वेला दुवै देशले यात्रा र व्यापार दुवै पुनः सञ्चालन गर्ने सहमति गरेका थिए । २०७२ जेठमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन गएको समयमा चीनसँग लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमति भएको थियो ।
लिपुलेकको विषयमा भारत र चीनबिच सहमति भएपछि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले परराष्ट्र मन्त्रालयमार्फत् नेपालस्थित भारत र चीनका राजदूतलाई ‘प्रोटेस्ट नोट’ पठाएर आपत्ति जनाएका थिए । त्यतिबेला नेपालले असहमति जनाउँदा जनाउँदै भारतले २०७६ कात्तिकमा जारी गरेको आफ्नो नयाँ नक्सामा लिपुलेक र कालापानीलाई समावेश गरेको थियो ।
२०७७ वैशाखमा दार्चुलाको व्यास गाउँपालिका– १ को गुञ्जीदेखि लिपुलेकसम्म सडक बनाएर उद्घाटन गरेको थियो । नेपालले त्यसको पनि विरोध गरेको थियो । त्यसपछि नेपालले पनि आफ्नो नक्सा संशोधन गरी लिपुलेक, कालापानी र लिम्पियधुरालाई समावेश गरेको थियो र संसदमा पास पनि गरेको थियो । २०७७ जेठमा नेपाल सरकारले त्यो नक्सा जारी गरेको थियो ।
त्यसो त भारतले कैलाश मानसरोवर जाने बाटो नयाँ नभएको, दशकौँदेखिको भएको बताउने गरेको छ । ‘लिपुलेक पास’ सन् १९५४ देखि नै कैलाश मानसरोवर यात्राका लागि प्रयोग हुँदै आएको पुरानो मार्ग भएको भारतको जिकिर छ ।
प्रक्षेपण राष्ट्रिय दैनिकबाट साभार।




































