नेप्सेमा दबाब कायमै, अधिकांश कम्पनीको शेयर मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९ दशमलव ०४ अंकले घटेर २ हजार ६ सय ४१ दशमलव ०५ विन्दुमा झरेको हो ।

अघिल्लो कारोबार दिन नेप्से ४ दशमलव ०५ अंकले घटेको थियो। सोमबारको गिरावटसँगै बजार लगातार तेस्रो कारोबार दिन घटेको छ ।

आज ३ सय ५२ कम्पनीका १ करोड ९ लाख ५६ हजार कित्ता शेयर किनबेच भएका छन् । दिनभरमा कुल ३ अर्ब ६६ करोड ९१ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम केही घटेको हो ।

सोमबार कारोबार भएका कम्पनीमध्ये ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १८० कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, १४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

समूहगत परिसूचकतर्फ अधिकांश समूहमा गिरावट आएको छ। बैंकिङ समूह ० दशमलव ७२ प्रतिशत, विकास बैंक ० दशमलव १२ प्रतिशत, वित्त ० दशमलव ४१ प्रतिशत, होटल तथा पर्यटन ० दशमलव ७० प्रतिशत, लगानी ० दशमलव ६० प्रतिशत र जीवन बीमा समूह ० दशमलव ६२ प्रतिशतले घटेका छन् । त्यस्तै, अन्य समूह ० दशमलव ४४ प्रतिशत र व्यापार समूह ० दशमलव ८६ प्रतिशतले घटेका छन् ।

यता जलविद्युत् समूह ० दशमलव ०६ प्रतिशत, उत्पादन तथा प्रशोधन ० दशमलव ०४ प्रतिशत, लघुवित्त ० दशमलव १९ प्रतिशत र निर्जीवन बीमा समूह ० दशमलव ०४ प्रतिशतले बढेका छन्।

कारोबार रकमका आधारमा जलविद्युत् समूह अगाडि रहेको छ। यस समूहका कम्पनीको करिब १ अर्ब ८५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको ३७ करोड, वाणिज्य बैंकको ३३ करोड र विकास बैंक समूहको करिब ३० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

कम्पनीगत कारोबारतर्फ सोलु हाइड्रोपावरको सबैभन्दा धेरै ४६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। रिडी पावरको २९ करोड २७ लाख, फर्स्ट माइक्रोफाइनान्सको १२ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकमका आधारमा सप्तकोशी विकास बैंक र आँखुखोला जलविद्युत् पनि अगाडि रहेका छन् ।

सोमबार सबैभन्दा धेरै शेयर मूल्य कर्पोरेट डेभलपमेन्ट बैंकको बढेको छ। उक्त कम्पनीको शेयर मूल्य ८ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै, दरामखोला हाइड्रोपावरको ६ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको ४ दशमलव ६१ प्रतिशत, अपर हेवाखोलाको ४ दशमलव ४७ प्रतिशत र एसवाई प्यानलको ४ दशमलव २१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

यता आत्मनिर्भर लघुवित्तको शेयर मूल्य ८ दशमलव ८७ प्रतिशत र सप्तकोशी विकास बैंकको ७ दशमलव ४९ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै गिरावट रिलायबल समृद्धि योजना–२ को इकाइ मूल्यमा देखिएको छ, जसको मूल्य ९ दशमलव ७० प्रतिशतले घटेको छ ।